बैतडी । यही कात्तिक ४ गते बैतडीको दशरथचन्द नगरपालिका–९, ग्वाल्लेकमा डोजरले महिला हुत्याएपछि गठन भएको छानबिन समितिले प्रतिवेदन बुझाउन ढिलाइ गरेको छ ।
छानबिन समितिको थपिएको म्याद सकिएको पनि एक हप्ता बितिसक्दासमेत जिल्ला प्रशासन कार्यालयले गठन गरेको समितिले अझै प्रतिवेदन बुझाउन सकेको छैन ।
कात्तिक ५ गते २४ घन्टाको समयसीमा राखेर सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीको संयोजकत्व पाँच सदस्यीय छानबिन समिति गठन भएको थियो ।उक्त समयसीमाभित्र छानबिन समितिले प्रतिवेदन बुझाउन नसकेपछि थप पाँच दिनको म्याद थपिएको थियो । तिहारको बिदापछि पाँच दिनको म्याद राखिएको थियो ।
तर, उक्त समयसीमामा पनि छानबिन समितिले प्रतिवेदन नबुझाउँदा नागरिकले आशंका गर्न थालेका छन् । यसअघि, केही दिनअगाडि नेपाली कांग्रेसको केन्द्रीय छानबिन समितिले सत्ता र शक्तिका आडमा घटना भएको निष्कर्षसमेत निकालेको थियो ।
सडक निर्माण गर्दा दुई पक्षबीच झडप भएको थियो । झडपकैक्रममा डोजरचालकले एक महिलालाई हुत्याइएको थियो । छानबिन समितिले गहनरूपमा सबै कुरा समेट्नुपर्ने भएकाले प्रतिवेदन बुझाउन ढिलाइ भएको जनाएको छ ।
समितिका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले प्रतिवेदनको ९० प्रतिशत काम सम्पन्न भएकाले केही दिनभित्रै प्रतिवेदन बुझाउने तयारी रहेको बताए । समितिले स्थलगतरूपमा दुवै पक्षसँग छलफल गरेको, वस्तुगत अवस्था नगरपालिकासँग बुझेको छ ।
उनले भने–‘पीडितपक्षले आफ्नो जग्गामा सडक खन्न नदिने भनी उच्च अदालतमा मुद्दा हालेकाले प्रतिवेदन बुझाउन ढिलाइ भएको छ । त्यसको पनि समस्या समाधानतर्फ छ ।’
‘स्वास्थ्यमा बेलाबेलामा समस्या’
प्रमुख जिल्ला अधिकारी बिदामा रहेकाले उनी आउनेबित्तिकै प्रतिवेदन बुझाउने छानबिन समितिको तयारी छ । छानबिन समितिले जिल्ला प्रशासनलाई प्रतिवेदन बुझाउने अनि प्रशासनले प्रदेश सरकार, गृह मन्त्रालय, प्रधानमन्त्री कार्यालयलाई पठाउने जनाइएको छ ।
दशरथचन्द नगरपालिका–९ को सुन्नाखानदेखि पार्ससम्म जोड्ने सडक निर्माणका विषयमा दुई पक्षबीच विवाद हुँदा डोजरले एक महिलालाई हुत्याएपछि घटनाले ठूलो रूप लिएको थियो ।
डोजरले हुत्याउँदा स्थानीय गौरी जोशी घाइते भएकी थिइन् । गौरी कोहलपुर र भारतमा उपचारपछि घर फर्किसकेकी छन् । तर, अझैपनि गौरीको स्वास्थ्यमा बेलाबेलामा समस्या देखापर्ने गरेको परिवारले जनाएको छ ।
महिला हुत्याउने डोजरचालक किशोर बोहरा, डोजरचालकलाई उक्साएको आरोपमा डोजरमालिक भानीदत्त जोशी, भोजराज जोशी र धर्मानन्द जोशीविरुद्ध ज्यानमार्ने उद्योगमा मुद्दा दर्ता भइ अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए ।
यसका साथै सडक रोक्नुपर्छ भन्ने पक्षका दुर्गादत्त जोशीविरुद्ध सडक निर्माण गर्ने पक्षले किटानी जाहेरी दिएपछि सार्वजनिक शान्तिविरुद्धको कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको छ । रासस