लिस्बन।
नेपाली महिला समाज पोर्चुगलले धादिङको एक बिपन्न परिवारलाई आर्थिक सहयोग गरेको छ। समाजले गत तिहारमा पोर्चुगलको राजधानी लिस्बनमा खेलेको देउसी भैलोबाट उठेको रकम ५६ हजार एकसय चौरहत्तर रुपैयाँ आर्थिक सहयोग गरेको हो।
समाजले गत तिहारमा देउसी खेलेर जम्मा भएको रकम सामाजिक कार्यमा खर्च गर्ने भनेर कोषमा जम्मा गरेको थियो। धादिङ जिल्ला निलकण्ठ नगरपालिका वडा नं. १२ बस्ने लक्ष्मी थापामगरको परिवार बिगत केही महिना देखी अत्यन्त पिंडादायी र दर्दनाक अवस्था बाट गुज्रिरहेको खबर सुनेपछि समाजले सो रकम थापामगरको परिवारलाई सहयोग गर्ने निर्णय गरेको हो।
३३ बर्षिय लक्ष्मी थापामगर प्यारालाइसिस भएर तीन बर्षदेखि मुडो सरह ओछ्यानमा लडेकी छन्, उनका १४ बर्ष मुनिका तीन जना बालबच्चा छन् ।गरिबीले गर्दा श्रीमतीको उपचार गराउन नसक्दा परिवारका एकमात्र भरोसा बाउ डिप्रेसनको बिमारी थिए, केहीदिन अघि आत्माहत्या गरे । ११ बर्षिय छोरा काजीराम थापामगर बाउको क्रिया बसेका छन् । घरकी सानिछोरी सोमकुमारी थापामगरलाइ अनौठो रोग लागेको छ, शरीरभरि कालो धब्बा र रौं ले ढाकेको छ । १३ बर्षिय जेठी छोरी करिना थापामगरले घर धानेकी छन् ।
लक्ष्मीको बस्ने घर छैन, रात काट्ने एउटा छाप्रो छ । खाना खाने सरसामान छैन, सुत्ने ओछ्यान छैन, पीडा कति हो कति ! पिडामा भएको लक्ष्मीको यही परिवारको पिडामा केही सहयोग पुगोस् भनेर पवित्र भावनाकासाथ महिला समाज पोर्चुगलले आर्थिक सहयोग गरेको समाजसमाजकी महासचिव सरिता शर्माले भोइस अफ नेपाललाई बताइन् ।