काठमाडौँ– १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मंगलबारदेखि सकिएको छ।
१० दिनअघि मंसिर १५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले औपचारिक रुपमा उद्घाटन गरेको सागको यतिबेला त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा समापन समारोह भइरहेको छ।सहभागी देशका खेलाडीहरु आ–आफ्नो देशको झण्डा बोकेर मार्चपासमा सहभागि भएका थिए।
मार्चपासमा नेपालकाे तर्फबाट नेपाली पौडीबाज गौरिका सिंहले नेपालको झण्डा बोकिन्। उद्घाटन समारोहमा ओलम्पियन कमल अधिकारीले नेपालको झण्डा बोकेका थिए।
एकै सागमा ४ स्वर्णपदक जितेसँगै गौरिकाको चर्चा चुलिएको छ। उनी २०० मिटर फ्रिस्टाइल, २०० मिटर व्याकस्ट्रोक, ४०० मिटर फ्रिस्टाइल र १०० मिटर फ्रिस्टाइलमा गरी चार स्वर्ण जित्न सफल भएकी थिइन्।
एकै सागमा ४ स्वर्ण जित्ने गौरिका एकमात्र नेपाली खेलाडी हुन्। उनले तेक्वान्दो खेलाडी दीपक विष्टले सागमा जितेको ४ स्वर्णको कीर्तिमानसमेत बराबरी गरेकी छन्।विष्टले लगातार ४ सागमा तेक्वान्दोमा स्वर्ण जितेर कीर्तिमान बनाएका थिए।