काठमाडौँ ।
नागार्जुनहिल्सस्थित ओशो तपोवनका संस्थापक स्वामी आनन्द अरुणले नेपाललाई ‘ध्यानको राजधानी’ बनाउन आह्वान गरेका छन् ।
आइतबार विश्व योग दिवसको अवसरमा नेपाल सरकारद्वारा आयोजित एक समारोहलाई सम्बोधन गर्दै स्वामी अरुणले कोरोना भाइरस संक्रमणबाट हुने रोग, कोभिड १९, का कारण मानिसहरुमा मानसिक स्वास्थ्य समस्या निकै बढेर जाने विश्व स्वास्थ्य संगठनले अनुमान गरेको बताए ।
नेपालमा पनि लकडाउन (बन्दाबन्दी) का बेला सैयौं नेपालीहरुले आत्महत्या गरेका खबर आएको बताउंदै स्वामी अरुणले शारीरिक र मानसिकरूपले स्वस्थ रहन योग र ध्यान आवश्यक रहेको बताए ।
“पहिले भनिन्थ्यो स्वस्थ शरीरमा स्वस्थ मन रहन्छ। अब वैज्ञानिकहरुले भन्न थालेका छन् मन स्वस्थ रहे मात्रै शरीर स्वस्थ रहन्छ,” उनले भने ।
स्वामी अरुणले बुद्ध जयन्तीलाई विश्व ध्यान दिवस घोषणा गर्ने प्रस्ताव संयुक्त राष्ट्र संघमा लिएर जान नेपाल सरकारलाई आग्रह गरे। तर त्यो भन्दा पहिले नेपालमै राष्ट्रिय ध्यान दिवस घोषणा गरौं, उनले भने।
स्वामी अरुणको सम्बोधनको भिडियो: