– प्रियम्बदा पन्त
घाँटी हाम्रो हुन्छ
पुरुष पोते भिराउँछ !
हाम्रो औंला मा
पुरुष औंठी छिराउँछ !
सिउँदो हाम्रो हुन्छ
अधिकार पुरुष जताउँछ !
र हाम्रो पेट मा
आफ्नो हैकम बताउँछ !
बच्चा हामी दिन्छौं, ऊ लिन्छ र थर दिन्छ !
मरे पछि पनि हाम्रो स्वतन्त्रता छिन्छ !
पेट हाम्रो हो
पेट हामी बोक्छौं
यो पेट को बाऊ यो हो
त्यो चाहिँ हामी तोक्छौं !
हामीले तोक्छौं र बाउ बन्छ ऊ !
अनि नाक फुलाएर
आँफूलाई बाउ भन्छ ऊ !
कसलाई थाहा छैन र
प्रसूति का क्षण मा
जीवन-मृत्यु को दोसाँध मा हामी हुन्छौं
तर हात कमाउँछन् पुरुषहरू
बच्चा को नागरिकता मा
फगत हाम्रो नाम दिन ?