गाेरखा दरबार र हनुमानढाेकाकाे ‘फूलपाती साइनाे’, कसरी चल्याे चलन ?

काठमाडाैँ ।

दशैं अर्थात् नवरात्रकाे साताैँ दिन फूलपाती भित्र्याइन्छ । साताैँ दिनलाइ कालरात्रि पनि भनिन्छ । घटस्थापनादेखि नै दशैँ सुरू भएकाे मानिए तापनि फूलपातीकाे दिनदेखि चाहिँ दशैँकाे खास चटाराे र राैनक सुरू हुन्छ ।

यसै दिन गोरखा दरबारको ‘दशैंघर’बाट फूलपातीसहितकाे डाेली बाेकेर ल्याएर काठमाडाैँकाे बसन्तपुरस्थित ‘दशैँघर’मा भित्र्याइन्छ । बढाइँका साथ साे फूलपाती बसन्तपुरस्थित हनुमानढोकाकाे दशैँघरमा भित्र्याउने चलन उहिलेकै हाे । यसरी गोरखा दरबारदेखि बोकेर ल्याइएको फूलपाती पञ्चाङ्ग निर्णायक समितिले निकालिदिएको साइतमा भित्र्याउने परम्परा रहिआएकाे छ ।

इतिहासविद् तथा संस्कृतिविद्हरूका अनुसार तत्कालीन गाेरखाली राजा पृथ्वीनारायण शाहले अाफ्नाे राज्य विस्तारका क्रममा काठमाडौंमाथि विजय प्राप्त गरेकाे प्रसंगसँग गाेरखाकाे फूलपाती काठमाडाैँ पठाउने चलन जाेडिएकाे छ । पृथ्वीनारायणले काठमाडाैँ उपत्यकामाथि विजय हासिल गरी एकीकृत राज्यकाे राजधानी बसन्तपुर क्षेत्रमा बनाएसँगै गोरखाको फूलपाती वसन्तपुरस्थित हनुमानढोकामा भित्र्याउने चलन चलेकाे बताइन्छ ।

के हाे फूलपाती ?

दशैं अर्थात् नवरात्रकाे पहिलो दिनजस्तै सप्तमी, अष्टमी, नवमी एवं दशमी तिथिको महत्व अधिक रहेको पाइन्छ । सप्तमी तिथिको दिन दशैंको लागि पूजा सामग्रीस्वरूप दशैँघर तथा मन्दिर र घरघरमा समेत फूलपाती भित्र्याउने गरिन्छ कार्य हुन्छ ।

नवरात्रिकाे सप्तमी तिथिमा काठमाडाैँकाे टुँडिखेलमा बढाइँ भएपछि फूलपाती पूजा गरिँदै आएकाे पाइन्छ । वास्तवमा फूलपाती के हाे त ? फूलपातीलाइ नवदुर्गाकाे प्रतीकका रूपमा लिइन्छ । केरा, दारिम, धान, हलेदो, माने, कर्चुर, बेल, अशोक र जयन्ती यी नौ प्रकारका वनस्पतीका पातहरूलाई पूजी प्रत्येकको नौका दरले दुर्गापूजा गरेको स्थानमा फूलपाती भित्र्याइन्छ ।

यिनै नौ प्रकारका वनस्पतिका पातसहित फूलकाे डाेलालाइ नै फूलपाती भन्ने गरिन्छ । यसलाई नवपत्रिका पनि भन्ने गरिन्छ । दशैँघरमा यी नौवटा वनस्पतिलाई नवरात्रको सप्तमीका दिन भित्र्याई नवदुर्गालाई क्रमशः स्नान गराई प्रत्येक पत्रहरूमा विभिन्न देवीहरूको पूजा गरिन्छ । ती नाै प्रकारका वनस्पतिका पातमा क्रमशः ब्रह्माणी, रक्तचण्डिका, लक्ष्मी, दुर्गा, चामुण्डा, कालिका, शिवा, शोकहारिणी र कार्तिकी गरी नवदुर्गा देवीलाई एकएक गरी आह्वान गरेर सोह्र सामग्रीले पुजिन्छ ।

यस तथ्यलाई इन्द्र, शिव, विष्णु एवं श्रीरामले वृतासुर, त्रिपुरासुर, मधुकैटभ तथा रावण वधको लागि क्रमैसँग नवरात्र व्रत गरेकाे रूपमा समेत सम्झने गरिन्छ । यस दिन विशेष गरेर महासरस्वती तथा पुस्तक, कापी, कलम अनि मसीदानी आदिको पनि पूजा गरिन्छ । किसानहरू यस दिन खेतमा गई चन्दन, अक्षता र फूलले धानको पूजा गरी धानका बाला र बोट घरमा भित्र्याउँछन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार