काठमाडौं ।
श्रीलंकासँगको तीन खेलको टी-२० क्रिकेट सिरिज एक खेल अघि नै घरेलु टोली अष्ट्रेलियाले जितेको छ ।आज (बुधबार) भएको खेलमा श्रीलंकालाई ९ विकेटले पराजित गर्दै अष्ट्रेलियाले एक खेल अघि नै सिरिज जितेको हो । ११८ रनको सामान्य चुनौती पछ्याउँदै ब्याटिङ गरेको अष्ट्रेलियाले १३ ओभरमा नै एक विकेटको क्षतिमा लक्ष्य भेटायो ।
अष्ट्रेलियाको एक रन हुदा पहिलो विकेटको रुपमा कप्तान आरोन फिन्च शून्य रनमा आउट भए । तर तेस्रो नम्बरमा आएका स्टेफन स्मिथ र डेभिड वार्नरले ११७ रनको साझेदारी गर्दै जित दिलाएका हुन् ।वार्नरले ४१ बलमा अविजित ६० रन बनाउँदा स्मिथले ३६ बलमा अविजित ५३ रन बनाए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले १९ ओभरमा सबै विकेटको क्षतिमा ११७ रन बनाएको थियो । श्रीलंकाका लागि कुशल परेराले २७ र दनुश्का गुनथिलकाले २१ रन बनाए ।
अष्ट्रेलियाका लागि बलिङतर्फ एडम जाम्पा, पट कुम्मिन्स, एस्टोन एगर र विली स्टानलेकले समान २-२ विकेट लिए ।