भिम जोशी /लेकुडा, डडेल्धुरा
ढेर छन अभिशाप आलेखहरुका
जहाँ हरेक रात अध्यारोंलाई चुमेर मात्र
बिहान बनाउन सक्छ
जसरि जीवन चुमेर
मृत्युले सासको चिहान बनाउछ ।
रगतका केहि बुंदहरु छटपटाई रहेकाछन
पैतलाका निसान खोज्दै
गन्तब्यका ब्याकुल
प्रतिमाहरु छाती पिटी
जलन मेटी रहेकाछन ।
मन,बचन, करम ,जीवन र जहाँन
जसले शूली चढाएको छ मलाई
अनि मेरा सपनाहरुलाई
ओखती बनाएर
पिलाउँदै थकित छ यथार्थ ।
लप्किएको छ विश्वासको आधार
डग्मगाएको छ स्वाभिमानको सार
थर-थर कापी रहेको छु डरले म
टुक्रामा सिमित छु सम्पूर्ण हुनै नसकेर ।
जाउ त कहाँ जाउ भागेर
श्रापित ईतिहास बोकेर
कुन परिचयको मुखौटा लगाउ
कुन परिचय छोडेर ।
भाग्नुको पनि सिमा हुन्छ
कती भागुम यो कमजोर
सिसाको भाग्यको सहाराले ।
दुनियाले हातमा ढुङ्गा लिएको छ
आफुलाई जोगाउनकै लागी
सयौ कोश टाढा भाग्नुको पिडा
खै कसरी भुन्न सक्छु म ।
जती भागे पनि यो दुनिया हो
जसको नियतमा कहिल्यै
शंका गर्न मिल्दैन
जानी – जानी पिठ्यूँ पछाडी
बदनाम गर्ने
मासुम बनी अगाडी सलाम गर्ने
रीति पुरानो जो हो।
जिबित हुनुको मजबुत
आधार केहि छैन
छ त केवल आभाष
जसको जरुर कसैलाई खाँचो छैन ।
आत्म-बोधका अपुरा आलेख छन
जो अभिषापित छन
भावनाका अस्विकृत आलेख छन
जो असिमित छन ।
घ्रसदै भएनी
जिउने चाह छ
जो स्विकारको पुकार
माग गरीरहेको छ
म जस्ता धेरै छन
सायद ।