-एजेन्सी
बेलायती प्रधानन्त्री थेरेसा मेको राजीनामाको घोषणापछि बेलायतको सत्तामा हलचल मच्चिएको छ। अब मेको स्थान लिन आउने सम्भावित नाममाथि चर्चा सुरु भएको छ।
अहिले १२ भन्दा बढी यस्ता सांसद छन् जो प्रधानमन्त्री पदको दौडमा सहभागी हुने सम्भावना देखिएको छ।
हालसम्म ५ जनाको नाम सर्वाजनिक भइसकेको छ, जो सत्तारुढ कन्जरभेटिभ पार्टीको नेता बन्न चाहन्छन्। बेलायतमा पार्टीको नेता नै प्रधानमन्त्री बन्ने व्यवस्था छ।
हालसम्म सार्वजनिक भएका नाममा मे सरकारका विदेशमन्त्री जेरमी हन्ट, अन्तर्राष्ट्रिय विकासमन्त्री रोरी स्टेवार्ट र स्वास्थ्यमन्त्री म्याट ह्यान्कक छन्। त्यस्तै पूर्व विदेशमन्त्री बोरिस जोन्सन, पूर्व रोजगार तथा पेन्सनमन्त्री एस्टर मक्भे पनि प्रधानमन्त्री बन्न चाहने नामको सूचिमा छन्।
सत्ताधारी कन्जरभेटिभ पार्टी भित्रको नेतृत्वको प्रतिस्पर्धाले नै बेलायतको भावी प्रधानमन्त्री को हुन्छ भन्ने निर्धारण गर्नेछ।
म्याक ह्यान्ककले भनेका छन् कि थेरेसा मेको स्थान लिन आउने नयाँ नेतृत्वले ब्रेक्जिट सम्झौतामाथि सहमति बनाउनका लागि धेरै इमानदार हुनुपर्नेछ।
उनले आफ्नो उम्मेदवारीको घोषणा गर्दै भनेका छन् कि उनी तुरुन्त आम चुनाव गराएर जाने पक्षमा छैनन्। चुनाव गराएर जाँदा ‘ब्रेक्जिट’ समस्याको समाधान ननिस्कने र देशका लागि झन ‘भयाभह’ हुने उनको भनाइ छ।
प्रधानमन्त्री मेले शुक्रबार आफूले पार्टी नेताको पदबाट आगामी जुन ७ तारिखमा राजीनामा दिने घोषणा गरेकी थिइन्। उनले पार्टीले नयाँ नेता चयन नगर्दासम्म आफूले प्रधानमन्त्रीको पद सम्हालिरहने बताएकी थिइन्।
आगामी जुलाई महिनाको अन्त्यसम्ममा नयाँ नेता चयन भइसक्ने कन्जरभेटिभ पार्टीका नेताहरूले अपेक्षा गरेका छन्।
कन्जरभेटिभ पार्टीसँग करिब १ लाख २४ हजार पार्टी सदस्य छन्, जसमध्येबाट चुनिएको नेता नै प्रधानमन्त्री बन्नेछ। त्यही प्रक्रियाबाट सन् २००५ मा डेभिड क्यामरुन र सन् २०१६ मा मे प्रधानमन्त्रीमा निर्विरोध चयन भएकी थिइन्।
-एजेन्सी