एउटै बिद्यार्थीका लागि १४ शिक्षकले सिके सांकेतिक भाषा

– एजेन्सी

वासिंगटन।

अमेरिकी राज्य ओहियोको पश्चिमी सहर डेटनमा ६ वर्षकी कान नसुन्ने बालिका मोरे बेलांगर स्कुल भर्ना भइन् । स्कुलभरमा कान नसुन्ने विद्यार्थी उनी मात्रै थिइन् ।

२९ मेमा स्कुल खुलेको पहिलो दिन आफ्नो कक्षामा पुग्दा बेलांगरको खुसीको सीमै रहेन । कक्षामा उनलाई सबै छात्रछात्रा र शिक्षकहरुले सांकेतिक भाषामा स्वागत गरे । एक्ली बेलांगरका लागि स्कुलका १४ शिक्षक र १५० छात्रछात्राले सांकेतिक भाषा सिकेका थिए ।

स्कुलका प्रिन्सिपल किम्बरली सेमपित्रा भन्छन्, ‘मोरे हाम्री एक मात्र बहिरोपन भएकी छात्रा हो । उसका कारण हाम्रो स्कुलमा एक नयाँ माहोल बनेको छ, जुन पहिले कहिल्यै थिएन । हामी सबै उनलाई स्वागत गर्न आतुर थियौँ ।’

डेटनको यस स्कुलका शिक्षकहरुले आफूले मात्रै सांकेतिक भाषा सिकेनन्, छात्रछात्रालाई समेत सिकाउन पूरै स्कुल परिसरमा ठाउँठाउँ सांकेतिक भाषा बुझाउने बोर्ड पनि लगाए । स्कुलका सबै छात्रछात्राले केही दिनमै २०–२५ शब्द–संकेत सिके ।

आफ्नो स्वागतबाट निकै खुसी भएकी मोरेले पहिलो दिनबाटै आफ्ना सहपाठी साथीहरुलाई सांकेतिक भाषा सिकाउन थालिन् । शिक्षकहरुले पनि भिडियो र पुस्तकहरुको सहयोगमा थप सिकाइ थालेका छन् ।

सबै शिक्षक र छात्रछात्राले मोरेसँग सांकेतिक भाषामा कुरा गरेको देखेर उत्साहित भएका प्रिन्सिपल सेमपित्रोले सबै कक्षामा सांकेतिक भाषाको प्रशिक्षकसमेत नियुक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार