डडेल्धुरा : डडेल्धुरामा बस र मोटरसाइकल आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा अमरगढी नगरपालिका ११ सल्लाघारीका २० वर्षीय भरत बोहरा रहेका छन्।
मंगलबार दिउँसो १ बजेतिर अमरगढी नगरपालिका १ लिसा कम्पनीनजिकै बस र मोटरसाइकल ठोक्किँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। महेन्द्रनगरबाट बझाङ आउँदै गरेको ना ७ ख ६५२२ नम्बरको बस र जिल्ला सदरमुकाम बागबजारदेखि सकायलतर्फ गइरहेको से ४ प ५८८० नम्बरको मोटरसाइकल एकआपसमा ठोकिएका हुन्।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेका अनुसार बस र मोटरसाइकल ठोक्किँदा घाइते गम्भीर भएका बोहरालाई डडेल्धुरा अस्पताल पु-याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए। दुर्घटनामा गन्यापधुरा गाउँपालिका ३ सेल्तडाका मोटरसाइकल चालक १९ वर्षीय महेन्द्र ठगुन्ना गम्भीर घाइते भएका छन्।
घाइते भएका उनको डडेल्धुरामा उपचार सम्भव नभएपछि धनगढी रेफर गरिएको छ। बस र बसचालक वीरेन्द्रबहादुर बुढालाई प्रहरीले नियन्त्रणमा लिएको छ।