चितवन।
प्रत्येक वर्ष मार्ग शीर्षकृष्ण त्रयोदशीका दिन बेलुकी दिवङ्गत पितृका नाममा दीपदान र चतुर्दशीका दिन बिहान शतबिज छरी मनाइने बालाचतुर्दशी पर्व आइतबारदेखि मनाइएको छ ।
पवित्र तीर्थस्थल देवघाटलगायत देशभरका शिवमन्दिरमा बालाचतुर्दशीको अघिल्लो रात दिवङ्गत पितृका नाममा दीपदान गर्न लाखौँ भक्तजन आउँछन् । यस दिन दीपदान गरी बालाचतुर्दशीको बिहानै पितृको सम्झनामा शतबिज छरी बालाचतुर्दशी पर्व मनाइन्छ ।
प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बालाचतुर्दशी पर्व मनाउन देशका विभिन्न जिल्ला र स्थानबाट भक्तजनहरु देवघाट क्षेत्रमा बास बस्ने गरी आउने गरेका छन्।यसरी आएका श्रद्धालु भक्तजनहरुको आइतबार बिहानैदेखि देवघाटमा भीड लागेको थियो । देवघाटमा एक रात बसेर बत्ती बाल्न र बास बस्ने ठाउँ रोज्न बिहानैदेखि देशका विभिन्न जिल्ला र स्थानबाट आएका भक्तजनहरुको देवघाटमा भीड लागेको थियो । आफ्नो परिवारभित्रका दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै १०८ शिवलिङ्ग, वेणी संगमस्थल जस्ता ठाउँमा शतबीज छर्ने गरिन्छ ।
बालाचतुर्दशीको पूर्वसन्ध्या मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन राति भक्तजनले देवघाट वरपर बसी दिवङ्गत आत्माका नाममा महादीप बाली भजन कीर्तन र लोक झाँकी प्रस्तुत गरी रात बिताउँछन् । सदविजमा धान, जौ, तिल, गहुँ, चना, मकै, हलेदो, सक्खर खण्ड, कागुनो लगायत छर्दै ठूलो स्वरले दिवङ्गत आत्माले पाउने गरी सन्देश पुर्याउने गरी यो चीजबीज छर्ने परम्परा रहेको छ ।
आजका दिन देवघाटधामको त्रिशुली र कालीगण्डकीको संगम वेणिमा सदविज छर्नाले दिवङ्गत आत्माले शिवलोकमा बास पाउने शास्त्रीय मान्यता रहेको देवघाट क्षेत्र विकास समितका अध्यक्ष शिवराज पौडेलले जानकारी दिनुभयो ।
देवघाटमा पितृको नाममा रातभर बत्ती बालेर जागराम बस्नुका साथै बिहान गंगा स्नान गरेर सदविज छरेपछि पितृको उद्धार हुन्छ भन्ने धार्मिक विश्वास रहेको छ ।गत बर्षको तुलनामा यस बर्ष सतविज छर्न देवघाट आउने भक्तजनहरुको सङख्यामा उल्लेख्य बृद्धी भएको उहाले बताउनुभयो । चितवन, तनहुँ, नवलपरासी लगाएत देशका विभिन्न जिल्लाबाट भक्तजनहरु देवघाटमा स्नानका लागि आउने गरेका छन् ।
देवघाट क्षेत्र विकास समितिले सतविज छर्न आउने भक्तजनहरुलाई मध्यनजर गर्दै खानेपानी, बत्ती, प्राथमिक स्वास्थ्य, सुरक्षा लगाएतको प्रबन्ध समेत गरेको जनाएको छ ।