काठमाडौं ।
हिन्दूहरूको दोस्रो चाड तिहार हिजो (शनिबार) बाटै शुरु भइसकेको छ । शनिबार काग तिहारसँगै शुरु भएको तिहार आइतबार कुकुर तिहार र लक्ष्मीपूजा, सोमबार गोबर्धन पूजा र मंगलबार भाइटीका गरेर समापन हुनेछ ।
आज विहान कुकुर पूजा गरेपछि साँझ लक्ष्मीपूजा गरिने भएको छ । तिथिको घटबढका कारण यो वर्ष कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन पर्न गएको हो ।नेपाल पञ्चांग निर्णायक समितिका अनुसार भाइटीकाको उत्तम साइत मंगलबार बिहान ११ः५५ मा उत्तम छ । उत्तम साइत बाहेक पनि दिनभर टीका लगाउन मिल्ने अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिका सभापति डा. माधव भट्टराईले जानकारी दिएका छन् ।
समितिले विभिन्न देशमा रहेका हिन्दूहरूका लागि फरक–फरक साइत निर्धारण गरेको जनाएको छ । तिहारका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुनलगायतले शुभकामना व्यक्त गरेका छन् । वक्तव्य जारी गर्दै उनीहरूले यो पर्वले नेपालीबीच एकता, सद्भाव र भ्रातृत्व अभिवृद्धि हुने विश्वास व्यक्त गरेका छन् ।
आज आइतबार घरघरमा लक्ष्मीपूजा गर्दै धनधान्य र ऐश्वर्यकी देवी लक्ष्मीको पूजाआजा गरिदै छ । कात्तिक कृष्ण चतुर्दशीमा मनाइए पनि आइतवार बिहान चतुर्दशी र मध्यान्नपछि रातभर औंसी तिथि छ । त्यसैले बिहान कुकुरपूजा गरेर साँझ लक्ष्मीपूजा गर्नुपर्नेछ । सोमवार बिहान औंसी तिथि भए पनि बिहानको ९ बजेर ४३ मिनेट गएपछि प्रतिपदा तिथि लाग्नेछ ।
कात्तिक कृष्ण औंसीका दिन धन सम्पत्तिले भरिपूर्ण होस् भन्ने कामनासहित धनधान्यकी देवी लक्ष्मीको पूजा÷आराधना गर्ने चलन रहेको छ । कात्तिक कृष्ण औंसीको रातलाई अत्यन्त अध्यारो रातको रुपमा लिइन्छ । कतिपयले यो रातलाई चुक घोप्ट्याएको जस्तै अध्यारो रात भनेर पनि अथ्र्याउँछन् ।
यस्ता अध्यारो रातलाई प्रकाशले आलोकित पार्न आज घरघरमा झिलिमिली बत्ति बालेर लक्ष्मी भित्र्याइन्छ ।