उमेदवारको खर्च सीमा तोक्यो निर्वाचन आयोगले!

काठमाडौं।

निर्वाचन आयोगले उपनिर्वाचनका लागि उमेदवारको खर्च सीमा तोकेको छ । जसअनुसार प्रतिनिधि सभा सदस्य उम्मेदवारले २५ लाख रुपैयाँसम्म खर्च गर्न पाउने छन् भने प्रदेश सभा उमेदवारले १५ लाख रुपैयाँसम्म खर्च गर्न पाउनेछन् ।

आयोगका अनुसार उपमहानगरपालिका प्रमुखले ५ लाख ५० हजारसम्म, वडा अध्यक्षका लागि २ लाख ५० हजार, नगरपालिकाका वडा अध्यक्षका लागि २ लाख र गाउँपालिका अध्यक्ष र उपाध्यक्षका उम्मेदवारले ३ लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न पाउने छन् ।त्यस्तै प्रतिनिधि सभा, प्रदेश सभाका उम्मेदवारले १६ दिन र स्थानीय तहका उम्मेदवारले १० दिन भित्र प्रचारप्रसार गरिसक्नुपर्ने समयसीमा निर्धारण गरिएको छ ।बिहीबार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारी दर्ताको कार्यक्रम तय गरिएको छ । आगामी मंसिर १४ गते ५२ पदका लागि उपनिर्वाचन हुँदैछ ।भोलि कास्की २ प्रतिनिधसभा र भक्तपुर प्रदेशसभा १ को (क), बाग्लुङ प्रदेशसभा २ को (ख) र दाङ प्रदेशसभा ३ को (ख) मा उमेदवारी दर्ता हुँदैछ ।

कहाँ-कहाँ हुँदैछ उपनिर्वाचन ?

१प्रतिनिधिसभा सदस्य, ३ प्रदेशसभा सदस्य, १ उपमहानगरपालिका प्रमुख, ३ गाउँपालिका अध्यक्ष, १ उपाध्यक्ष र अरु वडा अध्यक्षका लागि उपनिर्वाचन हुनेछ । पर्यटनमन्त्री समेत रहेका कास्की-२ का सांसद रवीन्द्र अधिकारीको ताप्लेजुङको पाथिभरामा हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको थियो । अधिकारीको निधनसँगै सो क्षेत्र रिक्त छ ।

त्यस्तै, ३ वटा प्रदेशसभा सांसदहरुको पनि निधन भएपछि स्थान रिक्त छ । भक्तपुर प्रदेशसभा १ को (क) का सांसद हरिशरण लामिछानेको ०७५ वैशाख ३ गते निधन भएको थियो । त्यस्तै, बाग्लुङ प्रदेशसभा २ को (ख) का सांसद टेकबहादुर घर्तीमगर र दाङ प्रदेशसभा ३ को (ख) का सांसद उत्तर कुमार ओलीको पनि निधन भएपछि सो क्षेत्र रिक्त छ ।

त्यस्तै, स्थानीय तहतर्फ धरान उपमहानगरपालिका प्रमुख तारा सुब्बा, पाँचथर फाल्गुनन्द गाउँपालिका अध्यक्ष अमरकुमार नेम्वाङ र महोत्तरी पिपरा गाउँपालिका अध्यक्ष विनोद चौधरीको निधन भएको छ । हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्ष सिन्धु हमाल शाही, संखुवासभाको मकालु गाउँपालिका अध्यक्ष खड्गबहादुर कटुवालको निधन भएपछि सो स्थानमा उपनिर्वाचन हुँदैछ ।

त्यस्तै, संखुवासभा खाँदवारी नगरपालिका ३ नम्बर वडा अध्यक्ष तोयानाथ ढुंगाना चेलिबेटी बेचविखनको मुद्दामा जेल परेका थिए । सोही क्रममा उनको ०७४ फागुनमा मृत्यु भएको थियो । महोत्तरी मटिहानी नगरपालिका वडा ६ का अध्यक्ष संजयकुमार मण्डलले ०७४ माघमा राजीनामा दिएका थिए । ६ जना वडा अध्यक्ष जिल्ला समन्वय समितिमा निर्वाचित भएका कारण ती वडा रिक्त छन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार