काठमाडौं ।
नेपाली काङ्ग्रेसले आज आईतबार कोजाग्रत पूर्णिमाको अवसर पारेर चियापान समारोह तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । विसं २०३३ मा जननेता बिपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३५ सालदेखि प्रत्येक वर्ष काङ्ग्रेसले कोजाग्रत पूर्णिमाको दिनमा चियापान समारोह गर्दै आएको छ ।
काङ्ग्रेस संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला भारत प्रवासबाट राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि उनलाई विभिन्न पेशा व्यवसायका व्यक्ति र राजनीतिकर्मी, कूटनीतिक निकायका प्रतिनिधि व्यक्ति भेट्न आउँथे तर तत्कालीन शासकका गुप्तचरहरुले भेट्न आउने व्यक्तिलाई चियोचासो र केरकार गर्थे । त्यसपछि दशैँको अवसरमा टीका लगाउने तथा भेट्न सजिलो हुन्छ भनेर बिपीले चियापान समारोह शुरु गरेको काङ्ग्रेसको इतिहासका लेखक पुरुषोत्तम बस्नेतले जानकारी दिए।
भेटघाट र जमघटका लागि अरु बेला कुनै अवसर पनि नहुने भएपछि दशैँको पूर्णिमाको दिन मेलमिलापको अवसर हुन्छ भनेर चियापान शुरु गर्नुभएको र पछि पार्टीले त्यसलाई निरन्तरता दिएको कांग्रेसको इतिहासकार बस्नेतको भनाइ छ । बिपीको निधनपछि पञ्चायत कालको अन्ततिर पनि लेखक, बुद्धिजीवी, पत्रकार, कवि, कूटनीतिक निकायका प्रतिनिधि, राजनीतिज्ञलगायत सबै एकै स्थानमा भेट्नलाई चियापान समारोहलाई अवसरका रुपमा लिइएको थियो । पछि अरु पार्टीले पनि काङ्ग्रेसले शुरु गरेको चियापान समारोहलाई पछ्याउँदै गएको उनले बताए।
चियापान कार्यक्रम अहिलेको राजनीतिक परिस्थितिमा पनि सबै पार्टीका शीर्ष नेता एकै स्थानमा जम्मा हुने तथा भेटघाट गर्ने अवसरका रुपमा स्थापित भएको छ ।