लिलाराज खतिवडा /नेपाल
प्यारानोइड स्किजोफ्रेनियासँग केही वर्ष धमाधम लडेपछि हार खाएर सन् २०१४ मा एउटा माउजरको तलाशमा म मुम्बई पुगेको थिएँ । आफ्नै टाउकोमा गोली ठोक्न मन थियो । कुनै अनकण्टार जङ्गलमा गएर आफैँलाई टप्काउने अन्तिम इच्छा थियो । तर जाँदाजाँदै बाटामा जातीस्मरण हुनपुग्यो । जातीस्मरणले मेरो बायोकेमिस्ट्री परिवर्तन गरिदियो । मुम्बईमा भाग लिइएका केही स्पिरिचुअल रिटृटले पनि रुपान्तरणमा सघायो । मुम्बईमा भेटेका कैयौँ साथीहरुसँग अनेक विचार आदानप्रदानले पनि हौसला बढायो । म मुम्बईमा नै छँदा अमेरिकाबाट पुराना पत्रकार लेखनाथ भण्डारीले म को हुँ पुस्तक छाप्नुपर्छ भनेर स्वदेश फर्किन एक किसिमले दवाव नै दिनुभएको थियो । सोही कारण म काठमाण्डौ फर्किएँ । पछि उहाँकै अल्टर्नेटिभ पब्लिकेशनले म को हुँ को पहिलो संस्करण प्रकाशित गरेर मलाई एक किशिमले निकै ठूलो हौसला प्रदान गर्यो । यसैताका साइक्याटृक डाक्टर प्रदिपमान श्रेष्ठले मलाई जोरपाटीस्थित नेपाल मेडिकल कलेजको ओपीडिमा भन्नुभयो, तपाईंले अब औषधि खानु पर्दैन । तपाईं आफ्नो सृजनामा लाग्नुहोस् । लेख्नुहोस् । चित्र बनाउनुहोस् । यो नै तपाईंको औषधि हो । म को हुँको पहिलो संस्करण निकाल्नु भन्दा केही अघि मैले एउटा फेसबुक खोलें र त्यसलाई आफ्नो साहित्य लेखनको खेस्रा गर्ने स्थल बनाएँ । हुन पनि फेसबुकले म जस्तो लामो लामो लेख्ने मान्छेलाई मनग्ये स्थान दिएको छ । मान्छेहरु माइक्रो ब्लगिङ तिर स्थापित भइसक्दा म भने अनेक झन्झट खेप्दै अझै पनि फेसबुककै भित्ताहरुमा पोस्टर टाँस्न उद्दत भेटिन्छु । किनभने यसमा जति लेखे पनि हुन्छ । यो म जस्ता आवारा लेखकलाई आफ्नो लेखनको अर्काइभ मेन्टेन गर्ने उत्तम स्थल पनि हो । भिजिबल वा इन्भिजबल दुबै मोडमा त्यहाँ काम गर्न सकिन्छ ।
म को हुँ लाई छोडेर अरु पाँच वटा पुस्तकहरु मैले फेसबुकमै खेस्रा गरेको हुँ । फेसबुकलाई मैले हमेशा आफ्नो एउटा जीवन -पत्रीका बनाउने चेष्टा गरें । जथाभावी लतपत गर्न रुचाइँन । त्यसैले मैले भरिसक्य लेखपढ रुचाउने साथीहरुलाई स्थान दिने प्रयास गरें । फेसबुकले सिमित साथीहरु बनाउन दिने हुँदा, गालीगलौज, फेकन्युज र प्रपोगाण्डाका फोहरा छुटाउने जो सुकै साथी भए तापनि अन्फ्रेन्ड वा ब्लक भन्ने अप्सनको प्रयोग पनि राम्रै गरियो । आफ्नो मिशन राइटिङ भएका कारण उल्टापाल्टा वा नकारात्मक सन्देश दिने कमेन्ट लेख्नेहरुलाई पनि छाँटकाँट वा काँटछाँट गर्ने अनुभव बटुलियो । आफ्नो साहित्य लेखनमा मैले कतै मुख छाडेको छैन भने, मेरो दुनियाँमा आएर मुख छाड्नेहरुलाई किन बाँकि राख्ने? मुख छाड्न त मलाई पनि आउँछ । मुख मैले पनि छाडेको छु । मेरो समाजले मुख छाड्छ । म चाहिँ कसरी अलग रहन सक्छु? तर साहित्यमा? साहित्यमा किन मुख छाड्नु? हाम्रो साहित्य दुनियाँ कै एक उत्कृष्ट साहित्य हो । यहाँ बक्सियोस्, हजुर जस्ता अति आदरार्थी सभ्यताहरु ज्युँदै छन् । मने, नेपालको वास्तविक भाषा अति नम्र र आदरार्थी छ । नेपाली भाषामा मुख छाड्दा त्यति राम्रो सुनिँदैन । हाम्रो भाषा अंग्रेजी वा हिन्दी जस्तो होइन ।
अर्को कुरा, मुख छाड्नेहरु नकारात्मक आकर्षण प्रवृत्तिका शिकार हुन्छन् । मतलव, मुख छाडेर वरिपरिका मान्छेहरुको ध्यान आफूतिर पार्न खोज्ने प्रबृत्ति । साहित्य उत्कृष्ट हुनु जरुरी छ । उत्कृष्ट साहित्य विज्ञान र राजनीतिको पनि पिता हो । सबै शाष्त्रहरुको जननी नै साहित्य हो । साहित्य भए मात्रै दर्शन, द्रष्टा, दृष्टि र द्विपको महत्त्व हुने गर्छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाले आफ्नो लेखनीमा गाली दिएनन् । नाट्यसम्राट बालकृष्ण समले कतै गाली दिएनन् । गुरुप्रसाद मैनाली र पुस्कर शमशेर राणाहरुले आफ्ना कालजयी कथाहरुमा कतै गाली दिएका छैनन् । पारिजात, भुपि शेरचन, रमेश बिकलहरुले कलमबाट गाली झिकेनन् । कलम सरस्वतीको आशिर्वाद हो । यसको नीबबाट गाली निस्कनु हुँदैन । अन्जानमा वा सिक्ने क्रममा केही गल्ती भए भने पनि अब गाली दिनु हुँदैन । हामी गाली दिने समाजमा नै जेलिएको हुँदा बोलीमा कहिलेकाहीँ ठाउँ, परिस्थिति अनुसार गाली निस्किन सक्छ । तर लेखाइमा गाली बिल्कूलै हुनुहुँदैन भन्ने मेरो मान्यता हो । भाषा म पनि लगातार सुधारिरहेको छु । किनभने, नेपाली भाषा अरुभन्दा अप्ठ्यारो छ । धेरै कुरा मिलाउनु पर्ने हुन्छ । सिक्ने काम कहिल्यै सकिँदैन र यो नै यसको मजा पनि हो । सारा स्किजोफ्रेनियाका मस्तिष्क-गाँठाहरुलाई मैले लेखेर पगालिदिएँ । लेख्नु एक महान काम रहेछ । यसले एकसाथ रेचन र क्याथर्सिस गराउँछ । यसले अरु पनि कैयौँ सुफलता प्रदान गर्दछ । लेखेर तमाम नकारात्मक वा सकारात्मक दुबै किशिमका अन्तर्मनका गाँठाहरु पगाल्न सकिन्छ । स्किजोफ्रेनिया विचारको क्यान्सर हो । तर अनवरत लेख्दा त्यस्ता समस्या त कता वाफ बनेर उडे, पत्तै हुन्न । जे रोग लाग्यो भनिन्छ, त्यसैका बारेमा पढ्ने, त्यसका बारेमा अत्याधिक जानकारी हासिल गर्ने । त्यसैका बारेमा लेख्ने पनि । यसो गर्नाले कुनै पनि रोगले गर्ने मानसिक असर कम हुन जान्छ । स्मरण रहोस्, धेरै रोगहरु त केवल नाम मात्रका हुने गर्दछन् ।
कतै सुनेको एउटा भनाइ यहाँ राख्न चाहन्छु – हरेक रोगका पछाडि एउटा डाक्टर लुकेको हुन्छ । मतलव, रोग लाग्नु ठूलो कुरा भएन । तर त्यसलाई चुनौती स्विकार गरेर आफूभित्रको डाक्टरलाई जन्मिने अवसर दिन सक्नुपर्छ । किनभने जुन रोग लागेको भए पनि त्यसको बारेमा अध्ययन गर्दा डाक्टरहरुको भन्दा दोब्बर ज्ञान हासिल हुनसक्छ । वोधको तहबाट रोगलाई अध्ययन गर्नु र बाहिरि अध्ययनको पनि सहारा लिनुले निस्चय नै केही फराकिलो परिधि उत्पन्न गर्दछ । स्किजोफ्रेनियाले आक्रान्त भएर हार खाएपछि माउजरको खोजीमा कुनै बिरानो शहरमा भट्किँदा आफूमा हठात टप्किएको एउटा रहस्यमय रुपान्तरणका कारण नै आज मैले यी पुस्तकहरु तयार गर्न सकेको हुँ । त्यसो त मेरा पुस्तकहरु पनि कुनै लोडेड माउजर भन्दा कम छैनन् ।
नोट. – म को हुँ बाहेक अन्य कभरहरु डेमो कभर हुन् ।
मेरो यस अनकण्टार साहित्य यात्रामा कैयौं शुभचिन्तकहरुको पनि साथ, सहयोग र सद्भाव छ । मैले एक्लै लेखेको देखिए पनि यी पुस्तकहरुको ब्याकग्राउण्डमा कैयौँ महानुभावहरुको उर्जा, स्नेह र परिश्रम पनि समेटिएको छ । थप सहयोग गर्न चाहनु हुन्छ भने पनि स्वागत छ । मेरो यस जागरण अभियानमा तपाईंको नैतिक वा कुनै पनि समर्थनले धेरैको कल्याण हुने कुरामा बिश्वस्त पनि छु । सबैको फेरि पनि जय होस्!