जिल्ला प्रशासन कार्यालय काठमाडौंले गायिका आस्था राउतलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ।
सोमबार प्रहरी सम्पर्कमा आएकी राउतमाथि अनुसन्धानका लागि सात दिन थुनामा राख्ने अनुमति माग्दै गएको प्रहरीलाई प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले चार दिन थुन्न आदेश दिएका हुन्।
प्रहरीले सरकारी वकिलमार्फत राउतलाई थुनामा राखेर अनुसन्धान गर्न सात दिनको अनुमति मागेको थियो। सरकारी वकिलले पाँच दिन थुनामा राख्ने अनुमति मागेकोमा आफूले चार दिनको समय दिएको प्रमुख जिल्ला अधिकारी दाहालले बताएका छन् ।
‘सरकारी वकिलले पाँच दिनको समय मागेको थियो, अपराधको कसुर र अनुसन्धानको अवस्था हेरेर मैले चार दिनको समय दिएको हुँ,’ दाहालले भने। राउतमाथि अभद्र व्यवहार अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको छ।
माघ १ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी जवान रमिता श्रेष्ठमाथि दुर्व्यवहार गरेको आरोप राउतमाथि छ। श्रेष्ठले जाहेरी दिएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले माघ ५ गते राउतविरूद्ध पक्राउ पूर्जी जारी गरेको थियो।
आफूमाथि दुर्व्यवहार गरेको भन्दै विमानस्थलमा कार्यरत महिला प्रहरीले जाहेरी दिएपछि राउतविरूद्ध पक्राउ पूर्जी जारी भएको थियो।
राउत आइतबार आफैं अभिभावकसँग महानगरीय प्रहरी परिसर पुगेकी थिइन्। उनको स्वाथ्य परीक्षण गरी प्रहरीले म्याद थपका लागि जिल्ला प्रशासन कार्यालय लगेको थियो।