मानिसले जहाँबाट सुख खोज्छ, त्यहींबाट दुःख सुरु हुन्छः स्वामी आनन्द अरुण

काठमाडौं।

स्वामी आनन्द अरुणले मानिसले महत्वकांक्षा राख्नुपर्ने तर, ती महत्वकांक्षा पूरा भइसकेपछि पनि अर्को ठूलो महत्वकांक्षा थपिने कुरा बुझ्नु आवश्यक रहेको बताउनुभएको छ । स्वामी अरुणले न्यूज २४ टेलिभिजनको नियमित प्रस्तुति ‘६ प्रश्न’ कार्यक्रममा टिभी जर्नलिष्ट अञ्जुला बानियाँसंग कुराकानी गर्ने क्रममा यस्तो धारणा राख्नु भएको हो ।

पेसाले आर्किटेक्ट इन्जिनियर रहनुभएका स्वामी अरुणले भन्नुभयो, ‘अरु ब्यक्तिहरुको तुलनामा म खुसी छु, जबसम्म कुनै पनि ब्यक्ति अध्यात्मिक हुदैन, धर्म गर्दैनन तिनीहरु सुविधाजनक हुनसक्छन तर सुखी हुन सक्दैन । भगवान गौतम बुद्धले भनेका थिए ‘जीवन दुःख हो’ । त्यस्तै नारद र कवीरले पनि भनेका थिए ‘राजा दुःखी, प्रजा दुखी ।’ सबै दुःखी छन् । यो संसारमा सुखी ब्यक्ति त्यो हो जसले अन्तरयात्रा गर्छ, साधना गर्छ, धर्म र अध्यात्मको अभ्यास गर्छ ।’

‘धनी ब्यक्ति दुखी छन्, शक्तिशाली ब्यक्ति दुःखी छन्, गरीब दुःखी छन् । सारा संसार नै दुःखी छ्’ उहाँले भन्नुभयो, ‘सुख र दुःख दुई वटै उत्तेजना हुन् , एक्साइटमेन्ट हो । उदाहरणका लागि बाटोमा हिँड्दा हिँड्दै धेरै पैसा भेटियो, यो प्लेजरेबल उत्तेजना हो । राम्रो लाग्यो, त्यही कारण सुख दिन्छ ।त्यसोत, आफ्नो पैसा हरायो, त्यो दुःख हो । त्यो पनि एउटा उत्तेजना नै हो । त्यसैले सुख र दुःख दुई वटै जीवनका उत्तेजना हुन् ।’

हरेक दुःखपछि केही सुख आउने र हरेक सुखपछि केही दुःख हुने उहाँको अनुभव छ । उहाँले भन्नुभयो, ‘हामी अध्यात्मिक ब्यक्तिहरुले सुख र दुःखलाई धेरै महत्व दिदैनौं । यो संसारनै यस्तै हो । सुख क्षणिक हुन्छ । जहाँ जहाँबाट हामीले सुःख खोज्छौं त्यहीबाट दुःखको सुरु हुन्छ ।’

भौतिक जीवन र अध्यात्मिक जीवनको तुलना गर्नु पर्दा के अध्यात्मिक जीवन मात्रै सुखी हुन्छन् त भन्ने प्रश्नमा स्वामी अरुणले भन्नुयो, ‘मानिससँग तीन तल छ । शरीरको तल, मनको तल र अर्को आत्माको तल । मानिसको शरीरको तलले मीठो खाएर, राम्रो लगाएर सुखी हुन चाहन्छ, भने मनको तलले नाम कमाएर सुखी हुन चाहन्छ ।’

उहाँले थप्नुभयो, ‘मानव जीवनमा दुःख चलिरहने प्रकृया हो । मनको तलमा एउटा चिज पाए पनि केही सुखको अनुभूति गर्छ । साथै एक छिनपछि अर्को चिज देख्छ र पाउनको लागि दुःख गर्छ । शरीर र मनको तलमा सुख र शान्ति पाउनै सकिन्न । त्यसैले जबसम्म आत्माको तलसम्म गइदैन तबसम्म सुख पाइदैन ।’

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार