युवाहरुमा देश बनाउने भावना र अठोट नभएसम्म देश बन्दैन : प्रधानमन्त्री ओली

-रासस

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरुमा देश बनाउने भावना र अठोट नभएसम्म देश नबन्ने बताउनुभएको छ ।

काठमाण्डौ महानगरपालिकाले बुधबार राजधानीमा गरेको स्मार्ट सहरी प्रविधि प्रतिस्पर्धा कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो देश आफैले बनाउनुपर्नेमा जोड दिनुभएको हो । २०७२ साल फागुन ४ गते भत्किएको धरहराको फेदमा गएर ‘मै बनाउँछु मेरो धरहरा’ भनेको स्मरण गर्दे उहाँले मेरो देश मै बनाउँछु भन्ने अठोट नलिएका कारण अहिले सम्म देश नबनेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले काठमाण्डौवासीले काठमाण्डौ म बनाउँछु भन्ने बुझेर व्यवहारमा कार्यान्वयन गरेमा काठमाण्डौ बन्ने विश्वास व्यक्त गर्नुभयो ।

महानगरले आयोजना गरेको स्मार्ट सहरी प्रविधि प्रतिस्पर्धामा सहभागी भएका युवाहरुलाई बधाई तथा शुभकामना दिदै प्रधानमन्त्री ओलीले हिम्मत र अठोट भए काम र अवसरका लागि विदेश जानु नपर्ने बताउनुभयो । अन्य देशको तुलनामा नेपालमा प्रसंस्त संभावना रहेकाले हिम्मत, इच्छाशक्ति र नविन सोचका साथ देश बनाउने अभियानमा लाग्न उहाँले सुझाव दिनुभयो ।

महानगरले स्वदेशमै बसी उद्धमशीलता प्रबर्द्धन गर्न सक्ने सामूहिक प्लेटफर्म विकास गर्ने उद्देश्यसाथ ‘हाम्रो काठमाण्डौ हामी बनाउँछौँ’ नारा दिइएको स्मार्ट सहरी प्रविधि प्रतिस्पर्धा आयोजना गरेको हो । यसका सहभागी ७० वटा मध्ये २५ वटा समूहले विभिन्न ५ चरण पार गर्न सफल भएका थिए । यस प्रतिस्पर्धामा ‘एनिटाइम ट्वाइलेट’ परियोजना सर्वोत्कृष्ट भएको छ ।

यसले आफ्नो क्याटेगोरीमा पनि विजयी भएको छ । सर्वोत्कृष्टमा ५ लाख र आफ्नो क्याटेगोरीमा २ लाख गरी ७ लाख रुपैया पाएको छ । यस प्रतिस्पर्धामा समुदाय तथा वातावरण, शहरी पूर्वाधार विकास, महानगरीय सामुदायिक सेवा र महानगरपालिकाको सार्वजनिक प्रशासन तथा व्यवस्थापन गरी मुख्य ४ विषयहरु समेटिएको थियो भने हरेक विषयहरुका विभिन्न २८ क्षेत्रहरुमा प्रतिस्पर्धीले आफ्ना नवीन सोचहरु प्रस्तुत गर्न सक्ने व्यवस्था मिलाइएको थियो ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार