लिस्वन ।
तामाङ समाज पोर्चुगलले सिन्धुपाल्चोकका पहिरो पीडितलाई आर्थिक सहयोग पठाएको छ । समाजले पोर्चुगलमा बसोबास गर्ने नेपाली समुदायबाट रु. एक लाख त्रिपन्न हजार २६० सय साठी संकलन गरी पीडितसमक्ष पठाएको हो ।
जिल्लाको जुगल गाउँपालिका वडा नं २ लिदी मा गत श्रावण ३० गते अविरल बर्षाका कारण पहिरो गएको थियो । पहिरोमा परी हालसम्म १८ जनाको मृत्यु भइसकेको छ भने २१ जना अझै बेपत्ता छन् । ‘यस्तो प्राकृतिक विपद्का बेला पीडित परिवारलाई सहयोग पु¥याउने उद्धेश्यले रकम संकलन गरिएको होे ।’ समाजका अध्यक्ष मिङमार लामाले भने, ‘सानो रकम भएपनि पीडितलाई राहत पुग्ने हाम्रो विश्वास छ ।’
अध्यक्ष लामाका अनुसार संकलित रकम हेलम्बु गाउँपालिका वडा नं ५ का वडा सदस्य फुर्पा लामामार्फत जुगल गाउँपालिकाकी उपाध्यक्ष सृजना तामाङलाई हस्तान्तरण गरिएको छ । उनले अभियानमा साथ दिने सबै सहयोगी मनहरुलाई धन्यावाद ज्ञापन गरेका छन् । उनले प्रवासमा रहेपनि जन्मभूमिमा परेका समस्यालाई समाधान गर्नु सबैको दायित्व रहेको बताएका छन् ।