श्री पशुपतिनाथले सबैको कल्याण गरुन,आषाढ ०९ गते सोमबार\जुन २४ तारिखको राशिफल

वि.सं. २०७६ आषाढ ०९ गते सोमबार तदनुसार ई. सं. २०१९ जुन २४ तारिख, परिधावी नामक संवत्सर, सूर्य उत्तरायण, गृष्म ऋतु, आज कुनै विशिष्ट चाडपर्व र उत्सव छैन र कुनै मुहूर्त पनि जुरेको देखिंदैन । आषाढ कृष्णपक्ष (तछलागा) सप्तमी तिथि, मध्यरात्रीपूर्व ११:२८ बजेसम्म, त्यसपछि अष्टमी तिथि, पूर्वाभाद्रा नक्षत्र, मध्यरात्रीपछि ०१:११ बजेसम्म, त्यसपछि उत्तराभाद्रा नक्षत्र, चन्द्रमा कुम्भ राशिमा, साँझ ०६:३३ बजेसम्म, त्यसपछि मीन राशिमा, आयुष्मान् योग, बेलुका ०९:४२ बजेसम्म, त्यसपछि सौभाग्य योग, सुरुमा विष्टि (भद्रा) करण बिहान १०:२९ बजेसम्म, त्यसपछि बब करण मध्यरात्रीपूर्व ११:२८ बजेसम्म, अन्तिममा बालब करण, आनन्दादि योग : मुसल, चन्द्रवर्ण : कालो, चन्द्रदिशा : पश्चिम, योगिनीदिशा : वायव्य, वारशूल : पूर्व, नक्षत्रशूल : दक्षिण, काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:१२ बजे, सूर्यास्त : साँझ ०७:०१ बजे, दिनमान : ३४ घडी ३३ पला (१३ घण्टा ४९ मिनेट, रात्रीमान : २५ घडी २७ पला (१० घण्टा ११ मिनेट)

आजका लागि अशुभ समय :–
राहु काल : बिहान ०६:५५ देखि ०८:३९ सम्म, यमघण्ट : बिहान १०:२२ देखि १२:०६ सम्म, गुलिक काल : दिउँसो ०१:५० देखि ०३:३३ सम्म, आजका लागि शुभकर्म प्रारम्भ गर्न उपयुक्त समय :– अमृत वारवेला : बिहान ०५:१२ देखि ०६:५५ सम्म र साँझ ०५:१७ देखि ०८:१७ सम्म, लाभ वारवेला : दिउँसो ०३:३३ देखि ०५:१७ सम्म, शुभ वारवेला : बिहान ०८:३९ देखि १०:२२ सम्म, आज यात्राका लागि पुरुषको नेतृत्वमा दक्षिण र पश्चिम दिशाको तथा महिलाको नेतृत्वमा आग्नेय (दक्षिणपूर्व) र नैऋत्य (दक्षिणपश्चिम) दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश अन्य दिशामा समेत यात्रा गर्नुपर्ने भएमा चामल वा दूध खाएर यात्रा सुरु गरेमा शुभफल प्राप्त हुने विश्वास गरिन्छ । भोलिको चाडपर्व र उत्सव : भौमाष्टमी व्रत, गोरखकाली पूजा, देउपाटनमा त्रिशूल यात्रा, भलभल अष्टमी, भूमिपूजा, भोलिको मुहूर्त : रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि), पञ्चाङ्गखण्ड समाप्त भएको छ, यहाँ मैले प्रयोग गरेको समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँअनुसार तिथि, नक्षत्रादि र नामाक्षरमा पनि समय अन्तर हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
पराक्रम र प्रसिद्धिमा वृद्धि हुने समय छ । मिहिनेत गर्नुपर्छ, जे गरे पनि सफलता आर्जन हुने दिन छ । देवालय मठ मन्दिर आदिको भ्रमण र दर्शन हुनेछ वा धार्मिक तथा आध्यात्मिक क्षेत्रतर्फको काममा सहभागी बन्नु पर्ला । नोकरी गर्नेले मानसम्मान पाउने छन् । प्रशासनिक र राज्यपक्षबाट हुनुपर्ने काममा सफलता प्राप्त हुनेछ । विद्यार्थीहरूले पठनपाठन र प्राज्ञिक क्षेत्रबाट लाभ लिन सकिने छ । इष्टमित्रले प्रदान गरेको सल्लाहलाई पालना गर्दा फाइदा हुने योग छ । विश्वासको वातावरण बन्नेछ । आत्मबल र निर्णय क्षमतामा बृद्धि हुनेछ । घरायसी वातावरणमा सुधार आउने छ, रमाइलो पारिवारिक जमघट हुनसक्छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
स्वास्थ्यस्थिति राम्रो रहनुका साथै काम गर्ने जाँगर बढ्ने छ । गृहिणीहरूको पारिवारिक सुखसम्मृद्धिमा बृद्धि हुनेछ । काममा सोचेजस्तै सफलता मिल्नुका साथै उन्नति गर्ने अवसर प्राप्त हुने योग छ । नवीन रोजगारीको सम्भावना छ । छात्रछात्रा प्रतिस्पर्धात्मक क्रियाकलापमा सफल हुनेछन् । धैर्यधारण गरी परिश्रम गर्ने दिन हो । मातापिता र अभिभावकवर्गको स्वास्थ्यमा सुधार आउने छ । कर्मचारीले हाकिमबाट महत्वपूर्ण कुरा फुत्काउन सक्छन् । ठूलाबडाको सहयोग र सल्लाहले राम्रो फाइदा लिन सकिने छ । सन्तानपक्षबाट राम्रै सरसहयोग प्राप्त हुनेछ । व्यापार/व्यवसायमा सोचेजति लाभ पाइने छ । आफ्नो क्षेत्रमा साख रहनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
आज गृहिणीहरूले परोपकारी काममा खट्नु पर्ने दिन छ । दान, पुण्यका कार्यमा आकर्षण बढ्ने छ । पर्यटकीय स्थल, तीर्थ वा मन्दिरको भ्रमण हुनसक्छ । विद्यार्थीहरूले ज्ञानगुन र बौद्धिक क्षेत्रमा गरेको प्रयास सफल हुनेछ । बन्दव्यापार फस्टाउने छ । आम्दानीमा कमी हुने छैन । सानो प्रयासले रोकिएको काम बन्नेछ । पारमार्थिक काममा खट्नु पर्ने समय छ । धार्मिक/सामाजिक क्षेत्रमा समय दिन सकिन्छ । तर्कवितर्क र प्रतिस्पर्धामा विजयी भइने छ । घरपरिवारमा सुमधुर वातावरण सिर्जना हुनेछ । साथीभाइले सकेको सहयोग गर्नेछन् । प्रेम र प्रणयप्रसङ्गका लागि पनि समय अनुकूल छ । सानो प्रयासले भाग्यबल बृद्धि गर्न सकिने दिन छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
भाग्यस्थानमा चन्द्रमाको प्रवेश हुँदैछ, तर पनि परिस्थिति विपक्षमा नै रहने सङ्केत देखिन्छ । छात्रछात्राले गरेको कडा परिश्रम व्यर्थै खेर जान सक्छ । कर्मचारी र जागिरेहरूको हाकिम वा सिनियर्ससँग चित्त नबुझ्न सक्छ । बोलीमा संयमता अपनाउनु पर्छ किनकि भनेको कुराले विपरीत अर्थ वहन गर्नेछ । आज कसैले पनि नयाँ साथीभाइलाई झट्ट विश्वासमा लिनु हुँदैन । सामाजिक र परोपकारका मार्गमा अवरोध हुनेछ । कताकता भाग्यबलमा कमी भएको आभास गर्नु हुनेछ । बन्दव्यापार र रोजगारीको क्षेत्रमा लगनशील र सक्रिय भएमा मात्र सफलता पाउनु हुनेछ । दाम्पत्य जीवन पनि निराशापूर्ण नै रहने छ । दिउँसोबाट निराशाको अन्त्य हुनसक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
मन रोमान्टिक र भावुक बन्नेछ । रमझम र मनोरञ्जनमा आकर्षण बढ्न सक्छ । आज प्रायः सबैको घुमघाम, भेटघाट र मनोरञ्जनमा दिन बित्नेछ । मेजमानीको अनुकूलता प्राप्त हुनेछ । दाम्पत्यसम्बन्ध सुखद रहनेछ । प्रेमको बन्धनमा बाँधिने बेला छ । परोपकारका क्षेत्रमा मन आकर्षित हुनेछ । स्वास्थ्यस्थितिमा अनुकूलता आउनेछ । काम गर्न जाँगर चल्नेछ, उत्साहवर्द्धक समय छ, आम्दानी बढ्न सक्छ । दिन ढल्दै जाँदा जिम्मेबारीबोध बढ्दै जानेछ, रामरमाइलो त्यागेर व्यवसायिक गतिविधिमा संलग्न हुन मन लाग्नेछ । आम्दानीका दृष्टिले नराम्रो छैन, तर विलासिताका क्षेत्रमा खर्च बढ्न सक्छ । छात्रछात्रा रामरमाइलोमा भुलिने समय छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
लामो समयदेखि रोकिएका कामहरू बन्न सक्ने मौका छ । आकस्मिक निम्तोमा सहभागी हुने सम्भावना छ । मिष्ठान्न भोजनको अवसर आउने छ, तर आहारविहारमा विशेष सतर्क रहनु राम्रो हुन्छ । छात्रछात्राहरूले प्रतिस्पर्धा र तर्क वा विवादका क्षेत्रमा सफलता पाउने छन् । कर्मचारीहरूले न्याय सम्पादनका सिलसिलामा लाभ प्राप्त गर्न सक्नुहुनेछ । मानसम्मान र प्रतिष्ठाको प्राप्ति हुनसक्छ । आजको विनियोजन र लगानीले उत्तरोत्तर फाइदा हुनेछ । घरायसी सुखसुविधा बढाउने कुनै महँगो वस्तुको किनमेल गर्न मन लालायित हुनेछ । यात्रा लाभप्रद बन्न सक्छ, तर धेरै टाढा जानु पर्दैन ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
आत्मबल बढ्ने समय छ । छात्रछात्राका लागि शैक्षिक प्रगतिका लागि अनुकूल समय आएको छ, पठनपाठनमा ध्यान दिनु बेस हुनेछ । ज्ञान र चिन्तन उपयोगी बन्नसक्छ । जागिरेहरूका लागि मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । गुरुजन, अभिभावक र साथीभाइले उपयोगी र आवश्यक सहयोग प्रदान गर्नेछन् । गृहिणीहरूले छोराछोरीबाट सन्तुष्टि प्राप्त गर्नेछन् । व्यवसायीहरूले बन्दव्यापारबाट लाभ पाउने समय छ । बन्धुबान्धव र दाजुभाइका तर्फबाट खुशीको खबर प्राप्त हुने छ । प्रायः सबैलाई विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ । पारिवारिक सहयोग बढ्ने छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
चन्द्रमा अशुभ घरमा छ, त्यसैले तर्कवितर्क, झैझगडा र विवादका विषयमा अघि नबढेको राम्रो हुन्छ, यद्यपि शुभ ग्रहको दृष्टि रहेकाले मान्यजन, हाकिम, मातापिता वा विशिष्ट व्यक्तिसँगको छलफलबाट लाभ हुने सम्भावना छ । प्रेमसम्बन्ध र दाम्पत्यसुखको राम्रो योग छ । स्वास्थ्यस्थितिमा सुधार आउने छ । दिनको सुरुवातमा आलस्य र थकानको महसुस भए पनि आनन्द र उल्लासको वातावरणमा समय व्यतीत हुनेछ । आम्दानीको नयाँ स्रोत देखा पर्नेछ । परदेशमा बसी रोजगारी र व्यवसाय गर्नेहरूले खानपीन र मनोरञ्जनका क्षेत्रमा खर्च गर्ने सम्भावना छ । सायंकालमा ज्ञानमूलक क्षेत्रमा आकर्षण बढ्ने छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
आज विद्यार्थीहरूले पराक्रम र प्रसिद्धि बढाउने समय छ, त्यसैले सानातिना कुरामा अल्मलिएर समय खेर फाल्नु हुँदैन । प्रायः सबैका लागि बन्धुबान्धव, साथीभाइ र मित्रवर्गबाट उत्कृष्ट सहयोगको आशा गर्न सकिन्छ । भाइबहिनीले पनि सन्तुष्ट तुल्याउने छन् । भोजभतेर र खानपिन जस्ता सामाजिक कार्यमा सहभागी बन्नु पर्नेछ । दीर्घकालिक फाइदाका लागि गरिएको प्रयासमा सफलता मिल्नेछ । बन्दव्यापारमा सोचेको फाइदा हुने दिन छ । आम्दानीमा बढोत्तरी हुनेछ । झैझगडा र विवादमा विजयी बन्नु हुनेछ तर बोलीवचनमा कडापन त्यागेको राम्रो हुन्छ । पारिवारिक जीवन सन्तोषप्रद रहने छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
मिष्ठान्न भोजन मिल्नेछ । बोलीको प्रभाव बढ्नेछ, आफन्तले प्रशंसा गर्नेछन्, जाँगर बढ्नेछ । चेलीबेटी र कुटुम्बपक्षका काममा समय दिनु पर्नेछ । बन्दव्यापार राम्रो छ । आर्थिक लगानी बढाउन अनुकूल छ । नयाँ ठाउँमा निवेश र लगानीको वातावरण बन्नेछ, कारोबारमा सुधार आउने योग छ । प्रशंसकहरू बढ्नेछन् । सहयोगीहरूले काममा साथ दिनेछन् । राम्रै फाइदाको योग छ । विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । छात्रछात्राको पठन–पाठनमा प्रगति हुनेछ । कर्मचारीहरूले विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ । प्रतियोगितात्मक क्रियाकलापमा सफल बन्नुहुने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
नयाँ कामको लागि नयाँ अवसर आउनेछ । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन आकर्षित हुनेछ । मन त्यसैत्यसै फुरुङ्ग हुने समय छ । दैनिक कामकाज सजिलै सम्पन्न हुनेछन् । आफन्त र मित्रहरूसँग भेटघाट र रमाइलो गरिने छ । घरपरिवारमा राम्रो छ । बन्दव्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ । प्रतिष्ठित काम गर्ने मौका छ । आत्म–विश्वास बढ्नेछ । विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ । पारिवारिक जमघटमा मन रमाउनेछ । मन पर्ने वस्त्र, अलङ्कार आदि उपहार पाइने योग छ । स्वादिष्ट भोजनको आनन्द समेत पाइएला । बन्दव्यापारबाट लाभ मिल्नेछ । फुर्सद नमिले पनि राम्रो नतिजा हात पर्ने समय छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
सुरुमा द्वादश भावमा चन्द्रमा भएकाले आर्थिक समस्याले सङ्कट उत्पन्न गर्न सक्छ तर साँझपख उत्साह र उमङ्गमा बृद्धि हुने दिन छ । त्यसैले आज दिनभरि तपाईंले धनको कारोबारमा सतर्क रहनु बेस हुनेछ । अनावश्यक खर्च बढ्रने छ, नचाहेको क्षेत्रमा खर्चको मात्रा ह्वात्तै बढ्न सक्छ । छात्रछात्रा वा किशोरकिशोरीको विवाद र झैझगडामा समय बित्नसक्छ । बिक्रीबट्टा र बन्दव्यापार फाइदा छैन । परिवारका कुनै सदस्यको अस्वस्थताका कारण चिन्ता बढ्ने छ । साँझपख रमाइलोपन र विलासितातर्फ मन आकर्षित हुनेछ । कुनै दीर्घकालीन योजना कार्यान्वयन गर्नु छ भने रातीअबेर वा भोलिदेखि मात्र सहज हुने देखिन्छ ।

(द्रष्टव्य : आज उल्लेख गरिएको राशिफल असल वा खराब जेजस्तो भए पनि तपाईंले आफ्नो कामप्रति निष्ठा जनाउनु पर्दछ, कर्तव्यपालना गर्नु पर्दछ र परोपकारी/सामाजिक भावना राख्नु पर्दछ, यसो गर्नुभएमा अनिष्ट नाश हुन्छ वा न्यूनीकरण हुनेछ र राम्रो राशिफल छ भने अझ धेरै शुभफल प्राप्त हुनेछ ।)

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार