काठमाडौँ।
सरकारबाट बाहिरिएलगत्तै समाजवादी पार्टीले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससँग सदन र सडकमा मोर्चा बनाएर जाने प्रस्ताव गरेको छ।बिहीबार कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरी समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र सहअध्यक्ष राजेन्द्र श्रेष्ठले देशमा बढेको भ्रष्टाचार, अनियमितताका विषयमा एक भएर सदनमा प्रस्तुत हुन आग्रह गरेका हुन्।
बिहीबार साँझ साढे पाँच बजे अध्यक्ष यादवसहित डा. भट्टराई र सहअध्यक्ष श्रेष्ठ देउवा निवास बुढानिलकण्ठ पुगेका थिए। त्यहाँ झण्डै दुईघण्टा छलफल भएको यादव निकट स्रोतले जनाएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनका लागि विज्ञ समूह बनाउने प्रस्ताव मन्त्रिपरिषदमा पेश गर्न नदिएपछि सरकारबाट बाहिरिएको समाजवादीले सरकारविरुद्ध सदन र सडक आन्दोलन चर्काउने घोषणा गरेको थियो।
देउवा निवासमा भएको सो भेट सरकारविरुद्ध एक भएर जाने र दुई दलबीचको सहकार्यमा केन्द्रित रहेको समाजवादीका एक नेताले जानकारी दिए।
छलफलमा गोकर्ण र दरबारमार्गको जग्गा भाडा दिनेलगायत सरकारले गरेको विवादास्पद निर्णयका विरुद्धमा सदन र सडकमा मिलेर जान प्रस्ताव गरेको डा. भट्टराईलाई उधृृत गर्दै एक नेताले नेपालखबरलाई जानकारी दिए।
संविधान संशोधनका विषयमा कुरा नमिल्दा समाजवादी पार्टीका तर्फबाट सरकामा सहभागी उपप्रधान तथा कानुन न्याय तथा संसदीय मामिला मन्त्री उपेन्द्र यादव र शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले पुस ८ गते राजीनामा दिएका थिए।
सरकार छाडेको भोलिपल्टै समाजवादीले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको थियो। सरकारबाट बहिर्गमन गरेलगत्तै समाजवादीले सरकारविरुद्ध मिलेर जान कांग्रेसको साथ खोजेका हुन्। देउवा समक्ष समाजवादीका तर्फबाट यादव र भट्टराईले एकीकृत कार्यक्रम लिएर सदन र सडकमा मोर्चा बनाउन प्रस्ताव गरेको एक नेताले बताए। ती नेताका अनुसार यस विषयमा देउवाले सहमति जनाएका छन्, यद्यपी लिखित निर्णय भने भएको छैन। ती नेताले नेपालखबरसँग भने, ‘सरकारले गरेका विवादास्पद निर्णय र भ्रष्टाचारका विषयमा सदनमा प्रभावकारी भूमिका खेल्न र आवश्यक परे आन्दोलन चर्काउने विषयमा सहमति भएको छ ।’
यसैगरी छलफलमा आगामी माघ ९ गते हुने राष्ट्रियसभाको निर्वाचनमा मिलेर जाने विषयमा पनि छलफल गरिएको डा. भट्टराई निकट एक नेताले बताए ।
राष्ट्रियसभाको निर्वाचनमा प्रदेश दुईका लागि सत्तारुढ नेकपा र राजपाबीच चुनावी तालमेल गर्ने सहमति भएको छ ।