-रासस
कैलालीको धनगढी विमानस्थलमा मङ्सिर महिनाभरी आंशिक रुपमा उडान बन्द हुने भएको छ।धावनमार्गको मर्मतसम्भार र स्तरवृद्धिको काम बाँकी रहेकाले सो कामलाई निरन्तरता दिन आज (आइतबार)बाट दिउँसो ३ देखि बेलुकी ७ बजेसम्म एक महिनाका लागि उडान आंशिकरुपमा बन्द हुने धनगढी विमानस्थलका प्रमुख तेजबहादुर बुढथापाले जानकारी दिए।
गत जेठमा एक हजार ८०० मिटरमध्ये ४२० मिटर धावनमार्गमा कालोपत्र र पार्किङ क्षेत्रको काम बाँकी रहेकाले विमानस्थलको स्तेरोन्नतिका लागि आंशिक उडान मात्रै गरिने विमानस्थल प्रमुख बुढथापाले बताए। विमानस्थल बन्द हुने भएपछि धनगढीबाट काठमाडौँका लागि हुने दैनिक उडान प्रभावित हुने भएका छन्।
विमानस्थल कार्यालयले दिउँसो ३ देखि बेलुकी ७ बजेसम्म हुने उडानहरु अन्य समयमा गर्न विमान कम्पनीलाई आग्रह गरेको बताइएको छ। त्रिभुवन विमानस्थलपछिको सबैभन्दा ठूलो धावनमार्ग रहेको धनगढी विमानस्थलमा धावनमार्ग र पार्किङ क्षेत्र विस्तारका लागि एक वर्षको अवधि तोकेर ठेक्का सम्झौता भएको बताइएको छ।