मोदी र पुटिनलाई नेपाल भ्रमण गराउने सरकारको तयारी

काठमाडौं ।

सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाउने तयारी गरेको सरकारले आफ्नो लक्ष्य पूरा गर्न विभिन्न देशका राष्ट्र तथा सरकार प्रमुखलाई नेपाल ल्याउने तयारी गरेको छ । २३ वर्षपछि गत असोजमा चिनियाँ राष्ट्रपति शी जिनपिङलाई नेपाल भ्रमण गराउन सफल केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले शीको भ्रमणपछि लगत्तै बंगलादेशका अब्दुल हमितलाई नेपाल ल्याउन सफल भयो ।

शीलाई नेपाल भ्रमण गराएर विश्वमञ्चमा ध्यानाकर्षण गराएको नेपालले सन् २०२० नेपाल भ्रमण वर्षमा पनि शक्तिशाली देशका राष्ट्र तथा सरकार प्रमुखलाई नेपाल ल्याउने तयारी छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित विभिन्न राष्ट्र तथा सरकार प्रमुखलाई नेपाल भ्रमण गराउने तयारी नेपाल सरकारले गरेको छ ।

केही समय अघि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले रुस भ्रमणका क्रममा पुटिनलाई राष्ट्रपति विद्यादेवी भण्डारीको तर्फबाट नेपाल भ्रमणको निम्तो दिएका थिए । पर्यटनमन्त्री योगेश भट्टराईले समेत सार्वजनिक कार्यक्रममा रुसी राष्ट्रपति पुटिन नेपाल भ्रमणमा आउने बताएका थिए ।

परराष्ट्रमन्त्रालयले नेपाल भ्रमण वर्षकै मेसोमा आगामी अप्रिलमा गर्न लागेको सगरमाथा संवादमा रुसका राष्ट्रपतिदेखि क्यानडाका प्रधानमन्त्री र भारतका प्रधानमन्त्रीलाई सहभागी गराउने तयारी गरेको छ । यस सम्मेलनमा विभिन्न १५ देशका प्रमुख र ४० देशका उच्चस्तरीय राजनीतिक अधिकारीलाई निमन्त्रणा दिएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार