-नारायण गाउँले
साझा पार्टीको गठनले देशलाई हैन भ्रष्टलाई घाटा भएको छ। एउटा कुरा के याद गर्नुस् भने रवीन्द्र मिश्रको धरौटी जफत भएको होइन! उनले गत संसदीय निर्वाचनमा काठमाडौंको मुटुमा तत्कालीन एमाले र माओवादी दुवैका संयुक्त उम्मेदवारभन्दा झन्डै दोब्बर वढी मत ल्याएका थिए। उनले दश हजार मत ल्याउँदा नेकपा उम्मेदवारको मत जम्मा पाँच हजार थियो। जम्मा आठ सय मतले मिश्र कांग्रेसका हेभिवेट उम्मेद्वार प्रकाशमान सिंहसँग पराजित भएका थिए।
आज त्यही चुनावबाट पराजित व्यक्ति उपराष्ट्रपति छन्, पराजित व्यक्ति जितेको पार्टीका प्रवक्ता छन् र अर्का पराजित व्यक्ति उपाध्यक्ष हुँदै प्रधानमन्त्री बन्नेसम्मको योजना खुलेआम सुनाउँदै छन्। कांग्रेसमा त मुख्य जसो सबै अनुहार पराजितहरूकै छ।
साझा पार्टीसँग तीसौँ वर्ष लामो साङ्गठनिक अनुभव छैन। गाउँगाउँका ठेक्कापट्टादेखि सार्वजनिक जग्गा हत्याएर बनेको बलियो सङ्गठन र ब्रान्डिङ छैन। लाउडादेखि धमिजा हुँदै वाइडबड़ी सम्मबाट वर्षौंसम्म पार्टी र मान्छे चलाउन पुग्ने अकूत सम्पत्ति पनि साझा या मिश्रसँग छैन।
बीसौँ वर्षसम्म कमिसनको दुहुनो गाई बनाएर पालिएको मेलम्ची पनि मिश्रसँग छैन। महाकाली सन्धि होस् या बूढी गण्डकी, पैसाको लोभमा राष्ट्रियता साटेर कमाएको पैसा साझासित छैन। बालुवाटार नै बेचेर कमाएको पैसा पनि मिश्रसँग हुने कुरो भएन। लाखौं नागरिकता बाँडेर कमाएको पैसा पनि उनीसँग नहोला। गोकर्ण फरेस्ट रिसोर्ट कौडीको भाउमा कसैलाई दिएर टेबलमुनिबाट आउने अरबौं कमिसन पनि साझासँग छैन।
राजदूतदेखि आयुक्तसम्म बेचेर कमाएको पैसा पनि हुने कुरो भएन। हाकाहाकी अवैध चन्दा असुलीदेखि ब्याङ्क लुट्ने काम पनि साझाले गरेको छैन। यो सबै हाम्रो नाङ्गो आँखाले सजिलै देख्न सक्छ तर हामीलाई देख्ने छुट छैन। हामी सबैले देखेका छौं, कुनै उद्यम र आम्दानीबिनै प्रायः सबै नेता हामीभन्दा समृद्ध र विलासी जीवन जिउँदै आएका छन्।
हामी सर्वश्व पार्टीलाई बुझाएको नेताले कसरी अमेरिकामा उपचार गराउन सक्छ भन्ने सोध्न सक्दैनौ तर मिश्रले परोपकारको नाममा सङ्कलन गरेको करोडौँ पैसा खोई भन्न भने सजिलो छ। उनले मिहिनेतपूर्वक स्थापना गरेको हेल्प नेपाल नेटवर्क उनले छाडेपनि उत्तिकै क्रियाशील छ र मिश्रले उठाउन मद्दत गरेको रकम अक्षयकोषका लागि भएकाले त्यो संस्थासँग अझै पनि सुरक्षित छ।
विपि कोइराला र कृष्णप्रसाद भट्टराईले रोपेको कांग्रेसको बिउ उम्रेर सत्तासम्म आउन दश वर्षभन्दा वढी लाग्यो । कमरेड पुष्पलालले बनाएको पार्टी सत्तामा आउन तीसौँ वर्ष लाग्यो। कामरेड प्रचण्डले बनाएको पार्टीले सत्तामा आउन कति ठूलो रगतको खोलो बगाउनुपर्यो भन्ने हामीले देखेकै छौं। पाकिस्तानमा इमरान खानले सुधारको राजनीति गर्छु भनेर झन्डै तीस वर्ष सङ्घर्ष गर्नुपर्यो। हुन सक्छ साझालाई पनि तीस वर्ष लागोस्, चालीस वर्ष लागोस् या हुन सक्छ, यो कहिल्यै सफल नहोस् या केही वर्षमा हराएर जाओस्। भारतमा कांग्रेस र कम्युनिस्टको बीचबाट भारतीय जनता पार्टी उदाउन असम्भवजस्तै थियो।
मिश्र देवता होइनन्, नेपाली राजनीतिका समग्र समस्याका एकमात्र उत्तर पनि होइनन्। उनी सफल हुनेबित्तिकै देश सफल हुने या बनिहाल्छ भन्ने पनि होइन। उनको पार्टी सत्तासम्म पुग्ने गरी ठूलो बनेको दिन त्यहाँभित्र पनि फेरि तिनै अनुहार देखिन सक्छन् जुन आजभोलि मूलधारका पार्टीमा बसेर रस चुसिरहेछन् । तर एउटा अभियान त हुन् नै। अहिले नै जनता उनीबाट कन्भिन्स्ड़ बन्न नसकेको सत्य हो।
तर, आजै रवीन्द्र मिश्र या साझा पार्टीलाई असफल भएको घोषणा गर्न मिल्दैन । उनको अभियानले देशविदेशका धेरै युवाहरूलाई एक ठाउँ जोडेको छ। परिवर्तनका निम्ति प्रेरित गरेको छ र मूलधारका पार्टीभित्र रहेका युवाहरूलाई अप्रत्यक्ष ऊर्जा थपेको छ। कांग्रेस या नेकपा भएर देशलाई कति नाफाघाटा भएको छ भन्ने फेरि सोच्दै गरौँला तर साझा पार्टी भएर देशलाई कुनै घाटा भएको छैन। आफ्नो व्यावसायिक जीवनमा पूर्ण योगदान र सफलता दुबै हासिल गरिसकेर राजनीतिमा आएका व्यक्तिलाई एउटा चुनावमै असफल भन्न कसरी मिल्छ ? अझ दुई ठाउँबाट हारेर पनि प्रधानमन्त्री बन्दा ताली बजाउने हामीले त झनै मिल्दैन।
हतियार बोकेर, धम्क्याएर, मारेर, अपहरण गरेर, आर्थिक प्रलोभनमा पारेर त पार्टी स्थापित हुन बर्सौँ लाग्छ भने शान्तिपूर्ण रूपमा जनतालाई कन्भिन्स गर्न अझ लामो समय लाग्न सक्छ । हुँदै नहुन पनि सक्छ। तर कोसिस गर्नेहरूको खिल्ली उडाउनु अघि हामीले झण्डा बोकेको अनुहार कस्तो छ भन्ने पनि विचार पुर्याऔँ। एउटा निर्वाचन क्षेत्रमा लगभग हजार जना त रहेछन् नि भोट दिने ! के ती हजार जनाकै खिल्ली उडाउने ? चालीस लाख युवा देशबाहिर छन्। तीमध्ये भोट हाल्न नपाउनेहरू पनि होलान् अलिकति।
खासमा असफल ती हुन् जसले तीस वर्षदेखि देशलाई स्वार्थ र भागबण्डाको मैदान बनाएका छन्। अलिकति बनेको पनि भत्काएका छन् र त्यसैलाई क्रान्तिको रूपमा अर्थ्याएका छन् फेरि आफैले भत्काएकोलाई अलिकति बनाएजस्तो गर्छन् र भन्छन्, हामीले दुनियाँ नै अचम्म हुने गरी विकास गर्यौ। मिश्रहरूलाई तराजूमा जोख्ने गरी न तिनको तौल र उचाइ बढ़ेको छ, न तिनले खिल्ली उडाउनुपर्ने गरी केही गलत गरेका छन् । भनिन्छ, प्रयास गर्नेहरू असफल होइनन्।