पोखरा : नेपाल पत्रकार महासंघले नेपाल पत्रकार महासंघ कास्की शाखाका सदस्य तथा न्यूज २४ टेलिभिजनका पोखरा संवाददाता राजेन्द्र अधिकारीलाई प्रहरीले यातना दिएको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
महासंघका महासचिव रमेश विष्टले शनिबार जारी गरेको विज्ञप्तिमा समाचार लेखेकै विषयमा यातना दिने कार्य संविधान विपरीत हुने ठहर पनि महासंघको भएको उल्लेख छ।
‘समाचार लेखेको विषयमा कास्कीका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले मानसिक तथा शारीरिक यातना दिने अभिप्रायले सादा पोसाकका प्रहरी खटाइ पत्रकार अधिकारीमाथि निगरानी गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण छ’, विष्टले भनेका छन्, ‘समाचारप्रति गुनासो एवं चित्त नबुझे त्यसको कानुनी उपचार खोज्ने वैधानिक विधि र स्थापित पद्धति हुँदाहुँदै प्रहरीको जिम्मेवार अधिकारीबाट कुनै पनि बहानामा पत्रकारलाई मानसिक तथा शारीरिक यातना दिने र विस्थापित हुन बाध्य पार्नु आफैंमा निन्दनीय हुनुका साथै संविधानविपरीतको कार्य हुने महासंघको ठहर छ।’
प्रहरीले चलाएको जुवा अप्रेसन’ का विषय न्यूज २४ टेलिभिजनमा समाचार प्रसारण गरेको भन्दै आफूलाई प्रहरी प्रमुख एसपी कार्कीले मानसिक यातना दिई पोखराबाट विस्थापित हुन बाध्य पारेको पत्रकार अधिकारीले बताएका छन्। महासंघले प्रहरीबाट यातनाको भत्र्सना गर्दै प्रेस स्वतन्त्रताको सम्मान गरी पत्रकारलाई स्वतन्त्र, निर्वाध र सुरक्षितरुपमा काम गर्ने वातावरण निमार्ण गर्न सम्बन्धित निकायसँग माग गरेको छ।