काठमाडौं।
१५ पुसलाई नयाँ वर्ष मान्ने गुरुङ समुदायले मृग वर्षको बिदाइ र मुसा वर्षलाई स्वागत गरेर आज तमुल्होसार मनाउँदैछन् ।‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । यसवर्ष पुस १४ गते राति १२ बजे मृग वर्षलाई बिदाइ गरी मुसा वर्षलाई स्वागत गरिने तमुल्होसार मूलआयोजक समितिले जनाएको छ ।
परापूर्वकालमा गुरुङ समुदायले वर्षलाई गन्न १२ जनावरको नामबाट वर्षको नामाकरण गरेका थिए । मुसापछि गाई, बाघ, बिरालो, सुगा, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र मृग गरी १२ जनावरका नामबाट वर्षको नामाकरण गरिएको हो ।
यसवर्ष तमुल्होसारका अवसरमा आइतबारदेखि तीन दिनसम्म गुरुङ समुदायको सांस्कृतिक परम्परामा आधारित लोकदोहोरी गीत प्रतियोगिता आयोजना गरिएको छ ।