– एजेन्सी
भारतीय योगगुरु रामदेवको पतञ्जली आयुर्वेद लिमिटेडले बनाएको भनिएको ‘कोरोनाविरुद्धको औषधि’ काे प्रचारप्रसारमा रोक लगाइएको छ।
भारतको केन्द्र सरकारकाे आयुष मन्त्रालयले उक्त औषधिको वैज्ञानिक अध्ययनको दाबीको सत्यता र अरु विवरणबारे आफूलाई कुनै जानकारी नभएको भन्दै छानविन पूरा नहुन्जेलसम्मका लागि प्रचारप्रसार नगर्न भनेको हो।
रामदेवले मंगलबार पत्रकार सम्मेलन गरी ‘कोरोनिल ट्याब्लेट’ र ‘श्वासारी वटी’ नामक औषधि लन्चको घोषणा गरेका थिए।
बीबीसी हिन्दीका अनुसार उक्त कम्पनीले ती औषधिको प्रयोगबाट कोरोना भाइरसको उपचार हुने दाबी गरेको थियो। ती औषधिको क्लिनिकल कन्ट्रोल स्टडी र ट्रायल दुवै गरेको र शतप्रतिशत ठीक भएको कम्पनीको दाबी थियो।
आयुष मन्त्रालयले भने पतञ्जलीलाई औषधि बनाउन प्रयोग भएका वस्तु र कुन अस्पतालमा परीक्षण गरिएको हो ? भनेर सोधेको छ। आयुष मन्त्रालयले उत्तराखण्ड राज्य सरकारको लाइसेन्सिङ प्राधिकरणसँग औषधिको लाइसेन्सको कपी र उत्पादन अनुमतिकाे पनि कागजात मागेको छ ।
यस प्रकारको विज्ञापन ड्रग एन्ड म्याजिक रिमेडीज (आपत्तिजनक विज्ञापन) कानुन १९५४ अन्तर्गत पर्छ। कोरोना महामारीलाई लिएर भारतको केन्द्र सरकारले जारी गरेका अन्य निर्देशिकामा पनि यो बारेमा उल्लेख छ।
आयुर्वेदिक औषधिका विज्ञापनमा पनि यही नियम लागू हुन्छ।