पोर्चुगलमा कोरोनाका संक्रमित बढेको बढ्यै : कोरोना अस्पतालका बेडहरु ८४ प्रतिशत भरिए, आइसीयु ८१ प्रतिशत भरिभराउ !

गणेश पाण्डेय, पोर्चुगल ।

युरोपमा कोरोनाको दोश्रो लहरसंगै पोर्चुगलमा पनि संक्रमितहरुको संख्यामा निरन्तर वृद्धि भईरहेको छ। अक्टोबरको शुरुवातीसंगै दिनदिनै संक्रमित र मृतकको संख्यामा उच्च रेकर्डहरु बन्दै गएपछि पोर्चुगलमा कोरोनाका संक्रमितहरुको लागि स्थापना गरिनेका कोरोना अस्पतालहरु भरिभराउ हुन थालेका छन्।

स्वास्थ्य महानिर्देशनालयले दिएको जानकारी अनुसार देशभरका कोरोना अस्पतालका ८४ प्रतिशत बेडहरु बिरामीले भरिएका छन्। त्यस्तै जटिल प्रकृतिका बिरामीहरुलाई उपचार गर्न स्थापना गरिएका आइसीयु पनि ८१ प्रतिशत भरिभराउ भएका छन्।

पोर्चुगलमा कोरोनाको पहिलो लहरमा राजधानी लिस्बन बढी प्रभा वित भएको थियो। कोरोनाको दोश्रो लहरमा उत्तरीक्षेत्र बढी प्रभावित भएको छ। पोर्चुगलको उत्तरी क्षेत्रमा कोरोना अस्पतालका बेडहरु संक्रमित बिरामीले ८८ प्रतिशत भरिएका छन् भने आइसीयु ८९ प्रतिशत भरिएका छन्।

त्यस्तै लिस्बन क्षेत्रमा स्थापना गरिएका कोरोना अस्पतालको ८४ प्रतिशत बेडहरु बिरामीले भरिएका छन्। सोही क्षेत्रमा आइसीयुको ८२ प्रतिशतमा सिकिस्त बिरामीको उपचार भईरहेको छ।

अस्पतालहरु कोरोनाका बिरामीले भरिभराउ हुन थालेपछि सरकारले रेडक्रस र सैनिकको सहयोग लिन शुरु गरेको छ।

पोर्चुगलमा कोरोनाको पछिल्लो अवस्था :

पछिल्लो २४ घण्टामा ३७ जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन् भने ३ हजार ६२ जना संक्रमित भएका छन्।

हालसम्म १ लाख ४४ हजार ३४१ जना संक्रमित भएका छन् भने २ हजार ५४४ जनाले ज्यान गुमाएका छन्।

पोर्चुगलमा कोरोनाका सक्रिय बिरामीको संख्या बढेर ६० हजार २६ पुगेको छ। संक्रमितहरुमध्ये २ हजार १२२ जनाको देशका विभिन्न अस्पतालहरुमा उपचार भईरहेको छ। २८२ जना सिकिस्त बिरामीहरुको आइसीयुमा उपचार भईरहेको छ।

त्यस्तै हालसम्म ८१ हजार ७७१ जना उपचार पश्चात निको भईसकेको जानकारी स्वास्थ्य महानिर्देशनालयले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार