काठमाडौं । सरकारले १३औं दक्षिण एसियाली खेलकुद (साग)का पदक विजेता खेलाडीहरुलाई नगद पुरस्कारको घोषणा गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा पदक विजेता खेलाडीहरुलाई सम्बोधन गर्दै स्वर्णपदक विजेतालाई जनही ९ लाख, रजतपदक विजेतालाई जनही ६ लाख तथा कास्यपदक विजेतालाई जनही ३ लाख रुपैयाँ दिने घोषणा गरेका हुन् ।
प्रधानमन्त्री ओलीले पदक विजेता खेलाडी, प्रशिक्षक, व्यवस्थापक र खेल संघका पदाधिकारीहरुलाई बधाइसमेत दिएका छन् ।
‘एउटाभन्दा बढी स्वर्णपदक ल्याउने खेलाडीले ११ लाखका दरले प्राप्त गर्नेछन्’–प्रधानमन्त्री ओलीले भने ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले दुई वा सोभन्दा बढी स्वर्णपदक जित्ने खेलाडीहरुको हकमा प्रतिस्वर्ण ११ लाख रुपैयाँका दरले दिइने स्पस्ट पारे ।
त्यसैगरी, दुई वा दुईभन्दा बढी रजत वा कास्यपदक विजेताले भने सोहीअनुसार गुणा गर्दै पाउनेछन् ।
गौरिकालाई ६५ लाख
१३औं सागमा ‘जलपरी’ गौरिका सिंहले ४ स्वर्ण, २ रजत र ३ कास्यपदक प्राप्त गरेकी छन् । सोअनुसार गौरिकालाई सरकारले ६५ लाख रुपैयाँ दिनेछ ।
त्यस्तै, दुई स्वर्ण जितेका तेक्वान्दो खेलाडी आयशा शाक्य, कराते खेलाडी मण्डेकाजी श्रेष्ठ र गल्फर सुवास तामाङले जनही २२ लाख रुपैयाँ पाउनेछन् ।
पुरुष फुटबल टिमले एक करोड २४ लाख पाउने
टिम खेलका स्वर्णपदक विजेतालाई एकमुस्ट ९ लाख र जनही पाँच लाख रुपैयाँ दिइने बताइएको छ ।
जसअनुसार स्वर्ण जितेको पुरुष फुटबल टिमले एक करोड २४ लाख रुपैयाँ पाउने प्रेस सल्लाहकार थापाले जानकारी दिए । स्वर्ण विजेता प्रशिक्षकका हकमा पाँच लाख रुपैयाँ दिने घोषणा गरिएको छ ।
यही मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं, पोखरा र जनकपुरमा आयोजित १३औं सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कास्य गरी २०६ पदक जितेको छ ।