– प्रदीपराज वन्त
सुनिल अछामी १४ वर्षको मात्रै भए । उनि कक्षा पाँचमा पढ्दा पढ्दै पैसा कमाउने लोभमा परे । बाबा आमा पनि काठमाडौँको खाल्डोमा हान्निए । रामेछापबाट काठमाडौँ छिरेका अछामी ललितपुरको गोदावरी नगरपालिका– १३ झरुवाराशीमा रहेको बज्र इँटा भट्टामा खच्चड धपाउने काम गर्छन् ।
‘धुलोमा खेलेर हामीले धेरैका घर बनायौँ, धेरैका सपना साकार बनाइदियौं, साहुहरुलाई थप धनी बनाइदियौँ, तर हामीलाई विपद्को समयमा हेरिदिने कोही भएनन् ।”
कोरोना भाइरसको महामारीका कारण संसार नै त्राहीमान छ । नेपाल पनि त्यसबाट अछुतो छैन । तर अछामीलाई त्यसले कुनै फरक पारेको छैन । बिहान घाम उदाउँदा बिउझने उनका आँखा दिनभर खच्चड धपाउँदैमा बित्छ ।
मासिक रु सात हजार कमाउँथे अछामीले । पछिल्लो समयमा कोरोना भाइरसको प्रकोपका कारण भट्टामा काम खासै चलेको छैन । तैपनि उनको काम नियमित जस्तै छ । पढ्न छाडेर किन यहाँ आएको त बाबु ? हाम्रो प्रश्नको उत्तर दिन खोजेनन्, उनले । मात्रै फिस्स हाँसे । उनले धपाउँदै गरेको खच्चड पनि हाम्रो कुरा सुने जस्तै गरेर उभिरह्यो ।
केही समय लगाएर उनले भने, “हाम्रो कुनै माग छैन, घर जान पाए हुन्थ्यो, घर पठाइदिन सक्नुहुन्छ त सर ? चुल्हो बाल्नलाई चामल छैन, साहुजीहरु हाम्रो मेहनतबाट धेरै पैसा कमाउँछन्, विपद्को समयमा हेरेनन्, अब यहाँ बस्नै मन छैन, कोरोनाको डरभन्दा पनि भोकको डर ठूलो भइसक्यो |”
पसिनाले लपक्कै भिजेको निधार पुछ्दै उनले भने, ‘धुलोमा खेलेर हामीले धेरैका घर बनायौँ, धेरैका सपना साकार बनाइदियौं, साहुहरुलाई थप धनी बनाइदियौँ, तर हामीलाई विपद्को समयमा हेरिदिने कोही भएनन् ।”
( फोटो पत्रकार प्रदीपराज वन्त रासस’मा आबद्ध छन्। )