आषाढ महिनाको मासिक राशिफल हेर्नुहोस्

२०७६ साल आषाढ महिनाको राशिफल । यो राशिफल तपाईंको चान्द्रराशिका आधारमा तैयार गरिएको राशिफल हो । आषाढ ०१ गते मध्यरात्रीदेखि नै हामी नयाँ महिना सुरु भएको मान्ने गर्दछौं, तर ज्योतिषीय गणितमा सूर्यले राशि प्रवेश गरेको बिन्दुलाई महत्त्व दिने गरिन्छ । नेपाली आकाशमा सूर्यले उक्त दिन सूर्योदयपूर्व ०१ बजेर ०६ मिनेटमा मात्र मिथुन राशिमा प्रवेश गर्नेछन् । यसरी सूर्यले बृष राशि त्याग गरी मिथुन राशिमा प्रवेश गरेको समयमा सूर्योदयपूर्व नै भएकाले शनिवार, शुक्ल पक्षको चतुर्दशी तिथि, अनुराधा नक्षत्र, मीन लग्न र बृश्चिक राशिको चन्द्रमा रहने छ ।

सङ्क्रान्तिका दिन बृष राशिमा शुक्र, मिथुन राशिमा सूर्य, मङ्गल, बुध र राहु, बृश्चिक राशिमा चन्द्रमा र बृहस्पति तथा धनु राशिमा शनिश्चर र केतु ग्रहको उपस्थिति छ । चन्द्रमाले हरेक साढे दुई दिनमा राशि परिवर्तन गर्दछन्, त्यस्तै यस महिनाको ०७ गते बुध ग्रहले कर्कट राशिमा, ०९ गते मङ्गल ग्रहले पनि कर्कट राशिमा र १२ गते शुक्र ग्रहले मिथुन राशिमा प्रवेश गरी स्थान परिवर्तन गर्नेछन् । यो महिना बृहस्पति र शनिश्चर ग्रह पहिलेदेखि नै बक्र अवस्थामा रहेका देखिन्छन् भने १७ गतेपछि बुध ग्रहसमेत बक्री अवस्थामा पुग्ने सङ्केत छ । त्यस्तै २२ गते बुध ग्रह पश्चिम दिशामा अस्ताउने र २५ गते मङ्गल ग्रह पनि पश्चिम दिशामैं अस्ताउने परिस्थिति बन्नेछ ।

यस्तो ग्रह परिवेश र बारवेलालाई आकलन गर्दा शनिवार रातीको सङ्क्रान्ति भएकाले राम्रो र सहज समय रहने सङ्केत देखिंदैन । कृषिक्षेत्र र पशुव्यवसायमा विविध समस्या देखा पर्नेछन्, कतैकतै जलवर्षामा कमी हुनेछ, खडेरी पर्नसक्छ, मौसममा उतारचढाव आउने हुँदा कतै तातो हावा चल्ने तथा कतै अधिक वर्षाको संयोग हुनेछ । हिमाली क्षेत्रमा अन्नको अभाव भएर अनिकाल पर्नसक्ने, विविध साङ्क्रामक रोगको प्रकोप बढ्ने, दक्षिणी भूभागमा वाहनादिको दुर्घटना बढ्ने, लु चल्ने र अग्निकाण्ड हुने हुँदा आमजनतामा दुःख र कष्ट थुप्रिने महिना देखिन्छ ।

सुन, चाँदी, फलाम आदि धातुको वस्तुको मूल्य बढ्ने छ, त्यस्तै पेट्रोलियम पदार्थ र विदेशी मुद्राको दाममा पनि बृद्धि हुनसक्छ । मासलग्नको लग्नेश बक्र अवस्थामा रहेको तथा चतुर्थ भावमा भावमा अङ्गारक योगको सिर्जनासमेत भएकाले दक्षिणी सीमान्त क्षेत्रमा मौसमले वितण्डा मच्चाउने तथा सामाजिक सद्भावसमेत बिथोलिने सम्भावना रहेको छ । उता दशम भावमा लाभेश शनि बक्र अवस्थामा रहेको तथा चतुर्थ भावमा बसेको सूर्यको पूर्णदृष्टि रहेकाले सरकार र राज्यपक्षमा देखिएको आन्तरिक कलह र खुट्टा तानातानको प्रवृत्ति अझ बढ्दै जाने सङ्केत छ, यसको प्रभाव शेयर कारोवार र वित्तीय क्षेत्रमा समेत पर्न गई महिनाको उत्तरार्द्धमा आर्थिक मन्दी समेत देखा पर्नसक्छ ।

यो थियो आम व्यक्तिहरूमा पर्ने प्रभाव अब विभिन्न राशिका व्यक्तिहरूले यस्तो ग्रहगोचरमा भोग्ने शुभ र अशुभ परिणामको लेखाजोखा गर्दैछु । यो क्रम मेष राशिबाट प्रारम्भ गर्दैछु ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
मेष राशि हुनेहरूका लागि आषाढ ०१ गतेका दिन सूर्यले राशि सङ्क्रमण गर्दा धनस्थानमा शुक्र, तृतीय भाव पराक्रम स्थानमा सूर्य, राशिस्वामी मङ्गल, बुध र राहु, अष्टम भावमा चन्द्रमा र बक्र अवस्थाको बृहस्पति, नवम भावमा बक्री शनिश्चर र केतु ग्रहको उपस्थिति देखिन्छ । बुध ग्रहले यस महिनाको ०७ गते चतुर्थ भावमा, ०९ गते राशिस्वामी मङ्गलले चतुर्थ भावमा र १२ गते शुक्र ग्रहले तृतीय भावमा प्रवेश गरी राशिपरिवर्तन गर्नेछन् । राशिस्वामी मङ्गल २५ गतेपछि अस्ताउने सङ्केत छ ।

पराक्रम स्थानमा बसेको सूर्यको प्रभावले २०७६ सालको आषाढ महिनामा तपाईंको पराक्रम र प्रसिद्धिमा वृद्धि हुनेछ । सामाजिक र परोपकारी काममा सहयोग लिन/दिन सकिनेछ । लक्ष्यप्राप्तिका लागि कडा मिहिनेत गर्ने समय आएको छ, बहुप्रतीक्षित इच्छा, आकाङ्क्षा र उद्देश्य सफल हुनसक्छन् । आकस्मिक रूपमा धनप्राप्तिको सम्भावना समेत छ । राशिस्वामी तृतीय भावमा नै सूर्य, राहु र बुधका साथमा बसेको हुँदा र यस महिनाको अन्तिम हप्ता अस्ताउने समेत भएकाले महिनाको उत्तरार्द्ध अनुकूल हुने देखिंदैन । विशेष गरी व्यक्तिगत स्वास्थ्यमा या घरकी बृद्ध स्त्रीको स्वास्थ्यमा समस्या देखिन सक्छ, अत्यधिक परिश्रम गर्नाले थकानको अनुभूति हुनेछ । त्यस्तै घरपरिवारमा शुभफल मिल्ने छैन, सामान्य कुराले पनि मानसिक उल्झन र तनाव बढ्ने सङ्केत छ । कुनै गुप्त कारोबार वा गतिविधिका क्रममा हानि ब्यहोर्नु पर्ने हुन्छ । पुरानो लेनदेनको कारोबारले समस्या उब्जाउन सक्छ, त्यस्तै आकस्मिक धनहानिको सङ्केत पनि छ ।

मेष राशिका छात्रछात्रामा यस महिनामा घमण्ड र अहङ्कार हाबी हुने खतरा छ । महिनाभरि पञ्चमेश तृतीय भावमा बस्ने हुँदा जुनसुकै क्रियाकलापमा प्रतिशोध र प्रतिस्पर्द्धाको भावना हाबी हुनेछ, त्यसैले तपाईंको पठनपाठन प्रभावित बन्न सक्छ, सचेत हुनपर्छ । गृहिणीहरूका लागि यो महिना शुभ छ, पतिका माध्यमबाट बहुप्रतीक्षित इच्छा कार्यान्वयन गराउने र गहनागुरिया वा सम्पति जोड्ने महिना हो, आषाढ महिना । उद्यमी र व्यापारीहरूले पनि व्यापार विस्तार गर्ने तथा साझेदारीमा नयाँ काम थाल्ने उत्तम समय छ, तर कर्मचारी, सामाजिक कार्यकर्ता र राजनेताका लागि जोखिम र रिस्की काम गरेर यश आर्जन गर्नुपर्ने समय भएकाले सचेत भई अघि बढ्नु जायज हुनेछ । यस राशिका व्यक्तिले यो महिना कुनै अशुभता प्राप्त नहोस् भन्ने उद्देश्यले हरेक शुभकर्म गर्नुपूर्व राशिस्वामीको अनुकूलताका लागि हनुमान् चालिसाको पाठ वा श्री गणेशको उपासना गरेको जाति हुन्छ, सम्भव नहुँदा भिखारी, मगन्ते वा बृद्धबृद्धालाई पेटभरि भोजन गराएमा पनि गरेको काममा सफलता मिल्ने देखिन्छ । सामान्यतया यस महिनाको ०१, ०२, ०९, १०, ११, १९, २०, २७, २८ र २९ गते तपाईंका लागि अशुभ रहने छन् ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
बृष राशि हुनेहरूका लागि आषाढ ०१ गतेका दिन सूर्यले राशि सङ्क्रमण गर्दा आफ्नै राशिमा राशिस्वामी शुक्र, द्वितीय भाव धन स्थानमा सूर्य, मङ्गल, बुध र राहु, सप्तम भावमा चन्द्रमा र बक्र अवस्थाको बृहस्पति तथा अष्टम भावमा बक्री शनिश्चर र केतु ग्रहको उपस्थिति देखिन्छ । बुध ग्रहले यस महिनाको ०७ गते तृतीय भावमा, ०९ गते मङ्गलले तृतीय भावमा र १२ गते राशिस्वामी शुक्र ग्रहले द्वितीय भावमा प्रवेश गरी राशिपरिवर्तन गर्नेछन् ।

यो महिनाको प्रारम्भमा आफ्नै राशिमा र अधिकांश समय धनस्थानमा राशिस्वामी रहने भएकाले तपाईं धनसम्पत्तिको सञ्चय गर्ने मानसिकता बन्नेछ, तर बढी रौसिनु पनि राम्रो हुँदैन । सूर्य, मङ्गल र राहुसमेत द्वितीय भावमा बसेकाले आर्थिक दृष्टिले यस अवधिमा उल्लेखनीय लाभ मिल्नेछैन, दीर्घकालिक लगानी र कारोबारप्रति सचेतता अपनाउनु आवश्यक छ । महत्त्वाकाङ्क्षा राख्नाले निराशा हात लाग्नेछ । उता शारीरिक तनाव र बोझलाई झेल्नसक्ने सामर्थ्य हुँदाहुँदै पनि पारिवारिक झैझमेला र समस्या बढ्नाले मन विचलित हुनसक्छ र पारिवारिक जीवनमा निराशापना देखिने सम्भावना छ, प्रेम जीवन र दाम्पत्य जीवनमा कलहको सम्भावना भएकाले घरायसी समस्या र परिवारजनका भावनालाई समेटेर अघि बढ्नु राम्रो हुनेछ । नोकरी र कार्यक्षेत्रमा सन्तोषजनक परिणाम प्राप्त हुनेछ । स्वास्थ्यतर्फ आँखा र मुखको क्षेत्र कमजोर छन् । बोलीमा सामर्थ्य नहुने भएकाले धेरै बोल्नु पनि ठीक हुँदैन । यद्यपि राशिस्वामी शुक्र ग्रहको शुभ प्रभाव नै रहेकाले अत्तालिइहाल्ने परिस्थिति नै छैन, यद्यपि झैझगडा, मुद्दामामिला र किचलोबाट हरसम्भव जोगिने प्रयास गर्नु बुद्धिमानी हुनेछ, नत्र ठूलो जोखिम ब्यहोर्नु पर्ने समय आएको छ ।

विद्यास्थानको मालिक धन स्थानमा भएकाले यो महिना बृष राशिका छात्रछात्राले मौखिक अभिव्यक्तिका माध्यमबाट ख्याति कमाउने समय चल्दैछ । त्यस्तै महिनाको पहिलो दिन सप्तम भावमा गजकेशरी योगको सिर्जना भएकाले गृहिणीहरूको मन फुरुङ्ग हुने समय छ, पतिको सामीप्य बढ्ने, सम्पत्ति जोड्ने वा गहनागुरिया खरिद गर्ने तथा बहुप्रतीक्षित वस्तुको किनमेल गरिने समय छ । तर कर्मक्षेत्र र भाग्यस्थानको मालिक मानिने शनिश्चर ग्रह बक्री भएकाले कर्मचारी, कामदार र व्यापारीहरूले कडा मिहिनेत गरेमा मात्र लाभ पाउन सकिने समय चल्दैछ । खासगरी गैरकानूनी र असामाजिक वस्तुमा आकर्षण देखाउँदा फन्दामा पर्ने खतरा हुन्छ, सचेत हुनुपर्छ । यो महिना ग्रहपरिवेशमा देखिएको कमजोरीलाई व्यवस्थित तुल्याउन अष्टम भावमा बक्र अवस्थामा रहेको भाग्य र कर्मक्षेत्रको मालिक शनिश्चर ग्रहको उपासनामा जोड दिनु राम्रो हुन्छ । यस महिनाको ०२, ०३, ०४, १२, १३, १४, २१, २२, २९, ३० र ३१ गतेको चन्द्रमा तपाईंका लागि अनिष्ट रहने देखिन्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
मिथुन राशि हुनेहरूका लागि आषाढ ०१ गतेका दिन सूर्यले राशि सङ्क्रमण गर्दा आफ्नै राशिमा सूर्य, मङ्गल, राशिस्वामी बुध र राहु, छैटौं भाव शत्रुस्थानमा चन्द्रमा र बक्र अवस्थाको बृहस्पति, सप्तम भावमा बक्री शनिश्चर र केतु तथा बाह्रौं भाव व्ययस्थानमा शुक्र ग्रहको उपस्थिति देखिन्छ । राशिस्वामी बुध ग्रहले यस महिनाको ०७ गते द्वितीय भावमा, ०९ गते मङ्गलले समेत द्वितीय भावमा र १२ गते शुक्र ग्रहले तपाईंको आफ्नै राशिमा प्रवेश गरी राशिपरिवर्तन गर्नेछन् । राशिस्वामी बुध २२ गतेपछि अस्ताउने सङ्केत छ ।

आफ्नै राशिमा रहेको सूर्य र राशिस्वामी बुधको प्रभावले यो महिना सार्वजनिक क्षेत्र अथवा सरकारको कुनै महत्त्वपूर्ण जिम्मेबारी प्राप्त हुनसक्छ । सरकारी काम र मुद्दा मामिलामा लाभ प्राप्त हुनेछ । धनधान्यमा वृद्धि हुनेछ, यस अवधिमा धनसम्पत्ति र सुखसुविधा आर्जन गर्ने पक्षमा आकर्षित रहनुहुनेछ । छोटो दूरीको यात्रा हुने सम्भावना छ, जुन सुझबुझ र लगनशीलताका कारण फलदायक सिद्ध हुनेछ । तर साथमा बसेका मङ्गल र राहुको प्रभावले अङ्गारक योगको सिर्जना भएको हुँदा आवश्यकताभन्दा बढी आत्मविश्वासको सिर्जना हुनेछ, तपाईंमा अहङ्कार र आडम्बरको भावना पनि विकसित हुनसक्छ । अनावश्यक खर्च र आर्थिक बोझ बढ्ने सम्भावना छ । रोगव्याधि, निरर्थक भ्रमण र बाध्यताकारी खर्चको मात्रा बढ्ने छ, गरेका हरेक निर्णय कार्यान्वयनमा कठिनाइ हुने र कुरा फेर्नुपर्ने परिस्थिति देखिन्छ । त्यस्तै व्यक्तिगत स्वास्थ्यमा उतारचढाव आइरहने तथा व्यवसायिक साझेदार र घरमा जीवनसाथीसित मनमुटावको सम्भावना पनि देखिन्छ । लामो दूरीको यात्राको योजना छ भने वा दूरगामी प्रयोजनको लगानी गर्ने मनसायमा हुनुहुन्छ भने यो महिनाको ०७ गतेसम्म थाती राख्नु राम्रो हुन्छ ।

यो महिना मिथुन राशिका अध्येता, अनुसन्धाता र छात्रछात्राले महिनाको पूर्वार्द्धमा खासै उपलब्धी लिन सक्दैनन्, तर त्यसपछि पञ्चमेश लग्नमा रहने हुँदा छात्रछात्राले राम्रो प्रभाव देखाउने छन्, अझ वैदेशिक प्रयोजनका काम, स्कोलरसीप वा विदेशयात्रा, डिपेन्डेन्ट भिसामा विदेश जाने तैयारी गर्दै हुनुहुन्छ भने राम्रो हुन्छ । गृहिणीहरूको कलह र विवादको योग छ, खासगरी पतिको कार्यक्षेत्र कमजोर बन्नाले आर्थिक पक्ष असन्तुलित बनेर मन खिन्न रहने छ । दशमेश षष्ठभावमा बक्र भएकाले कर्मचारी, कामदार र बन्दव्यापारमा संलग्नहरूले बोलीमा नरमता देखाउनु राम्रो हुन्छ, नत्र ससाना कुराका विवाद लम्बिने खतरा देखिन्छ । यो महिना ग्रहपरिवेशमा देखिएको कमजोरीलाई व्यवस्थित तुल्याउन राशिस्वामी बुधको शान्तिको उपाय अवलम्बन गर्ने वा दैनिक श्री दुर्गा कवच वा दुर्गा चालिसाको पाठ गर्नु राम्रो हुन्छ । २०७६ सालको आषाढ महिनामा ०५, ०६, १४, १५, १६, २३, २४ र २५ गतेका दिन चन्द्रमाले अशुभ घरको यात्रा गर्ने सङ्केत छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
कर्कट राशि हुनेहरूका लागि आषाढ ०१ गतेका दिन सूर्यले राशि सङ्क्रमण गर्दा पञ्चम भाव बुद्धिस्थानमा राशिस्वामी चन्द्रमा र बक्र अवस्थाको बृहस्पति, षष्ठ भावमा बक्री शनिश्चर र केतु, राज्यस्थानमा शुक्र ग्रह र द्वादश भाव व्ययस्थानमा सूर्य, मङ्गल, बुध र राहु ग्रहको उपस्थिति देखिन्छ । बुध ग्रहले यस महिनाको ०७ गते आफ्नै राशि कर्कटमा, ०९ गते मङ्गलले समेत तपाईंको आफ्नै राशिमा र १२ गते शुक्र ग्रहले द्वादश भावमा प्रवेश गरी राशिपरिवर्तन गर्नेछन् ।

महिनाको अधिकांश समय बाह्रौं भावको सूर्यका साथमा पञ्चमेश मङ्गल र राहुको समेत उपस्थिति हुने भएकाले यो महिना क्षणिक आवेग र उन्मादलाई नियन्त्रण गर्नु राम्रो हुन्छ । यस अवधिमा गरिएका गलत निर्णयका कारण अकल्पनीय हानि हुनसक्छ, त्यसैले कुनै निर्णय लिनुपूर्व राम्रो सोचविचार गर्नु आवश्यक छ । खर्चमा अचानक वृद्धि हुनेछ, जुवातास, लटरी र सट्टापट्टातर्फ नहौसिनु ठिक हुनेछ । मनमा कुविचार आउने छन् एवं दुर्जन, व्यभिचारी र फटाहाहरूसँग सङ्गत बढ्ने देखिन्छ । प्रेम जीवन निरश हुनसक्छ । अनावश्यक यात्राको योग छ अनि यात्राका क्रममा झमेलासमेत व्यहोर्नु पर्ने हुन्छ । व्यवसायिक स्थितिमा गिरावट आउनसक्छ । व्यक्तिगत स्वास्थ्य पनि अनुकूल हुनेछैन । नातागोताका सदस्य एवं मित्रवर्गसँग सुमधुर सम्बन्ध कायम राख्नु आवश्यक छ, अन्यथा एकआपसमा तनाव उत्पन्न हुनसक्छ । बाह्रौं भावमा मङ्गल र राहुले अङ्गारक योगको सिर्जना गरेकाले सरकारी झमेलाले दुःख दिने डर हुन्छ, बाध्यताकारी खर्चको मात्रा बढ्ने छ । तर ०९ गतेपछि पञ्चमेश मङ्गलको आफ्नै राशिमा प्रवेश गर्ने भएकाले त्यसपछि हाँकेताकेका काममा सफलता मिल्ने देखिन्छ ।

कर्कट राशिका छात्रछात्रा र कर्मचारीले महिनाको दोस्रो सातापछि शुभफल पाउने समय छ । सङ्क्रान्तिका दिन विद्यास्थानमा राशिस्वामी र भाग्येश बृहस्पतिको उपस्थिति भएकाले ज्ञान र प्रतिष्ठा प्राप्तिका लागि गरिएका हरेक क्रियाकलापमा शुभफल प्राप्ति हुनेछ । उद्यमी र व्यापारीहरूले पुराना सरसामान फेर्नुपर्ने वा मरम्मत गर्नुपर्ने परिस्थिति बन्नेछ । कतै व्यापारिक प्रयोजनको यात्राको सम्भावनासमेत देखिन्छ । कर्मचारीले आफैंले गरेको सानो त्रुटिको ठूलो सजाय वा जोखिम ब्यहोर्नुपर्ने समय छ, त्यसैले हरेक काममा तन्यमयताका साथमा काम गर्ने, गल्ती वा त्रुटि हुन नदिने प्रयास गर्नु वाञ्छनीय देखिन्छ । यस महिनाको ग्रह परिवेशलाई आफ्नो पकडमा ल्याउन तपाईंले यो महिनाभरि हरेक दिन गणेश कवचको पाठ गर्ने वा गुलाबी रङको कपडा लगाउनुका साथै गणेश पूजा गरी अष्टगन्धको टीका लगाउनु राम्रो हुन्छ, साथै हनुमानजीको श्रद्धाभक्ति र उपासनाबाट पनि लाभ लिन सक्नुहुन्छ । तपाईंका लागि यस महिनाको ०७, ०८, ०९, १७, १८, २५, २६ र २७ गतेका दिन राशिस्वामी चन्द्रमाको प्रभाव कमजोर रहने दिन छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
सिंह राशि हुनेहरूका लागि आषाढ ०१ गतेका दिन सूर्यले राशि सङ्क्रमण गर्दा चतुर्थ भाव सुखस्थानमा चन्द्रमा र बक्र अवस्थाको बृहस्पति, पञ्चम भाव सन्ततिस्थानमा बक्री शनिश्चर र केतु, कर्मस्थानमा शुक्र ग्रह तथा एघारौं घर राज्यस्थानमा राशिस्वामी सूर्य, मङ्गल, बुध र राहु ग्रहको उपस्थिति देखिन्छ । बुध ग्रहले यस महिनाको ०७ गते बाह्रौं भावमा, ०९ गते मङ्गलले समेत बाह्रौं भावमा नै र १२ गते शुक्र ग्रहले एकादश भावमा प्रवेश गरी राशिपरिवर्तन गर्नेछन् ।

महिना सुरु हुँदा राज्यस्थानमा भाग्येश मङ्गलका साथमा राशिस्वामी सूर्य र कर्मस्थानमा स्वगृही शुक्र ग्रहको प्रभाव रहेकाले यो महिना इच्छा र आकाङ्क्षा पूर्ण हुने समयका रूपमा आएको छ । सरकारी ओहोदाका विशिष्ट व्यक्तिहरूको सहयोग जुटाउन सकिन्छ । स्वयं आफैंले वा जीवनसाथीले बढुवा/प्रशंसा पाउने योग छ । नातागोताका सदस्यहरूबाट सहायता मिल्नेछ । यस समयमा गरिएका किनमेल र कारोबारहरू सफल हुनेछन् । करार र सम्झौताबाट लाभ मिल्नेछ । दाम्पत्य जीवन, घरायसी सुख, प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय हो । तर राज्यस्थानमा नै राहुसमेत बसेको हुँदा ग्रहण योग र अङ्गारक योगको सिर्जना भएको हुँदा जुनसुकै काममा दौडधूप र परिश्रम गर्नुपर्ने, घरका बुजुर्ग सदस्यको स्वास्थ्यस्थिति बिग्रन सक्ने, सन्ततिका उन्नतिप्रगति चिन्ताको विषय बन्ने तथा खर्चबर्चको मात्रामा दिनानुदिन बृद्धि भइरहने परिस्थिति छ, त्यसो त आम्दानीका मार्गमा अवरोध हुँदैन, तर सञ्चय गर्ने परिस्थिति नबन्न सक्छ ।

सिंह राशिका छात्रछात्रा र गृहिणीले यस पटक राम्रो परिणाम पाउन सक्दैनन् । तर कर्मचारी, कामदार, उद्यमी, व्यापारी र लगानीकर्ताका लागि जोखिमका साथमा उत्तम फल प्राप्त हुने समय छ । पञ्चम भावमा शनिश्चरर केतुको उपस्थिति एवं पञ्चमेशको बक्रताका कारण छात्रछात्रामा महत्त्वाकाङ्क्षा हाबी हुने र आउनै लागेको फल पनि गुम्ने जटिलता देखिंदैछ, सचेत हुनुपर्छ । त्यस्तै सप्तमेशमा बक्रता भएकाले गृहिणीहरूले कडा बुहार्तन खेप्नुपर्ने परिस्थिति देखिन्छ । मुटु, घुँडा वा पेटको रोगले शरीर गलाउन सक्छ, उता सन्ततिको उन्नतिप्रगतिमा देखिएको अवरोधले पनि चिन्तित तुल्याउन सक्छ । तर राज्यस्थानमा मासाधिपति सूर्य र बुधको बुधादित्य योग रहेकाले अन्य क्षेत्रका व्यक्तिले हिम्मत बढाएर काम लिने समय छ । व्यापारीहरूको व्यापारमा विस्तार हुनेछ भने कर्मचारीले मान पाउने समय रहने छ । यस महिनाको ग्रह परिवेशउपर नियन्त्रण गर्न भाग्येश मङ्गलको शुभताका निमित्त तपाईंले यो महिना हरेक मङ्गलवारका दिन श्रीगणेशलाई दूबो चढाउने वा हरेक शनिवारका दिन हनुमानजीलाई चमेलीको तेल र सिन्दूर चढाउने काम गरेमा लाभ मिल्नेछ । सामान्यतया यस महिनाको ०१, ०२, ०९, १०, ११, १९, २०, २७, २८ र २९ गते तपाईंका लागि अशुभ रहने छन् ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
कन्या राशि हुनेहरूका लागि आषाढ ०१ गतेका दिन सूर्यले राशि सङ्क्रमण गर्दा तृतीय भाव पराक्रम स्थानमा चन्द्रमा र बक्र अवस्थाको बृहस्पति, चतुर्थ भाव सुख स्थानमा बक्री शनिश्चर र केतु, भाग्य स्थानमा शुक्र ग्रह तथा दशम भाव कर्मस्थानमा सूर्य, मङ्गल, राशिस्वामी बुध र राहु ग्रहको उपस्थिति देखिन्छ । राशिस्वामी बुध ग्रहले यस महिनाको ०७ गते एकादश भावमा, ०९ गते मङ्गलले समेत एकादश भावमा नै र १२ गते शुक्र ग्रहले दशम भावमा प्रवेश गरी राशिपरिवर्तन गर्नेछन् । राशिस्वामी बुध २२ गतेपछि अस्ताउने सङ्केत छ ।

कर्मस्थानमा राशिस्वामी बुधका साथमा सूर्यको उपस्थिति भएको महिना छ, त्यसैले यो महिना अत्यन्त क्रियाशील र व्यस्त रहने समय हो । व्यापार र नोकरीका माध्यमबाट लाभ मिल्नेछ । त्यस्तै मिहिनेत गरेमा नयाँ व्यवसाय वा रोजगारीको प्रबल सम्भावना छ, साथै गरीआएको काममा बढुवा वा प्रगति हुनेछ । व्यवसायिक/व्यापारिक दृष्टिले फलदायी यात्राको सम्भावना छ । यस अवधिमा गरिएको कडा मिहिनेत र परिश्रमको राम्रो परिणाम पाउन सक्नुहुन्छ । महिनाको उत्तरार्द्धमा राशिस्वामीमा बक्रता आउने हुँदा त्यसपछि दैनिक व्यवहार र घरायसी वातावरणमा भने उतारचढाव देखा पर्नसक्छ, समग्रतामा यस अवधिलाई सन्तोषजनक समयका रूपमा लिन सकिन्छ । अधिकतम आर्थिक समस्याहरू हल हुनसक्छन् । कर्मस्थानमा नै बसेको मङ्गल र राहुको प्रभाव नकारात्मक रहेकाले यस अवधिमा प्रशासनिक काम र मुद्दामामिलाबाट टाढा रहेर काम बनाउने समय हो, हेक्का राख्नुपर्छ । त्यसैले जोखिम मोलेर काम गर्ने प्रवृत्तिलाई अङ्कुश लगाउनु बेस हुनेछ । पेटको रोगले समेत सताउन सक्छ ।

कन्या राशिका उद्यमी, व्यापारी र लगानीकर्ताका लागि उत्तम फल प्राप्त हुने समय छ, तर छात्रछात्रा र गृहिणीहरूमा त्यति राम्रो परिणाम देखिंदैन । विद्यास्थानको मालिक बक्र अवस्थामा रहेकाले अध्ययनअध्यापनको क्षेत्रमा रहेका जातकको घरायसी बाध्यता र समस्याका कारण पठनपाठन अवरुद्ध हुने समय चल्दैछ । उता कर्मचारीले पनि कार्यालयको काममा निकै व्यस्त रहनु पर्ने, हरेक काम दोहोर्याउनु पर्ने परिस्थिति देखिन्छ, तर कर्मचारीले बढुवा, प्रशंसा वा पुरस्कार हासिल गर्ने समय पनि हो । तृतीय भावमा सप्तमेश बक्र अवस्थामा रहेकाले गृहिणीहरूलाई आन्तरिक रोगव्याधि र चोटपटकले सताउने समय छ । तर उद्यमी, व्यापारी र लगानीकर्ताले कर्मक्षेत्रमा राशिस्वामी रहेकाले राम्रो परिणाम प्राप्त गर्ने सम्भावना देखिन्छ । यस महिनालाई शुभफलदायक बनाउन तपाईंले राशिस्वामी बुधको उपासनामा जोड दिनु राम्रो हुन्छ, खासगरी यस महिनामा पर्ने हरेक बुधवारका दिन कालो बोकोलाई हरियो घाँस खान दिए शुभतामा बृद्धि हुनेछ । यस महिनाको ०२, ०३, ०४, १२, १३, १४, २१, २२, २९, ३० र ३१ गतेको चन्द्रमा तपाईंका लागि अनिष्ट रहने देखिन्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
तुला राशि हुनेहरूका लागि आषाढ ०१ गतेका दिन सूर्यले राशि सङ्क्रमण गर्दा द्वितीय भाव धनस्थानमा चन्द्रमा र बक्र अवस्थाको बृहस्पति, तृतीय भाव पराक्रम स्थानमा बक्री शनिश्चर र केतु, अष्टम भाव आयु क्षेत्रमा राशिस्वामी शुक्र ग्रह तथा नवम भाव भाग्य स्थानमा सूर्य, मङ्गल, बुध र राहु ग्रहको उपस्थिति देखिन्छ । बुध ग्रहले यस महिनाको ०७ गते दशम भावमा, ०९ गते मङ्गलले समेत दशम भावमा नै र १२ गते राशिस्वामी शुक्र ग्रहले नवम भावमा प्रवेश गरी राशिपरिवर्तन गर्नेछन् ।

भाग्यस्थानमा रहेको सूर्य र भाग्येश बुधको प्रभावले यस महिनालाई सकारात्मक बनाएको छ । महिनाको प्रारम्भ धनस्थानमा बसेको चन्द्रमा र बृहस्पतिको गजकेशरी योगको प्रभावबाट हुने हुँदा यो महिना पिता, परिवार वा वंशकै मानसम्मान र प्रतिष्ठामा वृद्धि हुने समय हो । अध्ययन अध्यापनमा रुचि बढ्नेछ, परीक्षा, प्रतियोगिता र प्रतिस्पर्द्धामा सफल भइने छ । विदेश यात्रा वा वैदेशिक प्रयोजनका कामबाट फाइदा हुनेछ । सन्तानले उन्नति/प्रगति गर्नेछन्, सामाजिक वा परोपकारी काममा मन जानेछ । भाग्यले साथ दिनेछ, बढुवा, प्रशंसा वा प्रतिष्ठा मिल्नेछ । उच्च पदमा प्रतिष्ठित व्यक्तिहरूसित भेटघाट हुने तथा सल्लाह र सद्भाव प्राप्त हुने देखिन्छ । धार्मिक र सांस्कृतिक महत्त्वको क्षेत्रमा भ्रमण हुनेछ । विश्वासको वातावरण बन्नाले व्यावसायिक एवं रोजगारीका क्षेत्रमा सफलता आर्जन हुनेछ । धनार्जनका दृष्टिले राम्रो समय छ । तर महिनाको पूर्वार्द्धमा राशिस्वामी शुक्र ग्रहको अष्टम भावमा उपस्थिति हुने तथा महिनाको उत्तरार्द्धमा भाग्येश बुध अस्ताउने भएकाले खासगरी महिनाको मध्यभाग दूरगामी प्रयोजनका कामका लागि अनुकूल समय रहने सङ्केत छ ।

महिनाको प्रारम्भमा राशिस्वामी अष्टम भावमा रहेकाले तुला राशिका सबै तह, तप्का र उमेरका जातकहरूले शुभफल पाउन केही सङ्घर्ष नै गर्नुपर्ने समय चल्दैछ, तर १२ गतेपछि सामान्यतया शुभफलकै आधिक्यता रहने देखिन्छ । छात्रछात्राले पञ्चमेश शनिमा बक्रता भएकाले अलि बढी मिहिनेत गर्नु पर्ने देखिन्छ । त्यस्तै गृहिणीहरूले पनि सप्तमेश मङ्गलको अस्तता र राहुसँग युतिसम्बन्धका कारण उल्झन र तनाव झेल्नुपर्छ, पतिसित विचारमा बेमेल हुनाले पटकपटक झडपको परिस्थिति बन्नेछ, चुप लागेर नै जितिन्छ भन्ने हेक्का राख्नुपर्छ । भाग्य स्थानमा अङ्गारक योगको सिर्जना भएकाले तथा सङ्क्रान्तिका दिन राशिस्वामी अष्टम भावमा रहेकाले व्यापारी र कर्मचारीले तुजुक देखाउने र रिस्की काममा हात बाँध्नु नै बेस हुनेछ । यस महिना पर्नसक्ने जोखिमलाई न्यूनीकरण गर्न तपाईंले राशिस्वामी शुक्रको उपासनामा जोड दिने वा महालक्ष्मी वा दुर्गाको उपासना गर्नु बुद्धिमानी हुनेछ । २०७६ सालको आषाढ महिनामा ०५, ०६, १४, १५, १६, २३, २४ र २५ गतेका दिन चन्द्रमाले अशुभ घरको यात्रा गर्ने सङ्केत छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
बृश्चिक राशि हुनेहरूका लागि आषाढ ०१ गतेका दिन सूर्यले राशि सङ्क्रमण गर्दा तपाईंको आफ्नै राशिमा चन्द्रमा र बक्र अवस्थाको बृहस्पति, द्वितीय भाव धन स्थानमा बक्री शनिश्चर र केतु, सप्तम भाव प्रणय स्थानमा शुक्र ग्रह तथा अष्टम भाव सङ्कट स्थानमा सूर्य, राशिस्वामी मङ्गल, बुध र राहु ग्रहको उपस्थिति देखिन्छ । बुध ग्रहले यस महिनाको ०७ गते नवम भावमा, ०९ गते राशिस्वामी मङ्गलले समेत नवम भावमा नै र १२ गते शुक्र ग्रहले अष्टम भावमा प्रवेश गरी राशिपरिवर्तन गर्नेछन् । राशिस्वामी मङ्गल २५ गतेपछि अस्ताउने सङ्केत छ ।

अनुकूल समय देखिंदैन । अष्टम भावमा राशिस्वामी मङ्गल, सूर्य र बुधका साथमा राहु ग्रहको समेत प्रभाव रहने भएकाले लक्ष्यप्रति भ्रमित रहनाले एकपटक हातमा आएको कामलाई मात्र महत्त्व दिएर त्यसैमा घोरिरहन मन लाग्नेछ । व्यक्तित्वमा अहङ्कारले प्रवेश गर्नेछ जसका कारण लोकप्रियता घट्न सक्छ र जनप्रियतामा कमी आउने छ । पारिवारिक विवादमा संयमता अपनाउनु राम्रो हुन्छ, किनभने मानसिक अशान्ति र बेचैनीको योग छ, नातागोताभित्रका सदस्यहरूसँग राम्रो व्यवहार पुर्याउन नसक्नाले विनाकारण झगडा र विवाद हुनेछ । शङ्कास्पद कारोबार र क्रियाकलाप सहभागी नबन्नु राम्रो हुनेछ, त्यस्तै महत्त्वपूर्ण कागजातमा हस्ताक्षर गर्नुअघि राम्ररी पढ्नु बेस होला । यस महिनाको ०९ गते राशिस्वामी मङ्गलले नवम भाव भाग्य स्थानमा प्रवेश गर्नेछ, त्यसपछि केही राहतको महसूस हुनेछ, यद्यपि यस अवधिमा अन्तर्दृष्टिलाई प्रयोग गरी आँफूभित्रका अवाञ्छित तत्वलाई पन्साउनु र अघि बढ्नु राम्रो हुनेछ ।

सप्तम भावमा स्वगृही शुक्रको उपस्थिति भएकाले सामान्यतया असार महिनाभरि बृश्चिक राशिका गृहिणीहरू प्रसन्न नै रहने देखिन्छ, पञ्चमेशसमेत आफ्नै राशिमा बसेको हुँदा गृहिणीहरूले छोराछोरीको उन्नति प्रगतिको समाचार पाउने तथा विद्यार्थीहरूले पनि यसै कारणबाट राम्रो उपलब्धी लिन सक्ने समय चल्दैछ । वास्तवमा यो महिना छात्रछात्राका लागि प्रतिष्ठा र इज्जत बढाउने समय हो । कर्मचारीले इच्छाबमोजिमको काम गर्न नपाउँदा खिन्नता व्यक्त गर्नुपर्नेछ, अनि सानो त्रुटिका कारण झमेला खेप्नुपर्ने वा अपमानित बन्नुपर्ने परिस्थितिसमेत रहेको देखिन्छ । व्यापारीहरूले कामदार वा साझेदारसँग सतर्क रहनु राम्रो हुन्छ, यस वेला ऋणभार वा फँसेको वा उधारोमा गएको धनका कारण तनाव ब्यहोर्नु पर्ने देखिन्छ । यद्यपि वैदेशिक प्रयोजनका कामधामबाट लाभ लिन सकिने छ । यस महिनामा देखिएका ग्रहहरूको अशुभता निवारणका लागि तपाईंले दैनिक रूपमा हनुमान चालिसाको पाठ गर्ने, श्री गणेशको उपासना गर्ने वा हरेक शनिवार झिसमिसेमा बग्दो पानीमा बिजोडी सङ्ख्यामा कोइला बगाउनु मुनासिब हुनेछ । तपाईंका लागि यस महिनाको ०७, ०८, ०९, १७, १८, २५, २६ र २७ गतेका दिन चन्द्रमाको प्रभाव कमजोर रहने दिन छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
धनु राशि हुनेहरूका लागि आषाढ ०१ गतेका दिन सूर्यले राशि सङ्क्रमण गर्दा तपाईंको आफ्नै राशिमा बक्री शनिश्चर र केतु, षष्ठ भाव शत्रु स्थानमा शुक्र ग्रह, सप्तम भाव प्रणय स्थानमा सूर्य, मङ्गल, बुध र राहु तथा बाह्रौं भाव व्यय स्थानमा राशिस्वामी बृहस्पतिका साथमा चन्द्रमाको उपस्थिति देखिन्छ, बृहस्पति बक्रसमेत छ । बुध ग्रहले यस महिनाको ०७ गते अष्टम भावमा, ०९ गते मङ्गलले समेत अष्टम भावमा नै र १२ गते शुक्र ग्रहले सप्तम भावमा प्रवेश गरी राशिपरिवर्तन गर्नेछन् ।

सप्तम भावमा सूर्य, मङ्गल र राहुको युतिसम्बन्ध तथा बाह्रौं भावमा राशिस्वामी बृहस्पतिको उपस्थितिले यस महिनालाई कमजोर बनाएको छ । यो मानसिक तनाव र खिन्नता बढ्ने समय हो, त्यसैले कतिपय प्रसङ्गमा झिनामसिना कुरामा चिन्ता र शङ्का गर्नहुदैन । परिवारभित्रका वादविवाद, झैझगडा र समस्याहरूमा संयमता अपनाउनु राम्रो हुनेछ । व्यक्तिगत स्वास्थ्यस्थितिप्रति गम्भीर हुनु जाति हुन्छ । कार्यक्षेत्रमा एक्लै खटेर मिहिनेत गर्नुपर्ने परिस्थिति छ, नजिकका साथीभाइ र कामदारले धोका दिनसक्छन् । आर्थिक पक्ष बलियो छैन, बाध्यताका खर्चमा धनव्यय हुनेछ । जोखिमपूर्ण काम गर्नु उचित हुँदैन, जुवातास, लटरी र सट्टापट्टामा धन नाश हुनसक्छ । हातहतियारको प्रयोग गर्दा तथा सवारी हाँक्दा निकै सचेतता अपनाउनु पर्ने समय छ । आफ्नै राशिमा बसेको बक्री शनिको प्रभावले दिमागमा जतिखेर पनि गर्मी बढीरहने छ, त्यसैले संयमता र धैर्यता तपाईंको औषधी हो भन्ने बिर्सनु हुँदैन ।

राशिस्वामी बाह्रौं भावमा बक्र अवस्थामा भएकाले यो महिना जुनसुकै तह, तप्का र क्षेत्रमा रहेका धनु राशिका जातकहरूले सङ्घर्ष र मिहिनेतका साथमा काम लिने समय हो । पञ्चमेश मङ्गलले ०९ गतेपछि अष्टम भावमा प्रवेश गर्ने भएकाले वैदेशिक क्षेत्रबाहेकका विद्यार्थीहरूका लागि शुभफलदायक समय छैन, तर विदेश जाने प्रक्रियामा रोकावट छ भने काम बन्नसक्छ । सप्तमेश बुध स्वगृही भए पनि मङ्गल र राहुका साथमा बसेको हुँदा गृहिणी र मौखिक अभिव्यक्तिको क्षेत्रमा काम गर्नेले विवाद र कलहको वातावरण ब्यहोर्नु पर्ने हुन्छ । तर कर्मचारी र उद्यमीव्यापारीले कर्मेशसमेत मानिने बुध सप्तम भावमा बसेकाले केही हदमा सकारात्मक फल पाउने छन्, तर महिनाको उत्तरार्द्धमा बुधसमेत अस्ताउने भएकाले विश्वासपात्र र साझेदारको भर पर्नु राम्रो हुँदैन, नत्र धोका पाइने समय चल्दैछ । यस महिना ग्रहगोचरगत अशुभता निवारणका लागि तपाईंले बाह्रौं भावमा बसेको राशिस्वामी बृहस्पति ग्रहको उपासनामा जोड दिनु राम्रो हुन्छ, साथै कुलपितृको आराधना र बृद्धबृद्धाको सेवाचाकरीबाट पनि लाभ लिन सक्नुहुन्छ । सामान्यतया यस महिनाको ०१, ०२, ०९, १०, ११, १९, २०, २७, २८ र २९ गते तपाईंका लागि अशुभ रहने छन् ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
मकर राशि हुनेहरूका लागि आषाढ ०१ गतेका दिन सूर्यले राशि सङ्क्रमण गर्दा पञ्चम भाव बुद्धि स्थानमा शुक्र ग्रह, षष्ठ भाव शत्रु स्थानमा सूर्य, मङ्गल, बुध र राहु, एकादश भाव राज्य स्थानमा बक्र बृहस्पतिका साथमा चन्द्रमा तथा बाह्रौं भाव व्यय स्थानमा राशिस्वामी शनिका साथमा केतु ग्रहको उपस्थिति देखिन्छ, शनिश्चर ग्रह बक्रसमेत छ । बुध ग्रहले यस महिनाको ०७ गते सप्तम भावमा, ०९ गते मङ्गलले समेत सप्तम भावमा नै र १२ गते शुक्र ग्रहले छैटौं भावमा प्रवेश गरी राशिपरिवर्तन गर्नेछन् ।

तपाईंका लागि यो महिना उपयोगी समयका रूपमा आएको छ, जे गरे पनि सफलता हात पर्ने सम्भावना हुन्छ । पछाडि उछित्तो काड्ने र कुरा काट्नेहरू आफैं चुप लाग्नेछन् । नोकरी र व्यायसायिक जीवनमा सुधार आउने छ । आफ्नो सर्कलमा सम्मान र साख मिल्नेछ । मुद्दामामिला वा सरकारी काममा सफलता मिल्नेछ । तर राशिस्वामी बक्री भएर बाह्रौं भावमा बसेको हुँदा बाध्यताका खर्चमा बृद्धि भइरहने सङ्केत छ, साथै जुनसुकै काममा बन्ने बन्ने वेलामा बिग्रने र खिन्न बन्नुपर्ने परिस्थिति समेत देखा पर्नसक्छ । अतः धैर्य र संयमताका साथमा तन्मय भएर काममा तल्लीन भएमा मात्र सफलता मिल्ने समय छ, हेक्का राख्नुपर्छ । यस अवधिमा घर बुजुर्ग सदस्यको प्रतिकूल स्वास्थ्यका कारण चिन्तित बन्नुपर्ने छ । त्यस्तै आफू स्वयंमा मौसमी रोगको चाप बढ्ने सम्भावना पनि देखिन्छ, ऋणभार बढ्ने र लगानी डुब्ने समय भएकाले सतर्क भएर आर्थिक कारोबार गर्ने समय छ ।

बाह्रौं भावमा राशिस्वामी शनिश्चरको बक्रता रहेकाले यस राशिका मानिसहरूले जुनसुकै काम गर्दा कडा मिहिनेत र सङ्घर्ष गर्नुपर्ने परिस्थिति देखिन्छ । छात्रछात्राले पञ्चमेश शुक्र आफ्नै घरमा स्वगृही भएर बसेको हुँदा आफ्नो आन्तरिक प्रतिभाको प्रस्फुटन गर्ने समय आएको छ, तर हाँसखेल, मनोरञ्जन, प्रेमभावना र काल्पनिकताले परिणाम उल्टो हुन बेर लाउँदैन, सचेत हुनुपर्छ । गृहिणीहरूले पति वा घरको कुनै पुरुष नातेदारले पदप्रतिष्ठा प्राप्त गरेको समाचार सुन्न पाउने छन् । उता बन्दव्यापारमा संलग्नहरूले पनि शुभफल नै प्राप्त गर्ने समय रहेको छ । तर कर्मचारी, राजनेता र सामाजिक अभियन्ताले यो महिना शुभफल प्राप्त गर्ने निकै दौडधूप र परिश्रम गर्नुपर्ने समय छ । यस महिनाको ग्रहगोचरमा रहेको अशुभता हटाउन तपाईंले राशिस्वामी शनिश्चरको उपासनामा जोड दिनु राम्रो हुन्छ । हरेक हप्ताको शनिवारका दिन पीपलमा पानी चढाउनुका साथै शनि मृत्युञ्जय स्तोत्र वा हनुमान चालिसाको पाठ गर्नु वाञ्छनीय देखिन्छ । यस महिनाको ०२, ०३, ०४, १२, १३, १४, २१, २२, २९, ३० र ३१ गतेको चन्द्रमा तपाईंका लागि अनिष्ट रहने देखिन्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
कुम्भ राशि हुनेहरूका लागि आषाढ ०१ गतेका दिन सूर्यले राशि सङ्क्रमण गर्दा चतुर्थ भाव सुख स्थानमा शुक्र ग्रह, पञ्चम भाव सन्तति स्थानमा सूर्य, मङ्गल, बुध र राहु, दशम भाव कर्म स्थानमा बक्र बृहस्पतिका साथमा चन्द्रमा तथा एघारौं भाव लाभ स्थानमा राशिस्वामी शनिका साथमा केतु ग्रहको उपस्थिति देखिन्छ, शनिश्चर ग्रह बक्रसमेत छ । बुध ग्रहले यस महिनाको ०७ गते षष्ठ भावमा, ०९ गते मङ्गलले समेत षष्ठ भावमा नै र १२ गते शुक्र ग्रहले पञ्चम भावमा प्रवेश गरी राशिपरिवर्तन गर्नेछन् ।

पाँचौं भावमा सूर्यको उपस्थिति भएकाले यो महिना मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना हुनेछ । आम्दानीमा वृद्धि हुनेछ, तर महत्त्वाकाङ्क्षा बढ्नाले सन्तुष्टि भने नहुन सक्छ । राशिस्वामी शनिश्चर र सूर्यको एकआपसमा पूर्णदृष्टि रहेको समय हुनाले दाम्पत्यसम्बन्ध र प्रेम जीवनमा उतारचढाव आउनेछ, परिस्थिति जटिल बन्दा कुरो समाजसम्म वा अड्डाअदालतसम्म पनि पुग्नसक्ने खतरा छ, त्यसैले खासगरी गृहस्थीहरूले सचेत भएर जीवनसाथीलाई समय प्रदान गर्नु वाञ्छनीय देखिन्छ, तर किशोरकिशोरीहरूले यस क्षेत्रमा निर्लिप्त हुन यो समय उपयोगी हुँदैन, फकाउने र फुस्ल्याउने काममा नै समय बित्ने भएकाले फेरि उद्देश्य र लक्ष्यमा बाधा पुग्नसक्छ । पढाइलेखाइ र बौद्धिक क्रियाकलापका लागि उचित समय छ, तर चिन्तनमननमा बढी निर्लिप्त हुनु हानिकारक बन्नसक्छ । आकस्मिक यात्राको अवसर आउन सक्छ । राज्य स्थानमा राशिस्वामी शनिश्चर बक्र अवस्थामा रहने हुँदा यसको प्रभावले कुनै काममा पनि लगाव नहुनाले आफन्तले निराशा र वैमनस्यता प्रकट गर्नेछन् । व्यर्थको काममा समय र पैसा बरबाद हुनसक्छ । अर्काका लागि काम गर्नुपर्ने हुन्छ । सनक र उन्माद जाग्ने डरसमेत हुन्छ, तुजुक देखाउन खोज्दा गहिरो सङ्कटमा फँस्न सक्नुहुन्छ, सचेत हुनुपर्छ ।

पञ्चम भावमा सप्तमेश सूर्यको भ्रमण हुने भएकाले गृहिणीहरूले खासगरी सन्तानका तर्फबाट खुसीको समाचार पाउने समय रहने छ । त्यस्तै पतिको व्यवसायिक वा पेसागत उन्नति भएको खबर पनि सुन्न पाइने छ । यो महिना जुनसुकै विषयका छात्रछात्राले राम्रो नतिजा पाउने समय हो । खासगरी नोकरी वा रोजगारीको तरखरमा रहेकाहरूले राम्रो परिणाम पाउने छन् र धनार्जनको बाटो खुल्ने समय देखिन्छ । उद्यमी र व्यापारीहरूले नयाँ बन्दव्यापार वा बैंकवित्तीय क्षेत्रको नयाँ कारोवार गर्ने शुभ समय छ त्यस्तै कर्मचारीले चाहेको जिम्मेवारी पाउने वा चाहेको लाभमूलक स्थानमा सरुवा मिलाउन सक्नेछन् । बक्र अवस्थामा रहेकाले राशिस्वामी शनिश्चर ग्रहको शान्तिका लागि तपाईंले शनि मृत्युञ्जयको निरन्तर पाठ गर्नु गराउनु शुभ हुन्छ । २०७६ सालको आषाढ महिनामा ०५, ०६, १४, १५, १६, २३, २४ र २५ गतेका दिन चन्द्रमाले अशुभ घरको यात्रा गर्ने सङ्केत छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
मीन राशि हुनेहरूका लागि आषाढ ०१ गतेका दिन सूर्यले राशि सङ्क्रमण गर्दा तृतीय भाव पराक्रम स्थानमा शुक्र ग्रह, चतुर्थ भाव सुख स्थानमा सूर्य, मङ्गल, बुध र राहु, नवम भाव धर्म स्थानमा राशिस्वामी बृहस्पतिका साथमा चन्द्रमा तथा दसौं भाव कर्म स्थानमा बक्र शनिका साथमा केतु ग्रहको उपस्थिति देखिन्छ, राशिस्वामी बृहस्पति ग्रहसमेत बक्र अवस्थामा छ । बुध ग्रहले यस महिनाको ०७ गते पञ्चम भावमा, ०९ गते मङ्गलले समेत पञ्चम भावमा नै र १२ गते शुक्र ग्रहले चतुर्थ भावमा प्रवेश गरी राशिपरिवर्तन गर्नेछन् ।

चौथो भावमा रहेको सूर्य र भाग्य स्थानमा रहेको राशिस्वामी बृहस्पतिको प्रभावले यो महिना शुभ रहने सङ्केत छ, आर्थिक पक्ष मजबुत देखिन्छ, व्यवसाय वा नोकरीको सन्दर्भमा वा वैदेशिक प्रयोजनको काममा घरबाहिर जानु पर्ने परिस्थितिसमेत बन्नेछ । विवाहित हुनुहुन्छ भने पति वा पत्नीले बढुवा वा प्रशंसा पाउने समय छ । पञ्चमेश र राशिस्वामीको भाग्यस्थानमा युतिसम्बन्ध रहेकाले हरेक काममा भाग्यले साथ दिनेछ, छात्रछात्राले राम्रो परिणाम पाउने छन्, गृहस्थीहरूले सन्तानको पक्षमा शुभ समाचार पाउनसक्छन् । नयाँ जोडीले बेबीप्लान यो महिना बेबीप्लान गरेमा शुभ हुनेछ । यद्यपि चतुर्थभावको सूर्यका कारण यो समय प्रत्येक कुरामा अडान लिने बानीले दुख पाइने छ, यद्यपि व्यवसायिक क्षेत्रमा लिएको अडानले फाइदा दिलाउने छ । चतुर्थ भावमा अङ्गारक योगसमेत बनेकाले मातापिता र अभिभावक वर्गको स्वास्थ्यस्थिति चिन्ताको विषय बन्नेछ । मन कुकर्म र गलत आचरणतर्फ आकर्षित बन्न सक्छ । अन्धविश्वास र भ्रमले डेरा जमाउने बेला पनि हो, यो । पेट वा छातीको रोगव्याधिले दुःख दिनसक्छ ।

मीन राशि हुने छात्रछात्राले हरेक पक्षमा राम्रो सफलता पाउने समय छ, तर राशिस्वामीमा बक्रता रहेको हुँदा सानो लापरवाहीले पनि उल्टो परिणाम आउने जोखिम भएकाले अधिकतम मिहिनेत र लगनशीलताको खाँचो हुनेछ । गृहिणीहरूले पतिसुख पाउनुका साथै भ्रमण, घुमघाम र गहनागुरिया खरिदमा धन खर्चने समय रहने छ । राशिस्वामीले भाग्यस्थानको भ्रमण गरेकाले गरेका हरेक काममा भाग्यले साथ दिने महिना छ, त्यसैले उद्यमी, व्यापारी, सामाजिक कार्यकर्ता र कर्मचारीहरूका लागि यो समय प्रसन्नता र आनन्दको समय हुनेछ । यस महिनामा अझ शुभफल प्राप्त होस् भन्ने उद्देश्यले तपाईंले राशिस्वामी बृहस्पतिको बक्रताको निवारणका लागि कुलपितृको भक्तिउपासनामा नै जोड गर्नु राम्रो हुनेछ । हुनसक्छ भने कुनै बिहीवारको मौका पारेर अनाथालय, अस्पताल वा बृद्धाश्रममा रहेका व्यक्तिलाई भोजनादिको व्यवस्था गर्ने वा रकम सहयोग गरेको जाति हुन्छ । तपाईंका लागि यस महिनाको ०७, ०८, ०९, १७, १८, २५, २६ र २७ गतेका दिन चन्द्रमाको प्रभाव कमजोर रहने दिन छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार