म हिड्दा हिड्दै ढलेन ,भने भोक प्यासले गलेन भने, आमा म आउदैछु ( भिडियो )

-दीर्घराज उपाध्याय

आमाको मृत्युमा आँशुसम्म बगाउन नपाएको
त्यो अभागी छोराका लागि
महाकालीको झोलुंगे पुलको भोटे ताल्चा नखोल्ने
निर्दयी शासकको मैले भरोसा गरिरहन सकिन
र आमा मैले मध्यरातमा शासकहरुको यो
शहर छोडेको छु
म हिड्दा हिड्दै ढलेन भने
भोक प्यासले गलेन भने
आमा म आउदैछु ।

माथिको आदेशमा
गौडा गौडा कुरेर बसेका प्रहरी दाईको मन पग्लिएपछि
गोडा चलाउन पाएका छौ
खिईएर चप्पलले साथ छोडी सक्यो
अव हिड्नलाई यी एक जोर पाईतला बाँकी छन्
यी पाईतला खिईएनन भने
म एकदिन अवश्य पुग्नेछु
आमा म आउदैछु ।

न्याय नपाए गोरखा जानु भन्थे
त्यही गोरखामा भोकभोकै मर्नु पर्ने भएपछि
मैले न्यायको आस गरिरहन सकिन
र मैले गोरखा र उसको न्याय
मध्यरातमा त्यही छोडेर
साथीहरुसंगै
मेरो प्यारो सुदूरपश्चिमलाई गन्तव्य बनाएको छु
आमा म आउदैछु ।

सरकारले सबै कुरा स्टक छ भनेर फलाकिरहेको रेडियो सुनेर
फुटाउन मन लाग्छ
जिन्दगी भर नसकिने दुःख बाहेक
केही स्टक भएन
छन् त जिन्दगीभर नसकिने दुःखका चाङहरु
शासकका वरीपरी रहेका केही भारदारहरुले महशुस
गर्न पाएको
त्यो सुखी नेपाली समृद्ध नेपालको सपनाले
गिज्याउछ, बिजोर चप्पलमा सुदूर बाटो हिडेको
यो भुई मान्छेलाई
यो बाटो र दुःख उस्तै छ
कहिले नसकिने
कहिले नटुंगिने
दुःखको पहाड
अझै अग्लो अग्लो
झन अग्लो हुदै गएको छ
आकाश छुने गरी
भोक त समुन्द्र झै फैलिएको छ
आँखाले नदेखिने गरी
सरकारले न त भोक देख्यो
न त यी असंख्य पीडाहरु
संवेदनाहीन यो सरकार र उसको सिंह दरवारलाई
मध्यरातमा यही छाडेर
आमा म आउदैछु ।

जहानलाई बुलाकी
आमालाई एकसरो धोती
र सन्तानलाई केही नाना
जोहो गर्न यसैगरी मध्यरातमा
त्यो प्यारो आगन छोडेको थिए
त्यतिबेला केही थान सपनासंगै छोडेको थिए
त्यो प्यारो घर
यस पटक त साथमा केही छैनन
त्यो सपना यो शहरले निलिदिए पछि
यो शरीरबाहेक केही बाँकी छैन,साथमा
त्रिशुलीसंगै बगेका छन्
सपनाहरु
खुशीहरु
आकांक्षाहरु
र, सरकार प्रतिका भरोसाहरु
सिंह दरबार र त्यो भित्र बस्नेहरु
उस्तै उस्तै भएका छन्
जो बोल्दैनन
बस ठिंग उभिएर रमिता हेरिरहन्छन
यी खिईएका पाईताला
र कंक्रिट छिचोल्दा छिचोल्दा
उठेका फोका
र ती फोका फुट्दा
त्योसंगै बग्ने रगत
र ती रगतले बनाएको बाटो
पछाडिको साथी त्यही रगत पछ्याएर
पछि पछि कैलाली पुग्दैछ ।
थाह छैन संगै शहर छोडेको साथी जनकपुर पुगेकी पुगेन
बर्दिया हिडेको साथीको कुनै सन्देश छैन
आमा म आउदैछु ।

आमा यो शहरमा बादर पनि भोकै भए
हामी पनि भोकै भयौ
बादर र हाम्रो जीवनको मूल्य
उस्तै उस्तै भयो
न प्यास कसैले सोध्यो
न भोक कसैले सुन्यो
सोलुबाट हिडेर चार दिनमा यो शहर पसे
अतिथिदेवो हराएको यो शहरमा बास नमिलेपछि
आर्यघाटमा जलाउन राखिएका ती शवहरुसंगै
रात छटपटीमै बित्यो
फर्केर फेरि पस्न नपरोस यो शहरमा
ढुंगा फर्काएर आएको छु
आमा म आउदैछु ।

नागढुंगा परको नेपाल यिनले देखेका भए
यिनलाई दुख्थ्यो होला, दार्चुलाको घाउ
अहिले दार्चुला नदुखेको यिनलाई
चुनावमा वर्षौदेखि मिचिएको कालापानी
याद आउनेछ, बेस्सरी
हो, यिनलाई कालापानी दुख्ने छ, चुनावमा
यिनको राष्ट्रवाद चुनावमा उर्लिने छ,
साउनको महाकालीको भेल झै
ओम्नीको चास्नीमा डुबेका
यतिलाई सवस्र्व सुम्पेकाहरु
कात्रोमा पनि कमिसन खान खोज्नेहरुबाट
मैले यो ज्यानको रक्षा होला भन्ने ठानिन
हो, आमा त्यसैले मध्यरात मैले
यो बिरानो शहर छोडेको छु,
आमा म आउदैछु ।

सोफेस्टिेकेटेड आलिशान महलमा अत्तर छर्केर बसिरहने
शासकका नजरमा
उत्ताउलो भएछ, आमाको मृत्युमा आँशु बगाउनु
आमाको मृत्युमा मुखाग्नी दिन नपाउदाको पीडा
कहाँ बिसाउनु ?
बिखण्डनका नारा उराल्नेलाई
रातो कार्पेटमा स्वागत गर्ने शासकहरुले
टिष्टा, नालापानी र सतलजमा रगत बगाउने पुर्खाको
सन्तानलाई सीमा पारी रोकेर बहादुरी देखाएको छ ।
आमाको मृत्युमा रुन नपाएर छटपटिएको
त्यो काली पारीको दाई
उत्ताउलो भएछ, शासकका नजरमा
महाकाली सुसाउन छोडेको बेला
ती आँखाबाट बगेका आँशुले
नछुने शासकहरुको भर कसरी पर्नु
बेखर्ची छु, खल्तीमा सुको छैन
भोकलाई पटुकाले बाँधेर चुप लगाएको छु
ओत लाग्ने छानो नभएको भुई मान्छे म
यो आकाश ओढेर सुत्न मिल्ने भए
त्यसैलाई ओढेर सुतिदिन्थे
प्यास मेट्न रित्याएर त्रिशुली पिईदिन्थे
गोदामहरु खाद्यान्नले भरिएको यो शहरमा
भोकभोकै
अनिन्द्रामा बसिरहन सकिन
र मध्यरातमा यो शहर छोडेर
आमा म आउदैछु ।

मजदुरहरुका नाममा सत्तामा पुगेकाहरु
चौकीदारी गर्दा गर्दै शासक बनेकाहरु
फगत शासक मात्र बनेछन
बिर्सिएछन, मजदुरका व्यथा
बिर्सिएछन, चौकीदारका पीडा
खवरदार भित्र पस्यौ भने
तिमीसंगै सर्नेछ, संक्रमण
तिम्लाई आउन कसले भन्यो यो बेला ?
शासकले खटाएको सिपाहीले
काला पहाड नाघेर आएको काली पारी दाईलाई
सीमामा प्रश्न गयो– थाह छैन तिमीलाई लक डाउन छ भनेर ?
शासकको निर्देशनमा बोलेको सिपाहीलाई
मुखभरीको जवाफ दिने मन थियो, उनलाई
थाह थियो, लक डाउन
सीमा पारीबाट आफ्नो देश देख्दा
दिल्लीबाट १४ दिन हिडेर सीमामा टेक्दा
कम्ति खुशी भएको थिएन उनको मन
पीडाले होईन, खुशीले बगेको थियो, उनका आँखामा आँशु
भोक, प्यास अनि
त्यो लामो उराठ लाग्दो बाटोमा खाएको तातो हावा
तातो हावाले पोलेर बिरुप बनाएका अनुहारहरु
पट्पटी फुटेर रक्ताम्य भएका पैतालाहरु
देखिने र नदेखिने असंख्य पीडाहरु
सबै बिर्सिएको थियो उ
काली पारीबाट आफ्नो देश देख्दा

आमा काली पारी रहेको दाई
महाकालीको झोलुंगे पुलको
भोटे ताल्चा खोलेपछि पक्कै आउनेछ
शासकले म हिड्ने सडकमा
भोटे ताल्चा लगाएनन भने
आमा म आउदैछु ।

हिड्दा हिड्दै आजित भएपछि
कम्मरमा बाँधेको नाम्लोसंगै
पटक पटक हामफाल्न खोजे त्रिशुलीमा
अह मनले मानेन
मेरै बाटो हेरेर बसेकी जहान
र बुढी आमा
र बाबा भन्न बल्ल सिक्दै गरेको छोरोको मुहार
झल्झली सम्झिए
र, पछि हटे यी पाईला
बाटो लामो छ,
थाह छैन कति दिनमा पुग्छु
पर्खी बस्नु छोरो आउदैछ भनी
हो, आमा म आउदैछु ।

सिपाही दाईलाई भनिदिनु,
काली झै कर्णालीका ढोका नथुनी दिनु
बाटो हेरेर बसेकी छ, मेरी बुढी आमा
बिन्ति सिपाही दाई कर्णालीको ढोका नथुनी दिनु
यो निर्जन निकुञ्जको बाटो हुदै
म पुग्दैछु, साथीहरुसंगै चिसापानी
आमा म आउदैछु ।

हो आमा ,
मलाई माथिको निर्देशनमा बाटोमै
कसैले थुनेन छन् भने
म आउदैछु ।
आमा म आउदैछु ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार