स्याङ्जा
पतञ्जली योगपीठ र पतञ्जली व्यवस्था फार्मेसीका परियोजना सञ्चालनका लागि विस्तृत परियोजना प्रतिवेदन बनाउने काम सुरु भएको छ । पतञ्जलीका सञ्चालक रामदेव र आचार्य बालकृष्णले आयुर्वेदिक कलेज, अस्पताल, सभाहल, होस्टल, विशेष आयुर्वेदिक उपचार कक्षहरू, योग आश्रम र २८ हजार दर्शक अट्ने क्षमताको रंगशालासहितको योजना अघि सारेपछि वालिङ नगरपालिकाले जग्गा खोजिदिएको हो ।
प्रारम्भिक चरणमा करिब सात अर्ब रुपैयाँ बराबरका परियोजना ल्याउने प्रस्ताव दिइएपछि जग्गा खोजी गरेको वालिङ नगरप्रमुख दिलीपप्रताप खाँडले बताए ।
‘पतञ्जलीले उत्पादन गर्ने औषधिको बिक्रीबाट भएको नाफाको ५० प्रतिशत सामाजिक कार्यमा खर्च गर्ने योजना अनुरूप नेपालमै योगपीठ संस्था दर्ता गरेर काम गर्छौं भनेपछि हामीले पनि यहाँ आउँदा हुन्छ भनेका हौं,’ उनले भने, ‘पतञ्जली योगपीठको नेपाल-भारत दुवैतिरका संस्थाले परियोजना निर्माण र व्यवस्थापन गर्ने कुरा छ ।’
स्मार्ट सिटीको अवधारणा अघि सारेको वालिङका लागि पतञ्जली महत्त्वाकांक्षी परियोजना हो । ६ महिनायता सम्भाव्यता अध्ययनको काम भइरहेको छ । ‘डीपीआर अन्तिम चरणमा पुगेको छ,’ प्रमुख खाँडले भने, ‘निर्माणको काम थाल्न एक अर्बको बजेट पनि आइसकेको जानकारी उहाँहरूले दिनुभएको खबर कान्तिपुरमा छापिएको छ ।’
जग्गा सर्भे र डिजाइनको काम आचार्य बालकृष्णको निर्देशनमा भइरहेको पनि उनले बताए । पतञ्जलीको क्षेत्रमा स्थानीय तहले लगानी गर्नु नपर्ने बताउँदै उनले भने, ‘जडीबुटी नर्सरीको उद्यान पनि आफ्नै बनाउने तयारी छ ।’ आयुर्वेदिक कलेज, अस्पताल, आठ सयजना क्षमताको सभाहल, पाँच सय कोठाको होस्टल, योग आश्रम र योगाभ्यासका लागि उपयोगी हुने २८ हजारजना क्षमताको खेलकुद रंगशाला बनाइने प्रस्तावित परियोजनाको खाका छ ।
वालिङ ११ को पेखु, बाहुनथान, चापाकोट नगरको साँखरका केही स्थानसहित करिब ६ सय रोपनी नगरपालिकाले योगपीठको परियोजनालाई दिने गरी खोजी गरेको छ । जग्गाको मूल्य चलनचल्ती मूल्यांकनअनुसार योगपीठले तिर्ने नगरप्रमुख खाँडले बताए ।
आफ्नो बृहत् परियोजनाका लागि योगपीठले दुई हजार रोपनी जग्गा आवश्यक रहेको जनाएपछि नगरपालिकाले अझै सम्भाव्य स्थानमा खोजी गरिरहेको वालिङका प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुवेदीले बताए ।
उक्त परियोजना अघि बढाउन पतञ्जलीका महासचिव आचार्य बालकृष्णको स्याङ्जा आउने क्रम बाक्लिएको छ । नगरवासी र जनप्रतिनिधिहरूसँगको भेटघाटमा उनले आयुर्वेदिक औषधिको मूल्य घटाउन नसकिने भएकाले नेपालमै परियोजना स्थापना जरुरी रहेको बताउने गरेका छन् ।
हाल अन्य मुलुकका तुलनामा पतञ्जलीले आफ्नो उत्पादन नेपालमा पठाउँदा भन्सार शुल्कका कारण ८ देखि १५ करोडसम्मको नोक्सानी बेहोर्नुपरिरहेको दाबी उनले गर्ने गरेका छन् । भारतबाट अन्य मुलुकमा निर्यात गर्दा हुने फाइदा नेपालमा नहुने भएकाले वालिङमा परियोजना स्थापना आवश्यक रहेको भनाइ उनको छ ।
१२ वर्षको उमेरमा भारत पसेका आचार्य वालिङ ८ भरुवाका हुन् । पतञ्जलीको परियोजनामा वालिङ नगरपालिका सहकार्य गर्न सहमत भएयता उनी ३५ वर्षको अन्तरालपछि नेपाल आउने क्रम बढेको हो । लामो समयपछि जन्मथलो आउने वहानामा व्यवसाय गर्न थालेको भन्दै आचार्यप्रति वालिङका सर्वसाधारण विश्वस्त हुन समय लाग्ने स्थानीय नेता राजेन्द्र डुम्रे बताउँछन् ।
‘उनले ल्याउन लागेको परियोजनाको कुरा सुन्दा स्वागतयोग्य छ,’ उनले भने, ‘परियोजना सञ्चालनमा आएपछि जमिन र जडीबुटीको सदुपयोगसँगै रोजगारीका अवसर बढ्छ भन्नेमा दुई मत छैन तर यति ठूलो बजेटको परियोजना साँच्चै आउँछ भनेर पत्याइहाल्न अलि समय लाग्छ ।’
स्मार्ट सिटीको अवधारणा ल्याउँदै गर्दा वालिङ नगरपालिकाले बालउद्यान, बालबालिका र ज्येष्ठ नागरिकका लागि पार्क, मनोरञ्जन स्थल र खेलकुदका लागि रंगशाला निर्माण गर्ने योजना सार्वजनिक गरेको थियो । पतञ्जलीले निर्माण गरेको भौतिक संरचना नगरपालिकालाई नै हस्तान्तरण गर्ने सहमति भएको खाँडको भनाइ छ । नगरपालिकाले पनि आयुर्वेदिक उपचार केन्द्र खोल्ने योजना बनाइरहँदा पतञ्जलीले बनाएर दिने भएकाले नगरभित्रका बासिन्दालाई जडिबुटीमा जोड्न सकिने उनले बताए ।