चितवन ।
केही व्यक्तिले जेठ १५ गतेका दिन भत्काएका निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बार चितवनासीले ठड्याएका छन् ।
आज बिहान रंगशाला निर्माणस्थलमा जम्मा भएका स्थानीय, विभिन्न संघसंस्थाका प्रतिनिधि, राजनीतिकर्मी, पेसाकर्मी, सुरक्षाकर्मी, सरकारी कर्मचारी, जनप्रतिनिधिसहितको समूहले बार ठड्याएको हो ।
भत्किएको बार ठड्याइएपछि स्थानीय जनप्रतिनिधिहरुले दोषीलाई कडा कारबाही गर्दै रंगशाला निर्माणका लागि सुरक्षा प्रदान गरिनुपर्ने बताए । केही उछृङ्खल व्यक्तिका कारण रंगशाला निर्माणको काम रोक्न नहुने भन्दै रंगशाला निर्माणका लागि आवश्यक पर्ने सहयोग गर्ने जनप्रतिनिधिहरुको भनाइ छ ।
निर्माणाधीन रंगशाला भरतपुर महानगरपालिका वडा नम्बर १५ र १६ को सिमानामा पर्छ । रंगशाला निर्माणमा अवरोध पुर्याउनेलाई कारबाही गर्नुपर्ने तथा रंगशालाको बार भत्काउनेले बनाउनुपर्ने भन्दै र्याली समेत निकालिएको थियो ।
बार भत्काइएपछि रोकिएको रंगशालाको निर्माणको काम आजदेखि सुरु भएको धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेलले बताउनुभयो ।