‘हाँडीगाउँको जात्रा’ कोरोना कारण स्थगित

काठमाडौं ।

प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाको भोलिपल्ट काठमाडौं महानगरपालिका–५ स्थित हाँडीगाउँ क्षेत्रमा प्रदर्शन गरिने चोक्काथुनारायणको जात्रा यस वर्ष स्थगन गरिएको छ ।

तीन नारायण एवं ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’समेत भनिने यो जात्रा यस वर्ष उपत्यकामा बढ्दै गएको कोरोनाभाइरसको संक्रमणका कारण स्थगन गरिएको काठमाडौं महानगरपालिका–५ का अध्यक्ष रमेश डंगोलले राससलाई जानकारी दिनुभयो ।

जात्रा नगरिएपनि वार्षिकरूपमा गरिने पूजा–आराधनाको विधि भने पुजारीलगायत सीमित गुठियारले सम्पन्न गरिने जनाइएको छ ।

चोकेटनारायणसमेत भनिने चोक्काथुनारायणको नाममा गुठी जग्गासमेत राखी जात्रा चलाउने व्यवस्था गरिएको थियो ।

गुठी संस्थानको लगतमा चोक्काथुनारायण एवं तीन नारायणका नाममा गुठी जग्गा राखिएको उल्लेख छ ।

मन्दिरको ढोकामा रहेको नेवारी भाषाको अभिलेखअनुसार राजा नरेन्द्र मल्लको पालादेखि यो जात्रा सुरु भएको हो ।

चोक्काथुनाराणको मन्दिर बूढानीलकन्ठबाट ल्याइ यहाँ स्थापना गरिएको ‘हाँडीगाउँ : एक परिक्रमा’ पुस्तकका लेखक एवं यस क्षेत्रको साँस्कृतिक परम्पराकाबारेमा अध्ययन गरिरहनुभएका यज्ञनाथ आचार्यले बताउनुभयो ।

जात्रा सुरु भएका सम्बन्धमा एउटा किंवदन्ती प्रचलित छ । जनश्रुतिअनुसार मध्यकालमा हाँडीगाउँमा दुई दिदी–बहिनी थिए । दिदी भगवान्प्रति पूर्णरूपमा आस्था राख्थिन् । बहिनी घमन्डी हुनुका साथ भगवान्प्रति पनि उनको आस्था थिएन ।

विवाहपछि दुवै दिदी–बहिनी गर्भवती भए । दिदीले समयमै बच्चा जन्माइन् । बहिनीको गर्भ रहेको १२ वर्षसम्म पनि बच्चा जन्मिएन । बहिनीले श्रीमान्सहित नारायणको आराधना गरिन् ।

सपनामा ‘बूढानीलकन्ठनजिकको पहाडमा रहेको नारायणको मूर्ति ल्याइ उल्टो छाताकारका तीन खटको जात्रा चलाउनू, तब तिमीहरुको उद्धार हुनेछ’ भन्ने आज्ञा भयो ।

गर्भ रहेको १२ वर्षसम्म बच्चा नजन्मिएको दम्पतीले त्यसबेलाका राजा नरेन्द्र मल्लसँग गुहार मागे । राजआज्ञाबमोजिम तान्त्रिकहरु धिमेबाजा बजाइ रंगीबिरंगी लुगा लगाएर बूढानीलकन्ठनजिकको पहाडमा गए ।

मैनको फूल चढाइ नारायणको आराधना गरे । चोक्काथुनारायण (तीन नारायण) जात्राको परम्परा चलाउने वचन दिए ।

नारायणलाई हाँडीगाउँ ल्याइ यहाँका जनतालाई पर्ने दुःख तथा पीडालाई अन्त गर्न भनी चोक्काथुनारायण मन्दिर स्थापना गरे । यसै बेलादेखि जात्राको पनि सुरुआत भयो ।

मन्दिर स्थापना भएपछि प्रसव वेदनाको समयमा नारायणको मूर्तिमा तेल लगाउँदा वा जात्राको समयमा प्रयोग हुने मैनको फूल सिरानीमा राख्नाले वेदना कम हुने गरेको स्थानीयबासीको अनुभव छ ।

नारायणको शिरमा तेल खन्याउँदा दायाँतर्फबाट तेल खसे छोरा र बायाँतर्फबाट तेल खसे छोरीको जन्म हुन्छ भन्ने धारणा अहिलेपनि रहेको साँस्कृतिक अन्वेषक आचार्यले सुनाउनुभयो ।

नारायणको जात्रा कमलासनको तीन खट (बाबु, आमा, छोरा) बनाइ खटको गजुरलाई उल्टो पारी घुसारेर तीन टोल घुमाइ गजुर घुसारेको स्थानमा पूजा गरिन्छ ।

देशका अन्य स्थानमा हुने जात्रा खटको गजुर उल्टो नपारी गरिने र यहाँको नारायण जात्रा भने उल्टो पारेर गरिने भएकाले कहीँ नभएको जात्रा भन्ने गरिएको हो ।

यो जात्रामा पाँचजनाले धिमेबाजा बजाउनुपर्ने र ३० जनाले खट बोक्नुपर्ने प्रचलन छ ।

जात्रा हेर्न हाँडीगाउँ क्षेत्रका सबै गुठियार जम्मा हुनुपर्ने नियम रहेकाले कोरोनाको महामारीका बेला संक्रमण फैलनसक्ने खतराले यस वर्षको जात्रा स्थगन गरिएको वडा कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार