विवाहपूर्व करिना कपूर वा शिल्पा सेट्टीको जस्तो स्लिम फिगर भएका युवतीहरू पनि विवाहपछि मोटाउँछन् । हाम्रो परिवेशमा मात्र होइन, विदेशी युवतीहरू पनि विवाहपछि मोटोपनको सिकार हुन्छन् । यस्तो किन हुन्छ, भन्ने कुरा बुझ्न युनिभर्सिटी अफ क्विन्सल्यान्डका शोधकर्ताहरूले एउटा अनुसन्धान गरेका थिए । आफ्नो उक्त शोधका लागि उनीहरूले लगभग ६ हजार ५ सय जना महिलालाई छनोट गरे । छनोट गरिएका ती महिलाहरूको विवाहपूर्वको ६–७ वर्ष र विवाहपछि २–३ वर्षको तौल अध्ययन गरियो । ती महिलाहरूको शारीरिक तौलको तुलना गर्दा लेट ट्वेन्टिज र थर्टिज एज समूहका महिलाहरू अविवाहित युवतीको तुलनामा चाँडै मोटाएको पाइयो । यो ग्रुप स्टडीमा दुवै ग्रुपका महिलाका सन्तान थिएनन् ।
यो अध्ययनका क्रममा सन्तान भएको अवस्थामा केही वर्षमा ९–१० केजी तौल बढेको कुरा पनि अगाडि आयो । अर्कातिर सन्तान नजन्माएकाहरूमा तौल ५–६ केजीसम्म बढेको देखियो । विवाहित, सन्तान भएका र सन्तान नभएका महिलाहरूको शारीरिक तौलको अन्तरलाई लिएर संचालित यो शोधका प्रमुख ऐनेट डोब्सनका अनुसार विवाहपछि जीवनसाथीबाट प्राप्त हुने हेरचाह र गहिरो प्रेमको प्रभावबाट महिलाहरूको जीवनका साथै उनीहरूको शारीरिक संरचनामा पनि परिवर्तन आउँछ । विवाहपछि जीवनसाथीबाट प्राप्त हुने प्रेमले महिलाहरूको जीवनलाई रंगीन मात्र बनाउँदैन, सुरक्षाको अनुभूतिका साथै मोटो पनि बनाउँछ । जुन महिलालाई विवाहको ५ वर्षमा मातृत्व सुख प्राप्त हुन्छ, त्यस्ता महिलाहरूको तौल विवाहित भएर पनि सन्तान नभएका महिलाको तुलनामा बढी वृद्धि हुन्छ किनभने मातृत्व सुखले ती महिलाहरूमा पूर्णताको अनुभूति सञ्चार गर्छ अर्थात् सुखमय र सन्तुष्ट जीवन पनि उनीहरूको तौल वृद्धिको कारण बन्छ ।
यो अनुसन्धानसित जोडिएका शोधकर्ता बेन्डी ब्राउनका अनुसार अविवाहित युवतीहरूमा प्राय:जसो जे प्राप्त भयो, जसरी प्राप्त भयो र जब प्राप्त भयो, त्यतिबेला खाने बानी हुन्छ । आफ्नो भोजनलाई लिएर उनीहरू गम्भीर हुँदैनन् तर विवाहपछि स्थिति परिवर्तन हुन्छ । विवाहपछि ती युवतीहरू आफ्नो जीवनसाथीको खानपानको बानीअनुरूप आफूलाई ढाल्नुपर्ने स्थितिमा पुग्छन् । त्यसैले उनीहरू आफ्ना श्रीमान्को रुचिअनुरूप भोजन ग्रहण गर्छन् तर त्यसबाहेक आफ्नो भोजन पनि ग्रहण गर्छन् । खाना खाँदा जीवनसाथीलाई साथ दिन आवश्यकता नभई लिइएको अतिरिक्त भोजन महिलाहरूको मोटोपनको कारण बन्छ । आफ्नो जीवनसाथीको प्रेमका कारण मोटा हुँदै गएका महिलाहरूका लागि वा मोटा भैसकेकाहरूलाई शोधकर्ताहरूको एउटै सल्लाह छ–प्रत्येक दिन पर्याप्त पानी पिउनुपर्छ ।
शोधकर्ताहरूका अनुसार दिनहुँ प्रशस्त पानी पिउने हो भने केही महिनामै ५ केजी तौल कम गर्न सकिन्छ । यो उपायबाट महिलाहरूको शरीर स्फुर्त रहनुका साथै मेटाबोलिज्म सुधार्न र राम्रो सँग काम गर्ने कारणले तौल बढे पनि त्यो नियन्त्रणमा रहन्छ । एकैपल्ट धेरै पानी पिउनुभन्दा थोरै–थोरै गरी समयको अन्तरालमा पानी पिउनुपर्छ । सदैव ताजा पानी नै पिउनुपर्छ । सुन्दर तथा सुगठित शरीरका लागि पनि पर्याप्त पानी पिउनुपर्छ ।
बढ्दै गएको वा बढिसकेको तौलका बारेमा चिन्ता गर्नुको साटो तौल नियन्त्रणमा ल्याउने उपाय अपनाउनुपर्छ । यसका लागि आफ्ना लागि ‘फुड डायरी’ बनाउनुपर्छ । फुड डायरीलाई सही तरिकाले अवलम्बन गर्न डाइटमा सन्तुलन ल्याउनुपर्छ । डाइट स्वास्थ्यमा नकारात्मक प्रभाव पार्ने खालको हुनुहुँदैन । डाइट त्यस्तो पनि हुनुहुँदैन जसका कारण तौल तीव्र गतिमा घटोस् । तौल बिस्तारै घटाउनुपर्छ । डाइटमा न्युट्रिसन्स र प्रोटिन सन्तुलनमा रहनुपर्छ भने दैनिक व्यायाम गर्नुपर्छ ।
फुड डायरी फलो गरे आफूले मोटोपन बढाउने भोजन ग्रहण गरिरहेको छु कि छैन भन्ने जानकारी हुन्छ । यसबाट इमोसनल इटिङ ह्याबिटमा पनि रोक लाग्छ । विवाहपछि तौल नबढोस् भनेर फुड डायरी बनाइयो भने आफ्नो तौल आफै नियन्त्रणमा राख्न सकिन्छ । त्यसबाहेक विवाहपछि आफूभित्र लुकेको बालापनलाई पनि बिर्सनुहुँदैन । यसो गर्दा आफूभित्र ‘म स्लिम थिएँ र पछि पनि स्लिम नै रहन सक्छु’ भन्ने भाव जन्मन्छ, जसबाट सदैव चुस्त, दुरुस्त र उत्साही रहन सकिन्छ ।
किन बढ्छ मोटोपन ?
अनियमित दिनचर्या तथा खानपानमा लापरबाही ।
तारेको, भुटेको तथा मसलेदार भोजन ।
ढिलो सुत्ने र बिहान ढिलो उठ्ने बानी ।
दिनचर्यामा व्यायामलाई समावेश नगर्नु अथवा शारीरिक श्रम नगर्नु ।
कम पानी पिउनु ।
बजारमा पाइने विभिन्न परिकार तथा फास्टफुड, जंक फुड आदि ।
फुड डायरी मेन्टेन नगर्नु ।