यम पञ्चकको पाँचौं दिन भाइटीका,कसरी गर्ने पूजा ?

यम पञ्चकको पाँचौं दिन देश तथा विदेशमा भाइटीका मनाउने गरिन्छ । दिदीबहिनीले दाजुभाइको दीर्घायुको कामना गर्दै मनाइने यो पर्वको अन्तिम दिन अर्थात् कात्तिक शुक्ल द्वितीयाको दिन यो पर्व मनाउने गरिन्छ ।यो दिनको महत्वलाई बुझाउन विभिन्न किसिमका पौराणिक किंवदन्ती एवं ऐतिहासिक कथाहरु सुन्ने गरिएको छ । एउटा पौराणिक कथा अनुसार परापूर्व कालमा कात्तिक शुक्ल द्वितीयाको दिन मनाइने भाइटीकाले सूर्य पुत्री यमुनाले आफ्ना दाजु यमराजलाई टीका लगाएको कथा चर्चित छ ।

यस दिन यमुनाले यमलाई टीका लगाएपछि यमराजले बहिनी यमुनाको इच्छा अनुसार यस दिन दिदीबहिनीको हातबाट टीका लगाउनेहरुलाई तेलको धारो नसुकेसम्म र मखमली फूल नओइलिएसम्म मृत्युवरण गर्नु नपर्ने आशीर्वाद दिएका थिए । सोही समयदेखि यो पर्व मनाउन थालियो । यस्तै किंवदन्तीहरुका अनुसार कात्तिक शुक्ल दि्वतीया विशेष कारणले महत्वपूर्ण छ ।

अर्काेतर्फ, किराँत राजा बलिहाङको प्रसंग पनि चर्चित छ । एकदिन बलिहाङ रोगले थलिएर मृत्युको मुखमा पुगेका थिए । उनको मिति पुगेपछि यमराज उनलाई दिन मत्र्यलोक आए । सोही समयमा उनकी दिदी यमुना पनि आफ्नो भाइलाई तिहारको टीका लगाउनको लागि उनको घरमा पुग्छिन् । राजा बलीलाई लिन आएका यमराजसँग दिदी यमुनाले भाइको आयु थपिदिन आग्रह गरिन् । सोही क्रममा उनले यमराजलाई बलीसँगै टीका लगाउन अनुरोध गरिन् । यमराजले यमुनासँग टीका लगाइसकेपछि दक्षिणा स्वरुप एउटा वर माग्न भने ।

सोही क्रममा यमुनाले यमराजसँग कुनैपनि भाइले कात्तिक शुक्ल द्वितीयाको दिन दिदीबहिनीको हातबाट टीका लगाएका छन् । उनीहरुलाई दिदीले लगाएको मखमलीको माला नसुकेसम्म र तेलको धारो नसुकेसम्म कुनैपनि भाइले मर्न नपरोस् भन्ने वर मागिन् । यमराजले पनि तेलको धारा नसुकुन्जेलसम्म बलिहाङलाई नलैजान सहमत भएर उनी फर्किए । महिना बित्यो, वर्ष बित्यो । न त कहिलै तेलको धारा सुक्यो न त मखमली नै । यसरी दिदीबहिनीको दाजुभाइप्रतिको प्रेमबाट यमराजसमेत आजित भएको किंवदन्ती छ । सोही सम्झनामा यो पर्व मनाउन थालिएको हो ।

त्यसैले द्वितीयाको दिन दाजुभाइ र दिदी बहिनीबीचको प्रेम र आपसी सद्भावको पर्व मानिन्छ । यो दिन दिदीबहिनीले दाजुभाइलाई आफ्नो घरमा बोलाएर आफ्नै हातबाट बनेको स्वादिष्ट भोजन गराउने गर्छन् । भोजनपछि आफ्नो दाजु या भाइहरुलाई निधारमा सप्तरंगी टीका लगाउने गरिन्छ । यही दिन आफ्नो घरको मूलद्वारमा ओखर फुटाउने चलन समेत छ । आफ्ना भाइहरुको सबै पीडाहरु ओखरसँगै फुटेर जान्छ भन्ने मान्यताको प्रतीक हो ।

यो दिन टीकाटालो सकेर दाजुभाइहरुले पनि दिदीबहिनीहरुलाई टीका लगाइदिने गरिन्छ । टीकापछि दिदीले भाइलाई पान उपहार स्वरुप दिने मान्यता पनि कताकतै पाइन्छ । यसका साथै विभिन्न भाइमसला र अरु उपहार पनि दिने चलन छ । मान्यता यो पनि छ कि पानलाई उपहारको रुपमा दिँदा बहिनीको सौभाग्य अखण्ड हुन्छ भन्ने मान्यता छ ।शास्त्रानुसार आजको दिनमा जुन भाइले आफ्नो घरमा भोजन गर्छ उसलाई दोष लाग्ने समेत मान्यता छ । यदि बहिनीको घर जान असम्भव भएको खण्डमा कुनैपनि नदीको तटमा या गाइलाई नै आफ्नो बहिनी मानेर उसको समीप गएर भोजन गर्नुपर्छ भन्ने समेत मान्यता छ ।

भाइटीकाको विधि
टीकाको दिन बिहानै नुहाएर अष्टचिरञ्जीवीको पूजा गर्नुपर्छ । अश्वस्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य, मार्कण्डेय, पर्शुराम अष्ट चिरञ्जीवी भित्र पर्छन् । भाइटीका गर्न ओखर, तोरीको तेल, बिमिरा, मसला, मखमली, दूबो तथा सय पत्रीको माला, रोटी, मिठो-मिठो परिकारको आवश्यकता पर्छ । सबैभन्दा पहिले दियो, कलश तथा गणेशको पूजा गरी बिमिराको पूजा गर्नुपर्छ ।

त्यसपछि दाजुभाइको मंगलको कामना गर्दै ढोकामा ओखरको तथा यमराजको पूजा गरी कालको बाटो छेक्नुपर्छ । पानी तथा तेलले ७ घेरा हाली दाजुभाइलाई छेक्नुपर्छ । फूल, अक्षता, चन्दन तथा लाभाले पूजा गरी दाजुभाइको शिरमा तेल लगाइदिनुपर्छ ।सगुनका रूपमा दही दिनुपर्छ । भाइटीकाका दिनमा दाजुभाइलाई लगाइदिने मखमली, सयपत्री तथा दूबोको मालाको छुट्टै महत्व छ । मखमली कहिल्यै ओइलाउँदैन, सयपत्रीको रंग कहिल्यै उडेर जाँदैन भने दूबो सधै हरियै रहन्छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार