वि.सं. २०७६ आश्विन ०८ गते बुधबार तदनुसार ई. सं. २०१९ सेप्टेम्बर २५ तारिख, परिधावी नामक संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु, आजको चाडपर्व र उत्सव : इन्दिरा एकादशी व्रत, सोह्र श्राद्धअन्तर्गत द्वादशी श्राद्ध, फर्पिङमा हरिशङ्कर यात्रा, आश्विन कृष्णपक्ष (ञलागा) एकादशी तिथि, बिहान ०९:४५ बजेसम्म, त्यसपछि द्वादशी तिथि, अश्लेषा नक्षत्र, मध्यरात्रीपछि ०४:१६ बजेसम्म, त्यसपछि मघा नक्षत्र, चन्द्रमा कर्कट राशिमा, मध्यरात्रीपछि ०४:१६ बजेसम्म, त्यसपछि सिंह राशिमा, शिव योग, दिउँसो १०:३४ बजेसम्म, त्यसपछि सिद्धि योग, सुरुमा बालब करण बिहान ०९:४५ बजेसम्म, त्यसपछि कौलव करण बेलुका ०८:३५ बजेसम्म, अन्तिममा तैतिल करण, आनन्दादि योग : राक्षस, चन्द्रवर्ण : सेतो, चन्द्रदिशा : उत्तर, योगिनीदिशा : आग्नेय, वारशूल : उत्तर, काठमाण्डौ, नेपालमा, सूर्योदय : बिहान ०५:५३ बजे, सूर्यास्त : साँझ ०५:५६ बजे, दिनमान : ३० घडी ०९ पला (१२ घण्टा ०३ मिनेट, रात्रीमान : २९ घडी ५१ पला (११ घण्टा ५७ मिनेट)
आजका लागि अशुभ समय :–
राहु काल : दिउँसो ११:५४ देखि ०१:२५ सम्म, यमघण्ट : बिहान ०७:२३ देखि ०८:५३ सम्म, गुलिक काल : बिहान १०:२४ देखि ११:५४ सम्म, काल वारवेला : बिहान ०८:५३ देखि १०:२४ सम्म
आजका लागि शुभकर्म प्रारम्भ गर्न उपयुक्त समय :–
लाभ वारवेला : बिहान ०५:५३ देखि ०७:२३ सम्म र साँझ ०४:२६ देखि ०७:२६ सम्म, आज यात्राका लागि पुरुषको नेतृत्वमा पश्चिम र उत्तर दिशाको तथा महिलाको नेतृत्वमा वायव्य (उत्तरपश्चिम) र ईशान (उत्तरपूर्व) दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश अन्य दिशामा समेत यात्रा गर्नुपर्ने भएमा मिठाइ वा तिल खाएर यात्रा सुरु गरेमा शुभफल प्राप्त हुने विश्वास गरिन्छ ।
भोलिको चाडपर्व र उत्सव :
सोह्र श्राद्धअन्तर्गत त्रयोदशीको श्राद्ध, मघा श्राद्ध, गुरु प्रदोष व्रत, कलियुगादि, पञ्चाङ्गखण्ड समाप्त भएको छ, यहाँ मैले प्रयोग गरेको समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँअनुसार तिथि, नक्षत्रादि र नामाक्षरमा पनि समय अन्तर हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
चतुर्थ भावमा रहेको चन्द्रमाको प्रभावले त्यति गतिलो समय देखिंदैन । हतार र शीघ्रता आजका शत्रु हुन्, त्यसैले जुनसुकै काम गर्दा महत्वाकाङ्क्षा त्यागेर अघि बढ्नु जायज हुनेछ, आजको योजना र लक्ष्यको समुचित प्रतिफल आउने छैन । परिवारजनमा असमझदारी बढ्ने छ । मातृधनको उपयोग हुन सक्दैन । पशुधन र जमिनबाट पनि बेफाइदा हुनसक्छ । परिवारजन तथा बन्धुबान्धवबीचको दूरी बढ्नेछ । बिग्रिएको सम्बन्ध र विगतका कमजोरीका कारण अपमानित हुनुपर्छ । नयाँ काममा हात हाल्नु राम्रो हुँदैन । स्थायी सम्पत्ति बेचबिखनको प्रयास सफल हुनेछ र पनि रोकिएका घरेलु कामकाज सिद्ध्याउन निकै खट्नु पर्नेछ । मान्यजनको सुझाव अप्रिय लाग्न सक्छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
रोजगारी र व्यापार/व्यवसायमा आज विशेष महत्वको दिन हुनेछ । पराक्रम र उत्साह बढ्नेछ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । प्रतिस्पर्धी परास्त हुनेछन् । कृषिक्षेत्रमा वा घरपरिवारमा देखिएका समस्या र चुनौती निवारण गरिने छ । दाजुभाइ र बन्धुबान्धवका काममा सहभागी बन्नु पर्नेछ, त्यस्तै सामाजिक कार्यमा नेतृत्वदायी भूमिका वहन गर्नु पर्नेछ, जसबाट सम्मान प्राप्त हुनेछ । सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । बोलीको प्रभाव रहनाले काम बन्नेछ, तर्क र विवादमा विजय प्राप्त हुनेछ । करकुटुम्बका तर्फबाट खुसी हुने समाचार सुन्न पाइने छ । सहभागितामूलक क्रियाकलापमा छात्रछात्रा सक्रिय हुनेछन्, जसबाट लाभ हुनसक्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
कर्मशील भएमा वा ध्यान पुर्याउन सकेमा विगतको श्रमबाट लाभ हुने दिन छ । दोस्रो भावमा बसेको चन्द्रमाको मध्यमफल प्राप्त हुने समय छ, हुन त धनसम्पत्ति बृद्धि हुने समय छ, तर बन्दव्यापार र व्यवसायमा समय दिन नसक्नाले ठूलो फाइदा लिनबाट वञ्चित हुनुपर्छ । सोचेको काम समयमा सम्पादन गर्न सकिंदैन । कार्यक्षेत्रमा लगनशील बन्न नसक्ता अरूले फाइदा लिन सक्नेछन् । आफ्ना कमजोरीमाथि टिप्पणी हुनसक्छ । बोलीको गलत अर्थ लाग्नाले सहयोगीहरू टाढिने छन् । फाइदा अलि कममात्र हुने समय छ । मान–सम्मानमा गिरावट आउने छ । बोली नबिक्ने सम्भावना भएकाले थोरै बोलेको जाति हुनेछ । सहयोगीहरूले आशा देखाए पनि काममा साथ दिने छैनन् ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
राशिमा चन्द्रमा छ, हाँकेको ताकेको काममा सफल भइने छ । रचनात्मक काम सुरु गर्ने समय छ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ । नयाँ कामको प्रस्ताव आउनेछ । अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन् । मनग्ये धन आर्जन होला । पारिवारिक भेटघाटको समय छ । विशेष व्यक्तित्वलाई भेट्ने मौका आउला । विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । विगतका कमीकमजोरीको ढाकछोप गरी अघि बढ्ने अवसर प्राप्त हुनेछ । लाभमूलक कामको आश्वासन पाइनेछ । स्वादिष्ट भोजनको अवसर मिल्नेछ । आज पुरानो साथी वा कुनै आत्मीय जनसँग सँगै बस्ने र भावना साटासाट गर्ने अनुकूलता मिल्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
बाह्रौं घरमा चन्द्रमाको यात्रा देखिन्छ, सोचेको काम बनाउन समय र धन दुबै पक्षमा खर्च बढाउनु पर्ने दिन हो । दूरगामी काम वा व्यवसायमा थप लगानी गर्नु अहिले उपयुक्त समय छैन । बरु परदेशको यात्रा वा वैदेशिक कामकाजमा प्रयास गर्ने समय हो । तर कार्यक्षेत्रभन्दा बाहिर गएर काम गर्न खोज्दा भनेजस्तो फाइदा हुनेछैन, बेकामे भएर धेरै टाढा जानु हुँदैन, झमेला आउन सक्छ । मनमा आलस्य, डर र चिन्ताले जरो गाड्ने छ । आपसी सम्बन्ध बिग्रने दिन हो, त्यसैले पार्टनरका धारणा र भावना बुझ्ने प्रयास गर्नुपर्छ । बन्दव्यापारमा मन्दी छाउने छ । समय र नियमको अनुशासनलाई बेवास्ता गर्दा अवसर र लाभ गुम्न सक्छन् । दण्ड वा जरिवानामा परिने सम्भावना छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
साझेदारी कामबाट फाइदा हुनेछ । आयआर्जनको स्रोत बढ्ने समय छ त्यस्तै बन्दव्यापारमा निकै दौडधूप गर्नुपर्ने परिस्थिति देखिन्छ । खटेअनुसार फाइदा पनि राम्रै हुने सङ्केत छ । घरपरिवारमा आवश्यक देखिएका विभिन्न भौतिक साधनहरू जुटाउने वा खरिद गर्ने समय हो, परिजनका आवश्यकता पूरा गरिने छ । दिगो फाइदाका लागि लगानी बढाउन सकिने छ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । गरेका कामबाट प्रशस्त लाभ हुनेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । नयाँ ज्ञान प्राप्त हुने योग छ । पढाइमा प्रगति हुनेछ । उठ्नुपर्ने रकम हातलागी हुने समय छ । गरेका कामबाट राम्रै लाभ हुनेछ । आर्जन गरिएको रकम सदुपयोग गरिने छ वा सञ्चय हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
कर्मक्षेत्रमा रहेको बलियो चन्द्रमाको प्रभावले प्रतिष्ठित काम गर्ने मौका छ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । सामाजिक कामको दायित्व बढ्नेछ । काममा मान्यजनको सहयोग प्राप्त हुनेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ । व्यापारमा राम्रो फाइदा छ, अहिलेको लगानीले दीर्घकालमा फाइदा पुग्नेछ । ज्ञान र बुद्धिको क्षेत्रमा पनि सफल भइने छ । हाकिम, गुरुवर्ग वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । दूरगामी भविष्यप्रति लक्षित लगानी गरेमा पछि राम्रो फाइदा आर्जन गर्न सकिने छ । श्रमको समुचित मूल्याङ्कन हुनेछ । घरायसी सम्बन्ध सुदृढ बन्नेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
हुन त भाग्यमा चन्द्रमा छ, तर प्रतिष्ठा प्राप्तिका लागि सङ्घर्ष गर्नै पर्छ । आज अनावश्यक र फजुलका कुराकानीमा समय बिताउनु राम्रो हुँदैन, सामाजिक गतिविधिमा संलग्न हुने अवसर मिल्नेछ, सामाजिक कामबाट धेरथोर फाइदा नै हुनेछ । तर नेतृत्व नै वहन गर्नुपर्दा अपजसको भागी भइने छ, सचेत हुनुहोला । बन्दव्यापारमा ठिकठिकै छ । उता आफूपछाडि कुरा काट्नेको कमी हुने छैन । शीघ्र निर्णय गर्ने क्षमतामा कमी आउने छ, तर भाग्यमा बसेको चन्द्रमाले सरल ढंगले दैनिकी सञ्चालनमा सघाउ पुर्याउने छ । मन ज्ञान र अध्यात्मतर्फ आकर्षित हुनेछ, कताकता वैराग्यका भावना मँडारिन सक्छन् । आज अभिभावक वा मान्यजनको सल्लाहबमोजिम काम गर्न सकेमा राम्रो फाइदा हुने समय हो ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
अष्टम भावमा चन्द्रमा छ, मन कातर बन्ने छ, काम बिग्रने भयले सताउला । लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ, न्यून उपलब्धिमा चित्त बुझाउनु पर्ने हुनसक्छ । स्वास्थ्यमा पनि कमजोरी अनुभूति हुनेछ, स्वास्थ्य प्रतिकूल रहे पनि हिम्मतले काम लिन सकिने छ । प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिने छ । काममा केही चुनौती देखिए पनि प्रयत्न गर्दा खोजेको उपलब्धी हासिल हुनेछ । परिवारजनले पनि सहयोगका लागि तत्परता देखाउनेछन् । गोप्य रहस्य पत्ता लगाउन सकिने छ । नसोचेको धन लाभ हुनसक्छ । सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने समय छ । इष्टदेवको पूजा–उपासना गर्दा फाइदा होला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
विभिन्न सहयोग र उपहार पाइनेछ । आयआर्जन पनि राम्रै हुनेछ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । अतिथिका रूपमा सम्मान पाइनेछ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन् । घरायसी प्रयोजनका सुखसुविधाका सामाग्रीको किनमेल गरिने छ । नयाँ ज्ञान सिक्ने अनुकूलता मिल्नेछ । परिवारका सदस्यहरूसँग आत्मीयभावमा बृद्धि हुनेछ । प्रेमसम्बन्ध सुदृढ बन्नेछ, आत्मीय व्यक्तिसँग एकान्तमा बसेर मनका भावना साटासाट गर्ने राम्रो दिन छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
हाँकेका र ताकेका काममा चुनौती र प्रतिस्पर्धा गर्नु परे पनि सफल भइने राम्रो दिन छ । शत्रु र प्रतिद्वन्द्वीको योजना र चलखेल थाहा पाउनाले काम गर्न सजिलो हुनेछ । व्यापार तथा उद्योगतर्फ फाइदाको योग छ । आम्दानी बढ्ने र फाइदा उठाउने समय छ । वैदेशिक यात्राको प्रकिया अघि बढ्न सक्छ । पुरानो लेनदेन र बाँकीबक्यौताको समस्यालाई हल गरिने छ । कामको चाप बढ्ने छ, तर बेफाइदा हुँदैन । फाइदाका लागि योजनाहरू गोप्य राख्न आवश्यक देखिन्छ । आफ्नो क्षेत्र र विषयवस्तुमा अरूले अधिकार जमाउन चेष्टा गरे पनि सफल हुने छैनन् । सरकारी र राज्यपक्षको काममा सफलता मिल्नेछ, अझ न्यायिक वा कानूनी काम गर्नेका लागि प्रतिष्ठा र धनार्जन गर्ने दिन छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
आज ज्ञान र बुद्धिको उपयोग गरी धन, मान र प्रतिष्ठा हासिल गर्नसक्ने महत्त्वपूर्ण दिन छ । चन्द्रमा र राशिस्वामी बृहस्पतिको त्रिकोणमा उपस्थिति भएकाले आजको सानो लगानीले पनि भोलि फस्टाएर राम्रो नतिजा दिने समय हो, त्यसैले जुनसुकै कार्यक्षेत्रमा पनि लगनशील र कर्मनिष्ठ भएर खट्नु पर्ने दिन हो । छात्रछात्राले नयाँ ज्ञान सिक्ने मौका छ । व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ । व्यावसायिक यात्राको सम्भावना छ । सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन् । सन्तति, भाइबहिनी र परिवारका सदस्यसँग आत्मीय सम्बन्ध कायम हुनेछ । आम्दानी प्रशस्तै बढ्नेछ । आतिथ्यपूर्ण सम्मान पाइएला । बोलीकै भरमा विशेष काम सम्पादन हुनसक्छ दिन उत्साहपूर्ण रहला ।
(द्रष्टव्य : आज उल्लेख गरिएको राशिफल असल वा खराब जेजस्तो भए पनि तपाईंले आफ्नो कामप्रति निष्ठा जनाउनु पर्दछ, कर्तव्यपालना गर्नु पर्दछ र परोपकारी/सामाजिक भावना राख्नु पर्दछ, यसो गर्नुभएमा अनिष्ट नाश हुन्छ वा न्यूनीकरण हुनेछ र राम्रो राशिफल छ भने अझ धेरै शुभफल प्राप्त हुनेछ ।)