निर्मला हत्या प्रकरण : हत्याराको नजिक पुगेको प्रहरीको दाबी !

काठमाडौं ।

बलात्कारपछि हत्या भएको १५ महिनापछि निर्मला हत्या प्रकरणको अनुसन्धानपछि अभियुक्तको नजिक पुगेको प्रहरीले दाबी गरेको छ ।प्रहरी उच्च स्रोतका अनुसार अनुसन्धान जारी छ तर पनि अभियुक्तको नजिक प्रहरी पुगिसकेको छ ।

अघिल्लो वर्षको साउन १० गते साथीको घर जान निस्किएकी निर्मला साउन ११ गते घरभन्दा केही वरको उखुबारीमा मृत अवस्थामा भेटिएकी थिइन् । तत्कालीन समयमा प्रहरीले अनुसन्धानमा लापरबाही गरेको भन्दै व्यापक विरोध भएको थियो ।
प्रहरीले गत भदौ ४ गते घटनामा संग्लन रहेको आरोपमा मुख्य अभियुक्त भन्दै भीमदत्तनगर–१९ बाँगफाँटाका दिलिपसिँह विष्टलाई सार्वजनिक गरेको थियो ।

तर निर्मलाको शरीरबाट निकालिएको स्वावसँग दिलिपको डीएनए म्याच नभएपछि उनी साधारण तारेखमा छुटेका थिए ।

दिलिपलाई अभियुक्तको रुपमा सार्वजनिक गरेपछि प्रहरीले दोषीलाई बचाउन खोजेको भन्दै आन्दोलन चर्किएको थियो ।

आन्दोलनकै क्रममा प्रहरीको गोली लागेर स्थानीय शनि खुनाको ज्यान गएको थियो । निर्मला हत्याकाण्डको अनुसन्धानमा लापरबाही गरिएको भन्दै तत्कालीन कञ्चनपुर प्रहरीका प्रमुख र वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षकलाई बर्खास्तमा परेका थिए ।

आठजना प्रहरी अझै निलम्बनमा छन् । सरकारद्वारा गठित समितिले दिलिपसिँह विष्टलाई नक्कली अभियुक्त बनाइएको भन्दै प्रहरी अधिकारीलाई कारवाहीको सिफारिस गरेको थियो ।

यसबीचमा प्रहरी एकसय बढी व्यक्तिको डीएनए परीक्षणसमेत गरेको थियो । तर कसैको पनि डीएनए म्याच भएको थिएन ।

बर्खास्त र निलम्बनमा परेका प्रहरी अधिकारीले डीएनएको नमुना संकलन र परीक्षणमाथि प्रश्न उठाउँदै आएका थिए । अन्तमा गृह मन्त्रालयले राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका पूर्वप्रमुख डीएनए विशेषज्ञ जीवन रिजाल नेतृत्वको छानबिन समितिले गठन गरेको थियो ।

सो समितिले नमुना परीक्षणमै त्रुटि भएको निष्कर्ष निकालेपछि प्रहरीलाई अनुसन्धानका लागि सहज भएको हो । प्रहरीले डीएनएमै भर पर्नुपर्ने अवस्था नभएपछि अभियुक्तको पहिचान छिट्टै लाग्ने प्रहरी अधिकारीले बताउँदै आएका थिए ।

रिजाल नेतृत्वको विज्ञ समूहले डीएनएबाट दोषी पत्ता नलाग्ने निष्कर्ष निकालेको छ । प्रतिवेदन गृहमन्त्रालयमा बुझाइसकिएको छ । प्रतिवेदन सार्वजनिक भने गरिएको छैन ।

सयौं व्यक्तिको डीएनए परीक्षणबाट समेत अभियुक्तको पहिचान हुन नसकेपछि गृहले विज्ञ समिति गठन गरेको थियो ।

एक अधिकारीका अअनुसार विज्ञ समूहको प्रतिवेदन पनि महत्वपूर्ण आधार हो । यसबाट अनुसन्धान सहज भएको छ । अब अभियुक्तको डीएनए म्याच नभए पनि हत्या अभियोगमासमेत अनुसन्धान गर्न सकिनेछ ।

गृहले गत महिना रिजालको संयोजकत्वमा राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका डीएनएविद् दिनेश झा र त्रिवि शिक्षण अस्पताल महाराजगन्जका डा. तुलसी कँडेल सदस्य रहेको डीएनए परीक्षणसम्बन्धी विज्ञ समिति गठन गरेको थियो ।

प्रतिवेदनमा नमुना संकलनदेखि परीक्षणसम्म त्रुटि भएकाले डीएनएबाट अनुसन्धान सफल हुने सम्भावना नरहेको निष्कर्ष निकालिएको बताइएको छ । विज्ञ समूहले निर्मलाको शव पोस्टमार्टम तथा नमुना संकलनमा संलग्न चिकित्सकलगायत अन्य सरोकारवाला व्यक्तिसँग त्यसबारे जानकारी लिइएको थियो ।

शंकाको सुई फेरि दिलिपतिरै !

१५ महिना लामो अनुसन्धानपछि प्रहरी अनुसन्धानको सुई गत भदौ ४ गते मुख्य अभियुक्तको रुपमा सार्वजनिक गरिएका दिलिप विष्टतिरै सोझिएको स्रोतको दाबी छ । यसअघि दिलिपको डीएनए म्याच नभएपछि अदालतले छाड्न आदेश दिएको थियो ।
तर प्रहरीले उनीमाथिको निगरानी जारी राखेको जनाएको थियो ।

एक प्रहरी अधिकारी भन्छन्,‘‘उनका हरेक व्यवहार, केही स्थानीयसँग उनले निर्मला हत्यामा आफैँ संलग्न रहेको बताएको र त्यसमाथि डीएनए संकलनमै त्रुटि भएको विज्ञ समूहको प्रतिवेदनपछि उनीमाथि मुद्दा चलाउने आधार बलियो बनेको छ ।’’

तर सरकारकै समितिले दिलिपलाई नक्कली अभियुक्त बनाइएको भन्दै प्रतिवेदन बुझाएकाले अनुसन्धान प्रक्रिया सहज भने नभएको स्रोतकै दाबी छ ।

दिपिलले निर्मलाको बलात्कारपछि आफैँले हत्या गरेको भन्दै दिएको भिडियो बयानसमेत प्रहरी र अन्य स्रोतबाट पनि सार्वजनिक भइसकेको छ ।

प्रहरीले दिलिपको त्यो भिडियोलाई पनि अनुसन्धानको आधार बनाएको छ । यसबारे प्रहरीले कानुनी परामर्शसमेत गरेको छ । यसअघि अदालतले प्रमाण नपुगेको भन्दै दिलिपलाई छाड्न आदेश दिएकाले थप नयाँ प्रमाण प्रहरीले जुटाइरहेको स्रोतले जानकारी दियो ।

एक उच्च अधिकारीले भने,‘‘जिल्ला सरकारी वकिलको रायअनुसार अगाडि बढेका छौं । यसअघि अनुसन्धानमा भएका कमजोरीबाट पाठ सिकेर अगाडि बढेका छौं । यसपटक प्रर्याप्त प्रमाण पनि संकलन गरेका छौं ।’’

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार