पोर्तोमा एउटै अपार्टमेन्टमा बस्ने १२ नेपालीलाई कोरोना संक्रमण , उनीहरुलाई अपार्टमेन्टबाट हटाईयो !

लिस्बन ।

पोर्तोमा एउटै अपार्टमेन्टमा बस्ने १२ जना नेपालीलाई कोरोना संक्रमण पुष्टि भएको छ। ‘टि थ्री ‘ अपार्टमेन्टमा बस्ने सबै १२ जनामा कोरोना संक्रमण पुष्टि भएपछि उक्त अपार्टमेन्टबाट उनीहरुलाई हटाईएको छ।

कोरोना संक्रमण भएका उनीहरु गोंदोमारको रियो तिन्तोमा एक सुशी रेस्टुरेन्टमा काम गर्छन। उनीहरुलाई सुरक्षित बासस्थान र उपचारको लागि उक्त अपार्टमेन्ट खाली गरेर सुरक्षित स्थानमा सारिएको गोंदोमारका मेयर मार्को मर्टिन्सले जानकारी दिएका छन्।

स्थानीय निकायमा उजुरी परेपछि रियो तिन्तोको उक्त टि थ्री अपार्टमेन्टमा अनुसन्धानका लागि पुगेको सरकारी टोलीले १२ जना नेपाली बस्ने भेटिएको र उनीहरुको कोरोना परिक्षण गर्दा सबैलाई पोजेटिभ भएको मेयर मार्टिन्सले लुसा समाचार एजेन्सीलाई जानकारी दिएका हुन्।

उक्त टि थ्री अपार्टमेन्टमा छापा मार्दा भेटिएका १२ जना नेपालीलाई पोर्चुगिज भाषा बोल्न नआउने र निकै डराएका अवस्थामा तर अनुसन्धानमा सहयोगी रहेको मेयरले बताएका छन्। उनीहरु बस्ने घर र अवस्था बस्न लायकको नरहेको र आवासको आधारभूत सुविधाहरु नरहेको मेयरले बताए।

उक्त अपार्टमेन्टमा छापा र खोजबिन गर्दा फायर फाइटर, नागरिक सुरक्षा अधिकारीहरु, महानगरीय प्रहरी, स्वास्थ्य अधिकारी, सामाजिक सुरक्षा अधिकारी, पीएसपी प्रहरी र सेफको समेत उपस्थितिमा सबै १२ जना नेपालीको उद्धार गरिएको थियो।

उक्त घटनापछि स्थानीय प्रशासन र प्रहरीले ति नेपालीहरु काम गर्ने सुशी रेस्टुरेन्ट सिल गरेको छ।

उद्धार गरिएका १२ जना नेपालीहरु सबै एउटै सुशी रेस्टुरेन्टमा काम गर्ने भएतापनि धेरैसँग कामको कन्ट्रयाक्ट समेत नभएको सेफले जनाएको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार