काठमाडौं ।
चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको पार्थिव शरीर श्रद्धान्जलीका लागि चलचित्र विकास बोर्डमा राखिने भएको छ । आज दिउँसो साढे १२ देखि साढे १ बजेसम्म अन्तिम श्रद्धान्जलीका लागि चावहिलस्थित बोर्डको प्राङ्गणमा राखिने बोर्डले जनाएको छ ।
दुई बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने वोर्डले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । ५८ वर्षको उमेरमा भट्टराईको हिजो रातिसवा १० बजे ह्रदयघातका कारण मृत्यु भएको थियो ।
भट्टराई उच्च रक्तचाप र सुगरका बिरामी थिए ।
निर्देशक तथा कलाकारसमेत रहेका भट्टराई बोर्डका बहालवाला अध्यक्ष हुन् । दुईवर्षे कार्यकालका लागि सरकारले गत चैतमा भट्टराईलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो ।
यसैबीच, नेपाल चलचित्र प्राविधिक संघले आज अध्यक्ष भट्टराईको निधनले नेपाली चलचित्र उद्योगमा अपुरणीय क्षति पुगेको भन्दै उनको सम्झनामा आज चलचित्र सम्बन्धी छायांकन, सम्पादन नगर्न तथा नगराउन सम्पूर्ण चलचित्रकर्मीहरुसँग आग्रह गरेको छ ।
दर्जनौं चलचित्र र टेलिसिरियलमा अभिनय गरेका भट्टराईले ‘दौतरी’, ‘ठूल्लाई’, ‘आफ्नो मान्छे’, ‘देवर बाबु’, ‘छोडी गए पाप लाग्ला’, ‘कर्मयोद्दा’, ‘सो सिम्पल’, ‘यात्रा’ लगायत चलचित्र निर्माण गरेका थिए । नयाँ चलचित्र निर्माणको तयाारीमा थिए ।
भट्टराईको एक छोरा र श्रीमती छन् ।