पुलिस रिपोर्ट अब अनलाइनबाटै निकाल्नुहोस् , घण्टौं लाइन बस्नुपर्ने झन्झटबाट मुक्ति !

काठमाडौं । पुलिस रिपोर्ट लिनका लागि घण्टौं लाइन बस्नुपर्ने बाध्यताको नेपाल प्रहरीले अन्त्य गरेको छ । अब घरबाटै अनलाइन फाराम भरेर सेवाग्राहीले पुलिस रिपोर्ट बनाउन सक्नेछन् ।

नेपाल प्रहरीले आफ्नो स्थापना दिवसको अवसर पारेर गत असोजबाटै यस्तो व्यवस्थाको सुरुवात गरेको भए पनि गत आइतबारबाट भने सेवाग्राहीको सुविधालाई ध्यान दिँदै पूर्ण रूपमा यस्तो व्यवस्था लागू गरिएको हो ।

नेपाल प्रहरीका डीआईजी एवं केन्द्रीय प्रवक्ता विश्वराज पोखरेलले पुलिस रिपोर्टका लागि धेरै दिन लगाएर सेवाग्राही प्रहरी कार्यालय धाउनुपर्ने अवस्थाको अन्त्य गरिएको बताए ।

‘पुलिस रिपोर्टका लागि सेवाग्राहीले धेरै दिन समय खर्चेर धाउनुपर्ने अवस्थाको अन्त्य भएको छ । अब पूर्ण रूपमा नै अनलाइन सिस्टमबाट नै सेवाग्राहीले रिपोर्ट बनाउन सक्नेछन्,’ नेपाल प्रहरीका प्रवक्ता पोखरेलले राजधानीसँग भने ।

उनले दैनिक १ हजारको संख्यामा सेवाग्राहीले अनलाइन प्रणालीबाट पुलिस रिपोर्टका लागि आवेदन दिने गरेको समेत जानकारी दिए । सो संख्या दिन प्रतिदिन बढ्ने क्रममा रहेको छ । यो प्रणाली सुरु भएसँगै लाइन लगाएर पुलिस रिपोर्ट दिनसमेत अन्त्य गरिएको छ ।

पुलिस रिपोर्ट आवश्यक पर्ने व्यक्तिले अब नेपाल प्रहरीको वेबसाइटमा गएर फर्म भर्नुपर्ने हुन्छ । वेबसाइट खोलेपछि दायाँतर्फ पुलिस क्लिरेन्स रजिस्ट्रेसन सिस्टम अनलाइन अप्लाइमा क्लिक गर्नुपर्ने हुन्छ । त्यसपछि माग भएबमोजिम सेवाग्राहीले विभिन्न चरणमा गरेर विवरण भर्नुपर्ने हुन्छ ।

चारित्रिक प्रमाणपत्रको अनलाईन मार्फत दरखास्त दिनको लागि यो लिंकमा क्लिक गर्नुहोस् !

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार