लण्डन ।
साउथ ईस्ट लण्डनको अर्पिङटनमा आफ्नै घरमा आगलागी हुँदा एक नेपाली महिलाको मृत्यु भएको छ ।आगलागीबाट मृतकका श्रीमान हिम गुरुङ तथा १७ वर्षका छोरा एलन र १० वर्षकी छोरी एञ्जल घाइते भएका छन् । उनीहरुमध्ये श्रीमानको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।
सोमबार राती भएको आगलागीमा परी ४५ वर्षीया रञ्जना गुरुङको मृत्यु भएको बेलायती अखबार ‘द सन’ ले जनाएको छ ।
सोमबार राती अन्दाजी ११ बजेको समयमा आगलागी भएको थियो । मृतक रञ्जनाका श्रीमान हिमले ‘हेल्प, हेल्प’ भन्दै चिच्याएको सुनेपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए । त्यसको केहि मिनेटभित्रै अग्नी नियन्त्रकहरुसहित आएको प्रहरीको टोलीले १ घण्टा १५ मिनेटभित्र आगो नियन्त्रणमा लिंदा रञ्जनाको मृत्यु भइसकेको थियो ।
मृतक रञ्जनाले स्थानीय एक अस्पतालमा क्लिनरको रुपमा काम गर्ने गर्थिन् । उनी विगत १८ वर्षदेखि श्रीमानसंगै बेलायतमा बस्दै आएकी थिइन् । उनीहरु उक्त घरमा ९ वर्षदेखि बस्दै आएका थिए ।