वि.सं. २०७६ आषाढ ०३ गते मङ्गलबार तदनुसार ई. सं. २०१९ जुन १८ तारिख, आषाढ कृष्ण प्रतिपदा, मूल नक्षत्र, धनु राशिको चन्द्रमा, शुक्ल योग, कौलव र तैतिल करण आजको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि),
आजका लागि अशुभ समय :–
राहु काल : दिउँसो ०३:३२ देखि ०५:१६ सम्म, यमघण्ट : बिहान ०८:३८ देखि १०:२१ सम्म, गुलिक काल : दिउँसो १२:०५ देखि ०१:४९ सम्म, काल वारवेला : दिउँसो ०१:४९ देखि ०३:३२ सम्म, रोग वारवेला : बिहान ०५:११ देखि ०६:५४ सम्म र साँझ ०५:१६ देखि ०८:१६ सम्म, आजका लागि शुभकर्म प्रारम्भ गर्न उपयुक्त समय :– लाभ वारवेला : बिहान १०:२१ देखि १२:०५ सम्म, भोलि कतै यात्रा गर्ने उपयुक्त साइतको खोजीमा हुनुहुन्छ भने पुरुषको नेतृत्वमा उत्तर र पूर्व दिशाको तथा स्त्रीको नेतृत्वमा दक्षिण र पश्चिम दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश यात्रामा निस्कनै पर्ने छ भने मिठाइ वा तिल खाएर जुनसुकै दिशाको यात्रा गरेमा पनि शुभफल प्राप्त हुने विश्वास गरिन्छ । पञ्चाङ्गखण्ड समाप्त भएको छ, यहाँ मैले प्रयोग गरेको समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँअनुसार तिथि, नक्षत्रादि र नामाक्षरमा पनि समय अन्तर हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
काम गर्दा सोचेभन्दा राम्रो परिणाम प्राप्त हुनसक्ने भाग्योन्नतिको समय छ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । दीर्घकालिक विशेष योजनाहरू कार्यान्वयन गर्न सकिने दिन छ । सामाजिक र परोपकारी काममा मन जानेछ, आजको दिन धार्मिक/सामाजिक काममा सहभागी भइने छ वा मद्दत लिन चाहनेको सेवा गर्ने अनुकूलता मिल्नेछ । छात्रछात्राले बौद्धिक र प्राज्ञिक क्षेत्रमा राम्रै उन्नति गर्ने समय छ, प्रतियोगी वा परीक्षार्थीले नचिताएको परिणाम प्राप्त गर्ने शुभ दिन छ । व्यवसायिक वा पेसागत जीवनमा साख कायम रहने छ । बन्दव्यापारबाट राम्रै लाभ लिन सकिने छ । आस मारेको काम बन्नाले उत्साह जाग्नेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
आठौं भावको चन्द्रमाका कारण मानसिक खिन्नताको समय छ । मनमा निराशा र वैराग्यका भावना मँडारिने छन् । काम बिग्रने भयले सताउनेछ वा परिश्रमबमोजिमको उपलब्धी नपाउँदा पनि चित्त बुझाउनुपर्ने हुनसक्छ । शारीरिक कमजोरीले पनि चिन्ता बढाउन सक्छ, अतः व्यक्तिगत स्वास्थ्यप्रति वेवास्ता गरेको राम्रो हुँदैन । आज कुनै पनि नयाँ काममा हात हाल्नु राम्रो हुँदैन । यात्राका लागि मन लालायित बन्नसक्छ, तर भरिसक्य बास बस्ने गरी बाहिर निस्कनु राम्रो हुँदैन, जानै परे सवारी हाँक्दा र बाटो काट्दा होस गर्नुपर्छ । नजिकका साथीभाइ वा सहयोगीले विश्वासघात गर्न सक्छन्, गोपनीयता भङ्ग हुने खतरा पनि छ, सचेत हुनु राम्रो हो ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
मनोरञ्जन केन्द्रित दिन हुनेछ । आज सुरु गरेको व्यवसायबाट लाभ लिने समय छ, आम्दानी प्रशस्तै बढ्नेछ । काममा परिवारजनको साथले उत्साहित भइनेछ । जीवनशैलीमा परिवर्तन आउन सक्छ । प्रेम वा मित्रताको बन्धन कसिनेछ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ । गृहिणीहरूले पतिबाट चाहेको कुरो फुत्काउने दिन हो । छात्रछात्राले सहकार्यका माध्यमबाट नयाँ ज्ञान सिक्ने मौका छ । विभिन्न भौतिक साधन जुट्नेछन् । आतिथ्यपूर्ण सम्मान पाइएला । मिहिनेत र परिश्रमको बलले धेरैको मन लोभ्याउने उपलब्धी आर्जन हुनेछ । नयाँ मित्र बनाउन पाइने छ । साझेदारी र पार्टनरसिपको कामबाट फाइदा हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
छैंटौं घरमा रहेको चन्द्रमाको मिश्रित फल प्राप्त हुने दिन छ । रकम तथा भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुनसक्छ । परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिने छ । अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । विभिन्न सहयोग र उपहार प्राप्त हुनेछन् । यात्रा गर्ने अवसर जुट्नुका साथै आतिथ्यता प्राप्त होला । प्रतिस्पर्द्धात्मक क्रियाकलापमा छात्रछात्राले उन्नति गर्नेछन्, आफ्नो क्षेत्र र विषयमा पकड कायम रहने छ । गृहिणीहरूलाई पछाडि कुरा काट्नेले दुःख दिन सक्छन् । मनमा घरिघरि डर र चिन्ताले बास गर्न सक्छ, जे गरे पनि आत्मबल र हिम्मतका साथमा गरेको जाति हुन्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
आज बुद्धिक्षेत्रमा बलियो चन्द्रमाको उपस्थिति छ । त्यसैले बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिने छ । खासगरी छात्रछात्राले रचनात्मक कार्यमा जुट्दा प्रशस्तै फाइदा हुने समय छ । आफनो क्षेत्रमा अधिकार जमाउन सकिने छ । अन्य सबैले पनि दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय आएको छ । प्रतिस्पर्धीलाई उछिन्दै आम्दानी बढाउने अवसर प्राप्त हुनेछ । आफ्नै बलबुता र दिमाग खियाएर गरेको कामबाट धनलाभ हुनेछ । गृहिणीहरूले आफैंले वा सन्ततिको प्रतिभाका माध्यमबाट प्रशंसा तथा प्रसिद्धि पाउने समय छ । अभिभावक र मान्यजनको विशेष सहयोग जुट्नेछ । इच्छाशक्ति बढ्नुका साथै चिताएको काम सजिलै सम्पादन हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
दिगो योजनाका साथ अघि बढ्दा बिस्तारै लाभ मिल्नेछ । अरूको व्यवहारले शङ्का उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ । कृषि, पशुधन र अचल सम्पत्तिको उपयोग हुनसक्छ । अपराह्नदेखि पहिलेका कमजोरीलाई सुधार गर्ने मौका मिल्नेछ । महत्वाकाङ्क्षी योजना फलीभूत हुनेछन् । छात्रछात्राको पढाइलेखाइमा प्रगति हुनेछ, तर होस राख्नुपर्छ, हडबड गर्दा काम दोहोर्याउनु पर्ने स्थिति आउन सक्छ । महत्वाकाङ्क्षी योजना कार्यान्वयन गर्न केही समय पर्खंदा राम्रो हुनेछ । प्रयत्न गर्दा विशेष काम गर्ने वातावरण तैयार हुनेछ । तर साझेदारसित वैमनस्य बढ्ने समय छ, पुरानो सम्झौता तोड्नुपर्ने आवश्यकता पनि पर्न सक्छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइनेछ । विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ । नयाँ कामको प्रस्ताव आउनेछ । सल्लाह दिने र अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन् । मनग्ये धन आर्जन हुनेछ । विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । विगतका कमीकमजोरीलाई सुधार गर्ने अवसर प्राप्त हुनेछ । कामका लागि गरिएको भ्रमण लाभदायक रहने छ । साथीभाइको सहयोगमा पुराना समस्या सुल्झाउने वातावरण बन्नेछ । पठनपाठनमा प्रगति हुनेछ । परोपकारी र सामाजिक कामबाट सम्मान र प्रतिष्ठा आर्जन सकिने छ । लेनदेन लाभकारी रहने छ । विद्यार्थीहरूले रचनात्मक काम सुरु गर्ने समय छ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
सहयोगीहरूको भावना बुझ्ने प्रयत्न गर्नुहोला, दिन रमाइलो हुनेछ । विभिन्न सहयोग र उपहार पाइनेछ । आयआर्जन पनि राम्रै होला । परिवारजनको साथले नयाँ आशा जगाउनेछ । नयाँ काम प्रारम्भ गर्न सकिने छ । छात्रछात्राले प्रतिस्पर्धीलाई पछि पार्ने दिन छ, सफलताले उत्साह बढ्नेछ । व्यापारीहरूले कृषिजन्य कारोबारबाट मनग्ये धन कमाउने अवसर पाउने छन् । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ, सानो प्रयत्नले ठूलो काम बन्न सक्छ । जुनसुकै कामबाट सार्वजनिक रूपमा फाइदा दिलाउन सकिने छ । सहयोगीहरूले काममा साथ दिनेछन् । विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
मिहिनेत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्ने समय छ । आफ्नै राशिमा चन्द्रमा रहेकाले हिम्मतले काम बनाउन सकिने दिन हो । ईर्ष्या गर्नेहरूको मनोबल कमजोर हुनेछ । सानो प्रयत्नले ठूलो फाइदा हुनेछ । दीर्घकालसम्म फाइदा हुने काम प्रारम्भ गर्न सकिने छ । उपलब्धीले थप उत्साह जगाउनेछ । बोलीको भरमा काम सम्पादन हुनसक्छ । तार्किक क्षमताले लाभ र मानसम्मान दिलाउने छ । छात्रछात्राले विगतको सफलताले गर्दा थप काम गर्ने जाँगर देखाउने छन् । नयाँ लक्ष्य वा कामप्रति प्रेरित भइनेछ । सल्लाहसुझाव दिने र अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिने छन् । मन भावुक र रोमान्टिक बन्नसक्छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
बाह्रौं भावमा चन्द्रमाको उपस्थिति छ, त्यसैले धेरै आशावादी नभई लगनशीलता र इमानदारीका साथमा काम गर्न सके उपलब्धी नै हासिल गर्न सकिने दिन छ । आम्दानीका बाटोमा केही असहजता देखिए पनि मिहिनेत गर्दा आजको आर्थिक सङ्कटको निवारण हुनेछ । तर समय र नियमको अनुशासनलाई उल्लङ्घन गर्नु हुँदैन । कुरा काट्नेको कमी हुँदैन, प्रतिस्पर्धी र शत्रु सक्रिय हुनसक्छन्, त्यसैले आँटेका/ताकेका काममा गोपनीयता कायम राख्नुपर्छ । हाँकेताकेका र चिताएका काममा शुभचिन्तकहरूले साथ दिनेछन् । टाढाका साथीभाइको निम्तो प्राप्त हुनसक्छ । छात्रछात्रा मनोरञ्जक गतिविधिमा सक्रिय हुनाले पढाइ बिथोलिन सक्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
छात्रछात्राले कडा परिश्रम गर्ने समय आएको छ, श्रमको उचित मूल्याङ्कन हुनेछ भने गरेका कामबाट सामान्य लाभ मिल्नेछ । लगनशील बन्दा पछि फाइदा हुने काम प्रारम्भ हुनसक्छ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिने दिन छ । लामो समयदेखि रोकिएको काम बन्नुका साथै आम्दानीको स्रोत समेत बढ्नेछ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । नयाँ जिम्मेवारी पाइने समय छ, त्यस्तै श्रमको उचित मूल्याङ्कन हुनेछ । पैत्रिक धनको उपयोगबाट विशेष फाइदा हुनेछ । विभिन्न भौतिक साधनहरू जुट्नेछन् । परिवारजनसँगको सम्बन्ध आत्मीय बन्नेछ । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
कर्मक्षेत्रको निर्बल चन्द्रमाका कारण विभिन्न अवसर जुटे पनि पहिले गरेको बाचा पूरा गर्न दौडधूप गर्नुपर्ने दिन छ । दिगो काम प्रारम्भ गर्न तथा भौतिक साधन जुटाउन सञ्चित धन खर्च गर्ने समय आएको छ । आश्वासन दिनेहरूको भर नपरि आफ्नै पाखुरी खियाएर काम गर्ने समय छ, त्यसैले कहीं कतै नयाँ अवसर आए पनि काममा हात हाल्नुअघि गहन सोचविचार गरी अघि बढ्नु जायज हुनेछ । छट्टु र अवसरवादीहरूसित सजग हुने समय हो । कुनै पनि काम गर्नु छ भने योजना गोप्य राख्नु राम्रो हुनेछ । काम र पदको आशा देखाउनेहरूले धोका दिन सक्छन् । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट सामान्य लाभ मिल्नेछ । बन्दव्यापारमा फाइदा नै देखिन्छ ।
(द्रष्टव्य : आज उल्लेख गरिएको राशिफल असल वा खराब जेजस्तो भए पनि तपाईंले आफ्नो कामप्रति निष्ठा जनाउनु पर्दछ, कर्तव्यपालना गर्नु पर्दछ र परोपकारी/सामाजिक भावना राख्नु पर्दछ, यसो गर्नुभएमा अनिष्ट नाश हुन्छ वा न्यूनीकरण हुनेछ र राम्रो राशिफल छ भने अझ धेरै शुभफल प्राप्त हुनेछ ।)