हङकङमा अश्रु ग्यासले हावापानीमा कुनै असर गरेको छैन: स्वास्थ्यमन्त्री चान

-एजेन्सी

हङकङमा पछिल्लो पाँच महिनाको अवधिमा हजारौं सेल अश्रु ग्यास प्रहार गरिएका छन् । सुपुर्दगी विधेयकको विरोधदेखि सुरु भएको हङकङको आन्दोलन दिनप्रतिदिन हिंसात्मक बन्दै गएपछि उक्त स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले पाँच महनाको अवधिमा हजारौं सेल अश्रु ग्यास प्रहार गरिएको जनाइएको छ ।

तर, उक्त अश्रु ग्यासले हङकङको पानी तथा हावाको गुणस्तरमा कुनै असर नपरेको हङकङ सरकारले जनाएको छ । अत्यधिक अश्रु ग्यास प्रहारले हङकङका जनताको स्वास्थ्य अवस्थामा असर परेको भन्दै ध्यानाकर्षण गराइएपछि सरकारले पानी तथा हावामा कुनै असर नपरेको स्पष्ट पारेको हो ।

पछिल्लो पाँच महिनाको अवधिमा प्रहार गरिएको अश्रु ग्यासको रसायनले हङकङको वातावरण दुषित पारेको र जनताको स्वास्थ्यमा नकारात्मक असर पारेको भन्ने चिकित्समकहरुको चेतावनीपछि खाद्य र स्वास्थ्यमन्त्री सोफिया चान सुइ-चीले त्यस्तै कुनै असर नगरेको प्रतिक्रिया दिएकी हुन् ।

प्राध्यापकहरुसमेत मुख्य मेडिकल जर्नलहरुमार्फत प्रशासनलाई दीर्घकालीन वातावरणीय निगरानी र स्वास्थ्य परीक्षणमा लगानी बढाउन आग्रह गरेका छन् । एक रेडियो कार्यक्रममा बोल्दै मन्त्री चानले सहरको पानी तथा हावामा सरकारले त्यस्तै कुनै समस्या फेला नपारेको बताएकी हुन् ।

“वातावरणीय संरक्षण विभागले जारी गरेको वायु गुणस्तर मापन तालिका अनुसार जुनदेखि आजसम्म कुनै फरक छैन,” उनले भनिन्, “त्यस्तै पानी वितरण विभागको तथ्यांकअनुसार पनि कुनै समस्या छैन ।”

चानले अश्रु ग्यासमा प्रयोग गरिएको रसायन केही सीमित दूरीमा रहने बताइन् । हङकङमा विगत पाँचमहिना अघिदेखि विवादित सुपुर्दगी विधेयक फिर्ताको माग गर्दै सुरु भएको आन्दोलन अझै जारी छ । हङकङकी नेतृ क्यारी लामले विवादित विधेयक फिर्ता लिएको घोषणा गरिसकेकी छन् ।तर, उक्त आन्दोलन प्रजातन्त्र र स्वतन्त्रताको माग गर्दै सरकारको विरोधमा केन्द्रित भएको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार