ललित जोशी ,लेकुडा /डडेल्धुरा
कलम टेकेर सयर गर्दैछु
साहित्यिक शब्द यात्रामा
जीवनका उकाली ओरालीमा
यसर्थमा म पनि एक यात्री हुँ ।
मेरो मस्तिष्कबाट निस्कने
हरेक अक्षरलाई शब्द बनाएर
भावनात्मक डिको लगाउँदा
मेरो यात्रामा अनुच्छेद पूरा हुन्छ।
ह्रस्व दीर्घका साँघुरा गोरेटोमा
साहित्यको विशाल समुद्र पुग्न
हर शुद्धताको कदममा अडिएर
भाव लय र छन्द साथी बनाउनु छ।
मेरा खहरेझै बाटो बिराएका
शब्दहरू पुग्न चाहन्छन् त्यहाँ
जहाँ साहित्यको सुन्दर बगैंचा छ
साहित्यकारहरुको मधुमास छ।
हो यसैले म एउटा यात्री हुँ
मलाई पुरा यात्रा तय गर्नु छ
जीवनका यथार्थलाई चित्रण गर्दै
हकिकत काल्पनिक शब्द यात्रामा।