श्री पशुपतिनाथले सबैको कल्याण गरुन,आश्विन १८ गते शनिबार\अक्टोबर ०५ तारिखको राशिफल

वि.सं. २०७६ आश्विन १८ गते शनिबार तदनुसार ई. सं. २०१९ अक्टोबर ०५ तारिख, परिधावी नामक संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु, आजको चाडपर्व र उत्सव : नवरात्रअन्तर्गत कालरात्री भगवतीको पूजा आराधना गर्ने दिन, फूलपाती, नवपत्रिका प्रवेश, सरस्वतीको आह्वान, आजको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि), कलशचक्र, आश्विन शुक्लपक्ष (कौलाथ्व) सप्तमी तिथि, दिउँसो ०२:०८ बजेसम्म, त्यसपछि अष्टमी तिथि, मूल नक्षत्र, साँझ ०६:१८ बजेसम्म, त्यसपछि पूर्वाषाढा नक्षत्र, चन्द्रमा धनु राशिमा (अहोरात्र व्याप्त), शोभन योग, मध्यरात्रीपछि ०४:५३ बजेसम्म, त्यसपछि अतिगण्ड योग, सुरुमा वणिज करण दिउँसो ०२:०८ बजेसम्म, त्यसपछि विष्टि (भद्रा) करण मध्यरात्रीपछि ०२:१५ बजेसम्म, अन्तिममा बब करण, आनन्दादि योग : गद, चन्द्रवर्ण : पहेंलो, चन्द्रदिशा : पूर्व, योगिनीदिशा : वायव्य, वारशूल : पूर्व, काठमाण्डौ, नेपालमा, सूर्योदय : बिहान ०५:५८ बजे, सूर्यास्त : साँझ ०५:४४ बजे, दिनमान : २९ घडी २७ पला (११ घण्टा ४७ मिनेट रात्रीमान : ३० घडी ३३ पला (१२ घण्टा १३ मिनेट)

आजका लागि शुभकर्म प्रारम्भ गर्न उपयुक्त समय :–
शुभ वारवेला : बिहान ०७:२६ देखि ०८:५४ सम्म, अमृत वारवेला : दिउँसो ०२:४८ देखि ०४:१६ सम्म, आज यात्राका लागि पुरुषको नेतृत्वमा उत्तर र पूर्व दिशाको तथा महिलाको नेतृत्वमा आग्नेय (दक्षिणपूर्व) र नैऋत्य (दक्षिणपश्चिम) दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश अन्य दिशामा समेत यात्रा गर्नुपर्ने भएमा पानी खाएर यात्रा सुरु गरेमा शुभफल प्राप्त हुने विश्वास गरिन्छ ।

भोलिको चाडपर्व र उत्सव :
नवरात्रअन्तर्गत महागौरी भगवतीको पूजा आराधना गर्ने दिन, अष्टमी व्रत, गोरखकाली पूजा, महाष्टमी, कालरात्री, नेवारी पर्व कुलक्षिभ्वय,

भोलिको मुहूर्त :
दीक्षाग्रहण, कलशचक्र, पञ्चाङ्गखण्ड समाप्त भएको छ, यहाँ मैले प्रयोग गरेको समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँअनुसार तिथि, नक्षत्रादि र नामाक्षरमा पनि समय अन्तर हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
पारिवारिक समस्याहरू हल हुनेछन् । आँटेका कामहरू पनि सजिलै बन्नेछन् । समुदायको हितमा राम्रै काम गर्न सकिने छ । सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ । आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व हातलागी हुनेछ । धेरैले तपाईंका कामको तारिफ गर्नेछन् । कीर्तिमानी काम गर्ने समय छ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । सहयोगीहरूले साथ दिनेछन् । गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । सामाजिक काममा रुचि बढ्नेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । आँटेका काम पनि सजिलै बन्नेछन् । भाग्योन्नतिको समय छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
शरीरमा आलस्य र थकानको अनुभव हुनेछ । धन, धर्म र भाग्यमा हानी पुग्ने सम्भावना छ । गर्नु नपर्ने काम पनि बढी समय लगाएर गर्नु पर्ला । अप्रिय समाचार सुन्नु पर्दा मन खिन्न हुने स्थिति आउने छ । तपार्इंको व्यक्तिगत दृष्टिकोण उल्टो हुने देखिन्छ । प्रतिकूल समयले घेरेको छ, संयम रहनु होला । सानातिना काम र घरेलु समस्यामा नै आजको समय व्यतीत हुनेछ । प्रत्येक काममा बाधाअड्चन आउने र ढिलो गरी कार्यसम्पादन हुने दिन छ । सवारी साधन हाँक्दा वा बाटो काट्दा सचेतता अपनाउनु बेस हुनेछ । स्वास्थ्यमा समस्या हुनसक्छ । लेनदेनमा विवाद हुनेछ । घरायसी सुखमा कमी देखिन्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
रसरङ्ग र मनोरञ्जनको चाहना पूर्ण गर्ने समय आएको छ । तर कामधन्दा र व्यववसायको चापले गर्दा प्रणयप्रसङ्ग र दाम्पत्य सम्बन्धमा सामान्य चिसोपन देखिन सक्छ । घरायसी वातावरण र बालबच्चाको क्रियाकलापले समय लिनसक्छ, संयम भई व्यवहारिक काममा जुटेको राम्रो हुन्छ । यात्रामा सोचेजस्तो रमाइलो पाउन सकिंदैन । आर्थिक पक्ष सबल नै देखिन्छ । खानपानको समयमा फेरबदल हुने सम्भावना छ । मनोरञ्जन र खेलवाडमा भुलिनु राम्रो हुँदैन, बन्दव्यापार प्रभावित हुनसक्छ । भावनाप्रधान दिन भएकाले आत्मविश्वास र शीघ्र निर्णय गर्ने क्षमतामा कमी आउने छ । कल्पनामा रुमल्लिनु पर्ने हुन्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
प्रतिद्वन्द्वीहरूका माझमा आफ्नो क्षमता प्रदर्शन गर्ने दिन हो, आज । आवश्यक र उपलब्धीमूलक रमाइलो यात्रा हुनसक्छ । सकारात्मक र व्यवहारिक सोचको विकास हुनेछ । स्वास्थ्यका दृष्टिकोणले समेत यो राम्रो समय छ । आर्थिक लाभ हुनेछ । ऋणसापटी लिनदिन आजको दिन अनुकूल छ । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ । घरपरिवार र साथीभाइको राम्रो साथसहयोग प्राप्त हुनेछ । जीवनसँगीसित रहेको वैचारिक मतभिन्नताको समाप्ति हुनेछ । मानसिक रूपमा सबल भइने छ, उत्साह र जाँगरमा बृद्धि हुनेछ । तर्क, बहस र वादविवादमा समय बित्न सक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
पाँचौं घरमा कमजोर चन्द्रमा छ, त्यसैले आज जे गरे पनि आफ्नै बुद्धि खियाउनु पर्ने दिन छ । सन्तति पक्षका झिनामसिना समस्यामा केन्द्रित हुन सकिन्छ, तर तिनका क्रियाकलापले सन्तुष्टि मिल्नेछ र तिनको भविष्यका बारेमा घोत्लिन बाध्य भइनेछ । लेखन, प्रकाशन र ज्ञानगुनका क्षेत्रमा धेरथोर समय दिइने छ । बौद्धिक र सृजनात्मक प्रतिभामा आएको कमीले चिन्तित तुल्याउन सक्छ । व्यवसायिक क्षेत्रमा दौडधूप गरेजति सफलता प्राप्त हुने छ । भाइबहिनी र छोराछोरीबाट समेत सन्तोष प्राप्त हुनेछ । दार्शनिक र आध्यात्मिक भावना पैदा हुनसक्छन् । पारिवारिक जीवनमा सामान्य तनाव र समस्या देखा पर्नसक्छन् ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
सुरुमा तनाव भए पनि रामरमाइलोमा दिन बित्नेछ, मनमा देखिने अस्थिरता र अधैर्यतालाई त्यागेर हिम्मतका साथमा अघि बढ्ने आत्मबल प्राप्त हुनेछ । छरछिमेकीसँग टाढिंदै गएको सम्बन्धमा सुधार आउने छ, त्यस्तै आफन्त, नातागोता वा घरपरिवारबाट आवश्यक सहयोग प्राप्त हुनेछ । मान्यजनको सुझावबमोजिम व्यवहार गर्नसकेमा फाइदा हुनेछ । परिश्रम गरेबमोजिम आम्दानी र प्रतिष्ठा प्राप्त हुनेछ । हाकिम, मातापिता वा विशिष्ट व्यक्तिको सल्लाह र परामर्श प्राप्त हुनाले रोकिएको काम बन्ने समय छ । मन बढ्ने योग छ र सामाजिक सम्मान प्राप्त हुनेछ । कामधन्दामा सफलता हात लाग्नेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । प्रतिस्पर्धीहरूले हार खानेछन्, सहयोगीहरूले राम्रो साथ दिनेछन् । दोहोर्याएर प्रयत्न गर्दा रोकिएका काम बन्न सक्छन् । थोरै लाभ भए पनि ठूलो आवश्यकता पूरा हुनेछ । साथीभाइसँगको सम्बन्ध आत्मीय बन्नेछ । हाँकेको/ताकेको काममा आफन्तहरूले राम्रो सहयोग र सद्भाव प्रदान गर्नेछन् । पहिले दिएको वचन पूरा गर्न खट्नु पर्ने दिन छ । परिस्थिति र समयले नचिताएको सफलता प्राप्त गर्न सघाउ पुर्याउने छ । प्रशस्त धनार्जन गर्ने अवसर आउने छ र परोपकारी काममा धन लगानी हुने सम्भावना छ । मुद्दामामिला र सरकारी काममा फाइदा लिन सकिने छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
महत्वपूर्ण कार्य सम्पन्न हुने समय छ । गहना, कपडा वा धातुको कुनै वस्तु खरिद गर्दा लाभ प्राप्त हुनेछ । परिवारमा ठूलो जमघट वा कुनै धार्मिक सामाजिक कार्य सम्पन्न हुनेछ । विशिष्ट व्यक्तिले तपाईंको विचारको कदर गर्नेछन् । स्वास्थ्यस्थिति सन्तोषजनक रहनेछ । बन्दव्यापार फस्टाउने योग छ । प्राविधिक काममा विशेष सफलता प्राप्त हुनाले आत्मसन्तुष्टि प्राप्त हुनेछ । आभूषण, श्रृङ्गार, साजसज्जा, फेसनडिजाइन र सञ्चार क्षेत्रका व्यवसायीले राम्रो लाभ प्राप्त गर्नेछन् । पारिवारिक जीवनमा हर्षको वातावरण सिर्जना हुनेछ । मित्रशक्ति र कुटुम्बबाट साथसहयोग पाइने छ । मिठो भोजनको अनुकूलता मिल्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
आफ्नै घरमा चन्द्रमाको उपस्थिति भए पनि समय त्यत्ति भरपर्दो छैन । मनमा निराशा र वैराग्यका भावना सिर्जना हुनेछ । गरेका काममा सफलता नै हुनेछ, तर मित्रवर्ग र सहयोगीहरूले साथ दिन सक्ने छैनन् । रोकिएका काम पूरा गर्न धेरै समय लाग्नसक्छ । नयाँ आशा जाग्न सक्छ, नयाँ कामको खोजीमा मन लालायित हुनेछ । श्रममूलक काममा निकै खट्नु पर्ने समय छ । व्यवहारिक समस्याले सताउन सक्छ । बन्दव्यापार र पेसा/व्यवसायमा सफलता नै मिल्ने समय छ । भोगविलास र मनोरञ्जनका क्षेत्रमा खर्च गर्न मन आकर्षित बन्नेछ । नयाँ काम गर्ने सोच पलाउन सक्छ, तर कार्यान्वयन पक्ष जटिल छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
व्यवसायिक जीवन यथावत रहने छ । व्ययस्थानमा चन्द्रमा रहेकाले काममा लगानीको समय छ । अहिले तपाईंले खर्चमा नियन्त्रण गर्नुपर्छ । चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । धैर्यले काम लिने समय छ । छर–छिमेकमा भने केही असमझदारी बढ्ने योग छ, तर खास हानि पुग्दैन । प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिने छ । वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ । यात्रा हुनसक्छ । अनावश्यक यात्राबाट जोगिनु राम्रो हुन्छ । मन दर्शन, अध्यात्म वा गूढ रहस्यप्रति आकर्षित बन्नेछ । विवादका क्रममा आफूलाई संयम बनाएमा सफल हुन सकिन्छ । कडा बोलीका कारण अप्ठ्यारामा पर्न सक्नुहुन्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
भाइबहिनी वा सन्ततिका तर्फबाट खुशीको खबर प्राप्त हुने छ । आर्थिक रूपमा सबल हुनुहुनेछ, कारोबारमा गतिशीलता आउने छ र व्यवसायबाट पनि राम्रै लाभ हुनेछ । मायाप्रेमका लागि समय जुट्ने छ । विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ । पठनपाठनमा प्रगति हुनेछ, नयाँ ज्ञान प्राप्त हुने योग छ । पछाडि कुरा काट्ने शत्रु आफैं पराजित हुनेछन् । सामाजिक कार्यमा नेतृत्वदायी भूमिका वहन गर्नु पर्नेछ, जसबाट यश, सम्मान र प्रतिष्ठा प्राप्त हुनेछ । सद्भाव र प्रेममा उच्च सफलता प्राप्त हुने योग छ । प्रेमी/प्रेमिकाको मिलन हुनसक्छ । सरकार पक्ष वा सामाजिक कामबाट फाइदा लिन सकिने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
कर्मक्षेत्रमा चन्द्रमा भएपनि समय अनुकूल छैन, तर मिहिनेत र दौडधूप गरेको काममा सफलता प्राप्त भई छाड्ने छ । अचल सम्पत्तिको कारोबार गर्दा सामान्य रूपमा फाइदा लिन सकिने छ । बन्दव्यापारका क्षेत्रमा झिनामसिना समस्या देखिन सक्छन् । घरायसी समस्यामा समय व्यतीत हुनसक्छ । कडा मिहिनेत र परिश्रमका कारण गुमेको प्रतिष्ठा प्राप्ति हुने सम्भावना छ । मनोरञ्जन वा खेलवाडबाट टाढा रहनु पर्छ । सामाजिक कार्यभार बहन गर्नु पर्नेछ । खानपानको समयमा तलबितल पर्नसक्छ । जग्गाजमिनको कारोबारबाट सानोतिनो फाइदा नै हुनेछ । नयाँ कारोबारमा लगानी बढाउन अनुकूल समय छैन ।

(द्रष्टव्य : आज उल्लेख गरिएको राशिफल असल वा खराब जेजस्तो भए पनि तपाईंले आफ्नो कामप्रति निष्ठा जनाउनु पर्दछ, कर्तव्यपालना गर्नु पर्दछ र परोपकारी/सामाजिक भावना राख्नु पर्दछ, यसो गर्नुभएमा अनिष्ट नाश हुन्छ वा न्यूनीकरण हुनेछ र राम्रो राशिफल छ भने अझ धेरै शुभफल प्राप्त हुनेछ ।)

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार