काठमाडौं ।
चलचित्र ‘हेलो जिन्दगी’मा अभिनेत्री श्वेता खड्काको स्थानमा प्रियंका कार्कीलाई लिइने भएको छ । स्वास्थ्यस्थितीमा सुधार नआएका कारण उनको ठाउँमा अर्की नायिका अनुबन्धित भएकी छन् ।
सुटिङका लागि लण्डनमा गएको समयमा श्वेतालाई अचानक घाँटीमा समस्या आएको थियो । चिकित्सकले चेकजाँचमा ट्युमर भएको पत्ता लगाएपछि उनको केहि समयअघि दिल्लीमा घाँटीको सल्यक्रिया गरिएको थियो ।सल्यक्रियापछि श्वेताको सोचेअनुरुप स्वास्थ्यमा सुधार नआएपछि उनकै सल्लाहमा फिल्ममा अकी अभिनेत्री राख्ने निर्णय भएको हो ।
श्वेताको स्वास्थ्यमा सुधार आएपछि यो चलचित्रको बाँकी छायांकन गरिने भन्दै तीन सातादेखि यसको सुटिङ स्थगित गरिएको थियो । तर, आफ्नो स्वास्थ्यमा सोचेअनुसारको सुधार नआएको भन्दै
श्वेताले अन्य नायिका राख्न निर्देशक सूर्य बोहरालाई सल्लाह दिए बमोजिम श्वेताको भूमिकामा प्रियंका कार्कीलाई लिइएको निर्माण पक्षले बताएको छ ।
‘हेलो जिन्दगी’मा दुई नायिका हुनेछन् जसमा एक दीपिका प्रसाइं र अर्की प्रियंका कार्की । फ्रान्समा जारी कान्स फिल्म फेस्टीवलमा ब्यस्त प्रियंका कान्सको कार्यक्रमबाट फर्किएलगत्ते चलचित्र शुटिङका लागि फ्लाेरमा जाने निर्देशक सूर्य बोहराले बताए ।
श्वेताको भूमिकामा यसअघि खिचिएको फिल्मको सिन हटाएर पूनः छायांकन गरिने छ ।फिल्मको सबै छायांकन लन्डनमा गर्ने तयारीमा निर्माण पक्ष थियो । तर, श्वेताको स्वास्थ्यस्थिति बिग्रिएपछि उनको भूमिकाबाहेक बाँकी अरू कलाकारको छायांकन लन्डनमा सम्पन्न गरेर निर्माण टिम दुई साताअघि काठमाडौं फर्किएको हो ।