काठमाडाै ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा भारतीय नक्कली नोटसहित युनुस अन्सारी पक्राउ परेका छन् ।
कतार एयरवेजबाट भारु नोट भित्र्याउने ३ पाकिस्तानी र नोट लिन आउने ३ नेपाली पक्राउ परेका हुन् । विमानस्थल भन्सार कार्यालयका प्रमुख गजेन्द्र ठाकुरका अनुसार नेपालले प्रतिबन्ध लगाएका भारु २ हजारका नोट ठूलो मात्रामा बरामद भएको छ ।
पक्राउ पर्नेमा युनुस अन्सारी पनि रहेको प्रहरीले जनाएको छ । भारतीय नक्कली नोट र लागुऔषध मुद्दामा चार वर्ष कैद सजाय काटेर निस्किएका युनुस अन्सारीलाई भारतीय नक्कली नोटसहित २०७० माघमा नख्खुबाट पक्राउ गरिएको थियो ।
उनी २०७० असोजमा केन्द्रीय कारागारबाट छुटेका थिए । केन्द्रीय कारागारभित्रै रहँदा अन्सारीमाथि गोली प्रहार भएको थियो । उनी पूर्वमन्त्री सलिम मियाँ अन्सारीका छोरा हुन् । अन्सारी पहिलोपटक २०६५ पुस १८ मा त्रिपुरेश्वरको ब्लुबर्ड होटलको कोठाबाट २५ लाख ४४ हजार नक्कली भारुसहित पक्राउ परेका थिए ।